सावधान ! नक्कली नोट पर्ला है

सावधान ! नक्कली नोट पर्ला है

काठमाडौ : असोजमा सिरहाको नरहा–४ बाट ३१ हजार नक्कली नोटसहित भारत सीतामरहीका मोरेला उल्लाह पक्राउ परे। किराना पसलमा चुरोट किन्ने बहानामा हजारको नेपाली नोट दिएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गत मंसिरमा ६५ हजार ३ सय ३५ नक्कली नोटसहित प्रहरीले बूढानीलकण्ठ ११ कपनबाट ५ जना पक्राउ गरेको थियो। समरोज थापा मगरको कोठाबाट नक्कली पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टरसहित गोमा श्रेष्ठ, चिरन्जीवी ज्योति, पुष्पा थापा, समरोज थापा, सुजन ज्योति पक्राउ परेका थिए।

यसले अझै पनि बजारमा नक्कली नोटका कारोबार हुने गरेको देखाउँछ। तिहार नजिकिँदै छ। तपाईं किनमेल गर्ने सोचमा हुनुहुन्छ होला। प्रहरी परिसर काठमाडौंका प्रबक्ता दिनेसराज मैनाली भन्छन्, ‘किनमेलमा ध्यान दिनुहोस् है, नक्कली नोट भेटिन सक्छ।’ अन्य चाडपर्वभन्दा तिहार र छठमा किनमेल बढी हुने भएकाले जाली नोट कारोबारी सक्रिय हुने उनले बताए। कारोबारमा डिजिटल माध्यमको प्रयोग गर्दा बढी सुरक्षित हुने उनले सुनाए।

भीडभाड बढी हुने स्थान, कारोबार धेरै हुने पसल तथा चोक बजारमा यस्ता कारोबारी सक्रिय हुने गर्छन्। उनीहरूसँग भएको नक्कली नोट सर्वसाधारणको हातमा पुराई सक्क्ली नोट ठगी गर्ने नियतले कारोबारीले भीडभाड हुने स्थानलाई टार्गेट गरेका हुन्छन्। प्रवक्ता मैनालीका अनुसार कारोबारीले कहिले नक्कली नोट मात्रै बजार पठाउँछन्। कहिले आफैं बजार पसेका हुन्छन्। रकम लेनदेन गर्दा सर्तकता अपनाउनुपर्ने मैनालीले जानकारी दिए। ठूलाठूला पसल र मलभन्दा पनि सर्वसाधारणको भीडभाड हुने स्थानलाई मुख्य टार्गेट गर्छन्। भाँडाकुडा, लत्ताकपडा, फलफूल तथा गरगहनाको बिक्रीवितरण चाडपर्वमा धेरै हुनेगर्छ। यस्तो बेला होसियार हुन जरुरी छ।

नक्कली र सक्कली नोट छुट्याउन नसक्ने व्यक्ति झुक्किने सम्भावना हुन्छ। ‘यस्ता गिरोहबाट बच्नका लागी नागरिक सर्तक नै हुनुपर्छ,’ प्रबक्ता मैनाली भन्छन्। क्युआर स्क्यान गर्न सकिन्छ। फोन पे, इसेवा, अनलाइन बैंकिङ लगायतका माध्यम प्रयोग गर्न उपयुक्त हुन्छ।’

नक्कली नोट कसरी छुट्याउने ?

सामान्यतयाः नक्कली र सक्कली नोट छामेरै छुट्याउन सकिन्छ। हेर्दा पनि फरक हुन्छ। नेपाल राष्ट बैंकले नक्कली नोट छुट्याउनका लागि विभिन्न जानकारी प्रकाशित गरेको छ। राष्ट्र बैंकका अनुसार, सय, ५ सय र हजार दरका नोट धेरै मात्रामा नक्कली भेटिएका छन्। नोटमा भएको चिन्ह हेरेर पनि छुट्याउन सकिन्छ।

नेपाली सक्कली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँसको पानी छाप स्पष्ट देख्न सकिन्छ। नक्कली नोटमा पानी छाप अस्पष्ट र अलि कालो धब्बाजस्तो देखिन्छ।

नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिँदैन। फोटोकपी गर्दा बुझिँदैन तर नक्कली नोट फोटोकपी गर्दा उस्तै देखिन्छ। छोएर हेर्दा पनि नोटमा भएका बुट्टा महसुुस गर्न सकिन्छ। नक्कली नोटमा यस्तो हुदैन।

नेपाली नोट शतप्रतिशत कपासबाट भनेको कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ। यसका साथै अग्रपृष्ठ संयोजन र एनआरवी अक्षर हेरेर पनि नोट सक्कली र नक्कली छुट्याउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.