धोती, सारी, कुर्ता र गम्छा जोगाउने कि ?
सभ्यता, संस्कृति, समाज, रीतिरिवाज, परम्परा, रहनसहन, खानपान र भेषभूूषा आदि सबै समयअनुसार परिवर्तनशील हुन्छन्। तर, परिवर्तनको नाममा आफ्नो वास्तविक पहिचानलाई परिवर्तन गर्नु उचित होइन।
विश्वव्यापी रूपमा खानपिन, भेषभूषा आदि परिवर्तनको ट्रेन्डमा छ। त्यही ट्रेन्डअनुसार मानिस आफ्नो संस्कृति बिर्सने र अरूको संस्कृति अनुसरण गर्दै आएको देख्न सकिन्छ। अरूको संस्कृति अपनाउनु गलत होइन तर आफ्नो संस्कृति बिर्सनु महाभुल हो। विश्वसामु उजागर लायक आफ्नो पुरातन संस्कार, संस्कृति र धर्मलाई उजागर गर्नु हामी सबैको प्रथम कर्तव्य मानिन्छ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो। जहाँ मानिस परापूर्वकालदेखि विभिन्न धर्म, संस्कृति आदिको पालना गर्दै आएका छन्। यदि मिथिला÷मधेसको कुरा गर्ने हो भने अहिले मधेसका प्रायः मानिस आफ्नो संस्कृति बिर्सदै गएको भान हुन्छ। अहिलेको समयमा मधेसको घर–घरमा पश्चिमी संस्कृतिको प्रभाव देख्न सकिन्छ। समाजमा अश्लीलता पनि उच्च सीमामा पुगिरहेको पाइन्छ। जन्मदेखि मृत्युसम्मको कुनै पनि चाडपर्व वा उत्सव होस्, मानिस आफ्नो सांस्कृतिक वस्त्र या सांस्कृतिक गीतमा रमेको धेरै नै कम देख्न सकिन्छ।
हामी अहिले पनि त्यही समाजमा बाँचिरहेका छौं, जहाँ मानिस धोती, कुर्ता, गम्छालाई एक अनपढ र देहाती मानिसले धारण गर्ने वस्त्रको रूपमा मानिन्छ। धेरैजसो अहिले यस्तो सोचको मानिस पनि छन्। तर, ऊ पनि आफ्नो सांस्कृतिक वस्त्र लगाउन कतै न कतै पछाडि परेको छ। हाम्रो सांस्कृतिक वस्त्र हराउनुमा बाउ–बाजेको समेत हात रहेको हुन्छ। उहाँहरूले पनि आफ्नो सांस्कृतिक वस्त्रलाई बढाबा नदिई विदेशी फिल्ममा हेरेर तिनै वस्त्र प्रयोग गरेको हुनसक्छ।
अहिलेको समय दिपावली–छठको समय हो। अहिले पनि कतै न कतै छठको जो परम्परागत छ, त्यसमा पनि मानिसले कन्जुस्याइँ गर्दै आएको देख्न सक्छौं। परापूर्वकालदेखि बाँसले बनेका विभिन्न प्रकारका ढकिया, सुप्पा, कोन्हियाँ आदि सबैमा मानिसले कन्जुस्याइँ गर्न थालेका छन्। यी सामग्री महंगो भयो भन्दै पित्तल, अनमोनियम जस्ता सामग्री किन्न थालिएको छ। जबकि मानिसले अन्य कार्यमा हजारौं, लाखौं खर्च गर्छन्। वास्तविक संस्कृतिलाई बिर्सदै जानु हो यो।
सांस्कृतिक पक्ष जो हाम्रो सांस्कृतिक वस्त्र हो। त्यो भुल्नु हुँदैन। त्यसलाई पुनः समाजमा स्थापित गराउनु पर्छ। त्यसैले वस्त्र धोती, कुर्ता, गमछा र महिलाका लागि सारी आदि छन्। तिनलाई सधैं नभए पनि कम से कम चाडपर्वमा प्रयोग गरौं। यदि सांस्कृतिक पक्षलाई जोगाउन सकेनौं भने कतै न कतै अस्तित्वलाई एक दिन मेटाउने छौं। हाम्रो संस्कृति हाम्रै हातमा छ। डायनोसरको कहानी जस्तै नहोस्।
लोकबाजाको रूपमा प्रचलनमा रहेको जो हाम्रो ढोल–पिपही थियो जसलाई हरेक शुभ कार्यमा बजाउने गरिन्थ्यो। पुर्खाहरूले ‘रसनचौकी’को रूपमा सम्बोधन गर्दै आएका थिए। त्यो पनि आजकल अश्लीलताको सिकार भएको छ। चेपुवामा परेको छ। विशेषगरी युवा पिँढी हाम्रो संस्कृतिमा केन्द्रित भएन भने संस्कृति मरेर जानेछ। पुर्खौली अनि सांस्कृतिक वस्त्र धोती, कुर्ता, गमछा र सिधा सारी हाम्रो मन, मस्तिष्क, घर–आँगन र हाम्रो समाजमा जीवित भइरहोस्।
–मोहन महतो कोइरी, गौशाला, महोत्तरी