दैलेखका ग्रामीण बस्तीका घरघरमा खानेपानीको धारा
दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा क्षेत्र जिल्लाको दुईवटा ठूला खोलाहरु लोहोरे र छामघाटको संगमस्थल हो । चुप्रा बजार दैलेख सुर्खेत सडक सञ्जाल जोडिनुअघि दैलेख र कर्णालीको एक मुख्य व्यापारिक केन्द्रमध्येमा पर्दथ्यो । खानेपानीका लागि भने सिंगो बजार नै काकाकुल थियो । घना बस्ती रहेको चुप्राका बासिन्दा बस्तीको पुछारमा बाह्रैमास बगिरहने खोला हेर्दै कुवा धाउन बाध्य थिए । उनीहरुको दैनिकी खानेपानीकै जोहो गर्दागर्दै बित्थ्यो । होटल सञ्चालन गरिरहेका स्थानीय दिलबहादुर रासकोटी मगर भन्छन् ‘१५ घरपरिवारका लागि एउटा धारा थियो, पानीकै लागि झै–झगडासमेत हुन्थ्यो ।’
उनीमात्र होइन, स्थानीय गंगा थापामगरको परिवारलाई खानेपानीको जोहो गर्न हम्मेहम्मे पथ्र्यो । उनले टोलका ९ घरपरिवारका लागि जडान गरिएको एउटा धाराबाट खानेपानीको जोहो गर्दै आएकी थिइन् । ‘पानीको लागि समाजमा दिनहुँ झै–झगडासमेत हुन्थ्यो,' गंगा भन्छिन्, 'कयौं दिन त खोलाको दूषित पानी पीउन बाध्य थियौँ, सरसफाइका लागि पानीको जहिले अभाव हुन्थ्यो ।'अहिले भने गंगा लगायत यहाँका स्थानीय बासिन्दा मात्र होइन, होटल व्यवसायीहरुलाई समेत खानेपानीको कुनै चिन्ता छैन् । भनेकै बेलामा भने जतिकै पानी घरआँगनकै धारामा आइरहेको छ ।
डुङ्गेश्वर गाउँपालिका–१ र २ को सिमा क्षेत्र मुखरिया मुहानबाट साढे ६ किमी लामो पाइप लाइनमार्फत चुप्रामा पानी वितरण गरिएको छ । जसका लागि मुखरिया खानेपानी तथा सरसफाइइ योजना कार्यान्वयन गरिएको थियो । एक करोड ५६ लाख ५४ हजार रुपैयाँ लागतमा सम्पन्न भएको उक्त योजनाले स्थानीय वासिन्दाको पानीको दुःख बिर्साइदिएको छ । उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खत्रीले चुप्राका २ सय ९४ घरधुरीमा धारा जडान गरिएको र एक हजार ७ सय जना लाभान्वित भएको बताए ।
डुङ्गेश्वर गाउँपालिका–६ का स्थानीय बासिन्दा समेत वर्षौदेखि खानेपानीको अभाव झेलिरहेका थिए । अहिले भने यहाँका बासिन्दाको घर–घरमा धारा जडान गरिएको छ । एसएनभी नेपालको आर्थिक सहयोगमा एभरेष्ट क्लबद्वारा सञ्चालित समावेशी तथा दिगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा यहाँका ९ घरधुरीमा खानेपानीको सुविधा पुर्याइएको हो ।
पुस्तौंदेखिको दुःख हट्यो
खानेपानीकै जोहो गर्न घण्टौं खर्चिनुपर्ने बाध्यता हटेपछि डुङ्गेश्वर गाउँपालिका–२ देउलीकी भविसरा खत्री अहिले खुसी छन् । पहिले एउटै सार्वजनिक धाराबाट २०–२५ घरधुरीले खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो । ‘आँगनमै धारा भएपछि सोच्दै नसोचेको सजिलो भएको छ,'उनले भनिन् , 'खानेपानीको पुस्तेनी समस्या समाधान भएको छ, घर घरमा जडान गरिएको धारामा नियमित रुपमा सुरक्षित खानेपानी आउँछ, सरसफाइमा पनि सहज भएको छ ।’
सुख्खाग्रस्त क्षेत्रका रुपमा चिनिएको यहाँका वासिन्दाहरु घर नजिकै मूल नहुँदा पुस्तौदेखि खानेपानीको समस्या खेप्दै आएका थिए । पर्यटकीय क्षेत्रको रुपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट पानी ल्याउन कुइया देउली खानेपानी तथा सरसफाइ योजनाको कार्यान्वयनमा आएको थियो ।
बानी व्यवहार परिवर्तका लागि सञ्चार कार्यक्रम सञ्चालन गरिँदै ।
जनाबाट अहिले एक सय १६ धारा जडान गरिएको छ । खानेपानी योजना सम्पन्न गर्न झण्डै ८२ लाख ६ हजार रुपैयाँ खर्च भएको थियो । यस वडाको पैयाँचौर गाउँका घरघरमा धारा जडान भएपछि स्थानीय वासिन्दाहरु खुसी छन् । ‘पहिले खानेपानीको जोहो गर्न कुवा खोज्दै हिड्नुपर्ने बाध्यता थियो,'स्थानीय चन्द्रा गुरुङले भनिन्, 'अचेल त घरमै धारा छ, सरसफाइ र सबै घरायसी काममा सजिलो भएको छ ।’ एसएनभी नेपालको आर्थिक सहयोगमा एभरेष्ट क्लबद्वारा सञ्चालित समावेशी तथा दिगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले खानेपानीको सुविधा पुर्याएको हो । अहिले यहाँका एक विद्यालय तथा २७ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । झण्डै ३४ लाख रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको परियोजना संयोजक बिमला विशुन्केले बताइन् ।
यी केही उदाहरणमात्रै हुन् । यो गाउँपालिकामा पछिल्लो केही वर्षयता सुरक्षित खानेपानी र सरसफाइलाई प्राथमिकता राख्दै 'एक घर एक धारा' को नीति अनुसार खानेपानी योजना निर्माण तथा सरसफाइको क्रियाकलाप सञ्चालन भइरहेको छ । घर–घरमै धारा जडान हुन थालेपछि सरसफाइ र सबै घरायसी काममा सहज भएको स्थानीय बासिन्दा बताउँछन् ।
गाउँपालिकासँग सुरक्षित खानेपानी पुगेको घरधुरीको संख्याको यकीन विवरण नभएपनि ‘एक घर एक धारा’ को नीति अनुसार काम भइरहेको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी बताउँछन् । ‘सुरक्षित खानेपानी र सरसफाइलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिका र विभिन्न दातृ निकायको सहयोगमा योजना निर्माण तथा सरसफाइका गतिविधि सञ्चालन भइरहेको छ, 'उनले भने । एक घर एक धारा निर्माण हुँदा खानेपानीका पाइप जथाभावी काट्ने, धारा खोलेर पानी खेर फाल्ने जस्र्तो प्रवृत्तिको समेत अन्त्य भएको अध्यक्ष केसी बताउँछन् ।
जिल्लाका चारवटै पालिकाहरु डुङ्गेश्वर, गुराँस, महाबु र ठाटीकाँध गाउँपालिकाले खानेपानी रणनीति निर्माण गरेर ‘एक घर एक धारा’ को नीति अनुसार काम गरिरहेका छन् । राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार डुङ्गेश्वरको जनसंख्या १४ हजार पाँच सय ९७, गुराँसको २१ हजार दुई सय ८४, महाबुको १४ हजार २४ र ठाटीकाँध गाउँपालिकाको १८ हजार ६ सय ६६ छ ।
गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले एक घर एक धाराको नीति अनुरुप ५० प्रतिशतको हाराहारी घरधुरीमा खानेपानीको सुविधा पुगेको बताए । ‘हामी एक घर एक धाराको नीति अनुरुप पालिकाका सबै घरधुरीमा खानेपानीको सुविधा पुर् याउने योजना लिएका छौँ,’ वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका ओलीले भने । गाउँपालिकाले खानेपानी रणनीति २०७७/०८७ निर्माण भएको उनले बताए । ओलीका अनुसार खानेपानी तथा सरसफाइ गुरुयोजना निर्माणकै क्रममा रहेको बताए ।
डुङ्गेश्वर गाउँपालिकामा पानी गुणस्तर मापन गर्न स्थापित प्रयोगशाला ।
महाबु गाउँपालिकाले सबै घरधुरीलाई निजी धारा उपलब्ध गराउने उद्देश्यसहित खानेपानी रणनीति २०७७/२०८७ निर्माण गरिसकेको छ । रणनीतिमा उल्लेख भए अनुसार गाउँपालिकाका ६५.२ प्रतिशतले सामुदायिक धारा, ३४.८ प्रतिशतले निजी धारा प्रयोग गरिरहेका छन् ।
यस्तै ठाटीकाँध गाउँपालिकाले स्वास्थ्य तथा सरसफाइ नीति २०७८, खानेपानी सेवा सञ्चालन व्यवस्थापन कार्यविधि २०७८ र खानेपानी रणनीति २०७७–०७८ निर्माण गरेको छ । खानेपानी रणनीतिमा गाउँपालिकाका जम्मा ६.६ प्रतिशत घरपरिवारमा मात्रै निजी अर्थात एक घर एक धारा निर्माण भएका छन् । गाउँपालिकाका ९३.४ प्रतिशत घरधुरी सामुदायिक धारामा निर्भर छन् । नीतिमा गाउँपालिकाले सबै घरधुरीलाई निजी, सार्वजनिक स्थल र विद्यालयमा धारा उपलब्ध गराउने र खानेपानीको सुविधाबाट कोही पनि वञ्चित नहुने गरी उद्देश्य तय गरिएको छ ।
डुङ्गेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले गाउँपालिकाले खानेपानी रणनीति २०७७–२०८७ निर्माण गरेर कार्यान्वयनमा ल्याएको बताए । रणनीतिमा एक घर धाराको नीति अनुसार १०.६ प्रतिशत घरधुरीमा खानेपानीको सुविधा पुगेको उल्लेख छ । यस्तै गाउँपालिकाका ८९.४ प्रतिशत घरधुरीले सामुदायिक धारा प्रयोग गरिरहेका छन् ।
पानी गुणस्तर मापन प्रयोगशालाको स्थापना
जिल्लाको डुङ्गेश्वर, गुराँस, महाबु र ठाटीकाँध गाउँपालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा समेत ल्याइएको छ । एसएनभी नेपालको आर्थिक सहयोगमा एभरेष्ट क्लबद्वारा सञ्चालित समावेशी तथा दिगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले प्रयोगशाला स्थापना गरेको हो ।
प्रयोगशाला स्थापनाका लागि एउटा पालिकामा पाँच लाख ८९ हजार ८ सय रुपैयाँका दरले चारवटै पालिकामा २३ लाख ५९ हजार दुई सय रुपैयाँ लागत लागेको परियोजना संयोजक बिमला विशुन्केले जानकारी दिइन् । ‘हाल पालिकाकै खानेपानी प्राविधिकहरुले पानी गुणस्तर मापनको काम गरिरहनुभएको छ,' उनले भनिन् ।
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले प्रयोगशाला स्थापनासँगै गाउँपालिकाभित्र खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा थप टेवा पुगेको बताए । ‘अब पालिकाभित्र सञ्चालन हुने र भईसकेका खानेपानी योजनाबाट यहाँका वासिन्दाहरुले प्रयोग गरिरहेको पानीको गुणस्तर मापनमा सहज हुनेछ, 'उनले भने ।’
गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले पानी परीक्षण प्रयोगशाला स्थापनापछि केही निश्चित खानेपानी योजनाको पानी परीक्षण गरिएको बताए । ‘हामीले नमूनाको रुपमा केही खानेपानी योजनाको पानीको गुणस्तर मापन गरेका छौँ,' उनले भने, 'अब सञ्चालन हुने सबै खानेपानी योजनाको पानीको गुणस्तर मापन गर्न र नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउन सहज हुनेछ ।’
बानी व्यवहार परिवर्तनका लागि अभियान
गाउँपालिकाका विभिन्न बस्ती तथा टोलहरुमा मानिसहरुको सरसफाइ र स्वच्छतासम्बन्धी बानी व्यवहार परिवर्तनका लागि कक्षाहरु सञ्चालन समेत गरिएको छ । एसएनभी नेपालको आर्थिक सहयोगमा एभरेष्ट क्लबद्वारा सञ्चालित समावेशी तथा दिगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले बानी व्यवहार परिवर्तनका आठवटा सूचकसम्बन्धी चरणगत कक्षा सञ्चालन गरेको छ । यतिमात्र होइन, बानी व्यवहार परिवर्तनका लागि अभियान समेत सञ्चालन गरिएको परियोजना संयोजक विशुन्केले बताइन् ।
'हामीले अपाङ्गता भएका व्यक्तिहरुको सञ्जालको क्षमता विकास, किशोर किशोरी, शिक्षक अभिभावक अन्तरक्रियाका साथै बाल, किशोरी क्लब तथा साथी समूह परिचालनका कार्यहरु गरिरहेका छौँ,' उनले भनिन् । सुरक्षित खानेपानीका लागि योजना निर्माणसँगै पालिका स्तरीय खानेपानी सुरक्षा योजनासम्बन्धी अभिमुखीकरण गर्नुका साथै प्राथमिकतामा परेका खानेपानी योजनाहरुको खानेपानी सुरक्षा योजना तयार गरिएको विशुन्के बताउँछिन् ।
खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सामग्रीहरु वितरण, पालिकाभर पाँचजना ‘वास महिला उद्यमी’परिचालन, बानी व्यवहार परिवर्तन तथा खानेपानी सुविधाको स्तर सुधारका लागि रणनीति निर्माण र कार्यान्वयन, खानेपानी आपूर्ति रणनीति निर्माणका लागि गाउँपालिकालाई सहयोग जस्ता गतिविधि परियोजनाबाट भइरहेको जानकारी विशुन्केले दिइन् । ‘हामीले परियोजनामार्फत पालिकामा एक वटा र ६ वटै वडाहरुमा अपाङ्गता सहायता कक्ष समेत स्थापना गरेका छौं, ' उनले भनिन् ।