पाठेघर खस्ने समस्या भोगिरहेका महिलाले गाउँमै पाए सेवा
दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिका-३ की गौरा पौडेल शनिबार सामुदायिक स्वास्थ्य इकाई बहाकोटमा भेटिइन्। वडामै रहेको स्वास्थ्य इकाईमा पाठेघर खस्ने समस्या पहिचान शिविर सञ्चालन गरिएको थियो।
शिविरमा खटिएका स्वास्थ्यकर्मीसँग पौडेलले आफ्नो समस्या निर्धक्क साथ राखिन्। सोहीअनुसार स्वास्थ्य सल्लाह पनि पाइन्।
'बाहिर गएर उपचार गर्न महंगो रकम खर्च हुन्थ्यो, गाउँमै सञ्चालन भएको शिविरमा सेवा पाएका छौँ,' उनले भनिन् 'ग्रामिण क्षेत्रका महिलाहरूले गाउँमै सेवा पाउँदा खुसी हुनुहुन्छ।'
उनीजस्तै स्थानीय भुवानी गौतम पनि शिविरमै भेटिइन्। घर छेउमै शिविर सञ्चालन हुँदा उनी खुसी देखिन्थिन्। सहज रूपमा स्वास्थ्य सल्लाह र सेवा नपाउँदा कयौं महिलाले अकालमै ज्यान गुमाउनु परेको उनको भनाइ छ।
'अहिले महिलाहरूको स्वास्थ्य समस्यालाई ख्याल गरेर शिविर आयो, महिलाहरूले गाउँमै सेवा पाएका छन्, हामी त असाध्यै खुसी छौँ,' उनले भनिन्।
महिलाहरूको पाठेघर खस्ने समस्या पहिचान गर्ने उदेश्यले सञ्चालन गरिएको शिविरमा गौरा र भुवानी जस्तै अन्य महिलाले समेत गाउँमै सेवा पाएका छन्।
आवश्यकता अनुसार पाठेघर खस्ने समस्याको व्यवस्थापन गर्ने र पुरै पाठेघर खस्ने समस्या भोगिरहेका महिलाहरूलाई सम्बन्धित गाउँमा रिफर गर्न शिविर सञ्चालन गरिएको थियो।
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रकी सिनियर अनमी लिला चन्दले आफ्नो रोग लुकाएर बसेका महिलाहरूले गाउँमै सेवा पाएको बताइन्।
'शिविरमा महिलाहरूको पाठेघर खसेको, घाउहरू भएको, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने जस्ता समस्याहरू पहिचान भएका छन्,' चन्दले भनिन्, 'सामान्य समस्या भएकाहरूलाई गाउँमै स्वास्थ्य सल्लाह र आवश्यक औषधी दिएका छौँ, कतिपय महिलाहरूलाई रिङपेसरी राखेका छौं, पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा पुगेका महिलाहरू भेटिनु भएन्।'
सरसफाईको कमि, महिनावारी हुँदा छाउगोठ बस्ने र बालविवाह जस्ता कारणले महिलाहरूले पाठेघरको समस्या झेलिरहेका चन्दको भनाइ छ।
सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापाले ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए।
ठाठीकाँध गाउँपालिका-३ का वडाध्यक्ष भरत बहादुर बमले गाउँमै सञ्चालन भएको शिविरमा महिलाहरूले स्वास्थ्य चेकजाँच तथा उपचार पाएको बताए।
उनले वडा तहमै यस्ता खालका शिविरहरू आवश्यक रहेको बताए। ठाटीकाँध गाउँपालिकाको समन्वय र एइआइएन लक्जेम्वर्गको सहयोगमा सोसेक नेपालले शिविर आयोजना गरेको हो।
ठाटीकाँध गाउँपालिकाका दुई वटा वडामा एक दिने शिविर आयोजना गरिएको थियो। गाउँपालिकाको वडा नम्बर ४ गैरागाउँ र वडा नम्बर ३ बहाकोटमा शिविर सञ्चालन गरिएको हो।
गैरागाउँमा ३३ र बहाकोटमा ५५ जना गरी ८८ जना महिलाहरूले सेवा पाएका छन्।