यति धेरै खेलाडी किन भए घाइते ?
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कात्तिक १ गते एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच भलिबलको क्वार्टरफाइनल खेल चलिरहेको थियो। तेस्रो क्वार्टरफाइनलको दोस्रो सेट चलिरहँदा तीन खेलाडी लगातार गम्भीर घाइते भए। जसमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी अनि लुम्बिनीका विजय परियार थिए। खुट्टामा चोट लागेका तीनै जनालाई अस्पताल पठाइएको थियो। त्यसपछि क्वार्टरफाइनल खेल स्थगन गरिएको थियो।
उनीहरू पुरानै म्याटमा खेल खेलाएका कारण चिप्लिएर घाइते भएका हुन्। त्यसअघि भलिबलकै तीन खेलाडी घाइते भएका थिए। बागमतीसँगको खेल चलिरहँदा गण्डकीका प्रेम कुमालको खुट्टा भाँचिएको थियो। लुम्बिनीका चिरञ्जीवी खड्का र एपीएफका हेमन्त मल्ल पनि चिप्लिएर घाइते भए। दर्शक र खेलाडीले विरोध गरेपछि भुइँमा बिछ्याइएको म्याट झिकेर धुले मैदानमा खेल खेलाइएको थियो।
पोखरा रंगशालाको मूल गेटछेउ रहेको स्वास्थ्य उपसमितिको मेडिकल सेन्टरमा हरेक दिन खेलाडीको घुइँचो देखिन्थ्यो। कोही खुट्टा खोच्याउँदै आउँथे। कोही पाखुरा सुम्सुमाइरहेका हुन्थे। त्यहाँ आउने खेलाडी कुनै न कुनै समस्या लिएर आएका हुन्थे। मेडिकल सेन्टरका डाक्टरले सामान्य घाइतेको त्यहीं उपचार गर्थे। जटिल समस्या भएकालाई अस्पताल जान रेफर गर्थे।
‘मेडिकल सेन्टरमा आउने अधिकांश खेलाडीमा सफ्ट टिस्यु इन्जुरी, फ्याक्चर र डेंगुको संक्रमण पाइएको छ’, उपसमिति सचिवालयका डा. हेमनाथ आचार्य भन्छन्। उनका अनुसार प्रतियोगिता अवधिभर ६ सय ५० खेलाडी घाइते भए। तीमध्ये १ सय ३० जनालाई विभिन्न अस्पतालमा रेफर गरियो। चार जनालाई शल्यक्रिया गर्नुपरेको थियो। ‘यसपटक धेरै खेलाडी घाइते भए। अधिकांशलाई सफ्ट टिस्यु इन्जुरी र फ्याक्चर भएको थियो। त्यसबाहेक धेरैलाई डेंगुले पनि सताएको पाइयो’, डा. आचार्य भन्छन् । उनले भने, ‘शल्यक्रिया गरेका चार खेलाडीमध्ये दुई जनाको क्लाभिकल इन्जुरी र अन्य दुईको फ्याक्चर छ।’
राष्ट्रिय खेलकुदमा यसपटक ६ हजार १ सय २७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यस हिसाबले झन्डै १० प्रतिशत घाइते भएका हुन्। नियमित प्रशिक्षण अभाव, अव्यवस्थित खेल मैदान, पोसाक र अनुशासनका कारण पनि घाइते र बिरामी हुन खेलाडीको संख्या निकै बढेको डा. आचार्य बताउँछन्। ‘खेलाडीले राम्रोसँग प्रशिक्षण गर्न पाएनन्। २–४ दिनको सामान्य तयारी गरेर खेल्न आएको पाइएको छ। त्यसमाथि खेल मैदानको अवस्था पनि ठीक छैन’, डा. आचार्य भन्छन्, ‘त्यही कारण खेलाडी घाइते हुने संख्या ह्वात्तै बढेको हो।’ खेलाडी आधा लुगा लगाएर हिँड्ने गरेका कारण धेरैमा डेंगुको संक्रमण भएको उनको भनाइ छ।
खेलकुदविज्ञ दिवाकरलाल अमात्य फिटनेसको कमी र जथाभावी खानपानका कारण धेरै जना घाइते भएको बताउँछन्। ‘प्रतियोगिताहरूमा अधिकांश खेलाडी फिटनेसकै कारण घाइते हुन्छन्। नवौं राष्ट्रिय खेलकुदमा पनि फिटनेसकै कारण धेरै खेलाडी घाइते भएका हुन्। यसबारे छुट्टै अनुसन्धान हुनु जरुरी छ’, अमात्य भन्छन्, ‘यसबाहेक जथाभावी खानपानका कारण पनि खेलाडी घाइते भएका हुन सक्छन्।’ दसैंमा जथाभावी खानपान र दसैंलगत्तै राष्ट्रिय प्रतियोगितामा सहभागी भएका कारण पनि धेरैमा समस्या देखिएको उनको ठम्याइ छ। मेडिकल सेन्टरमा आउने अधिकांश ह्यान्डबल, रग्बी, जुडो, फुलकन्ट्याक्ट कराते, कबड्डी, उसु, बक्सिङ, खोखो, एथलेटिक्स, भारोत्तोलन, भलिबललगायत खेलका खेलाडी रहेको डा. आचार्यको भनाइ छ।
खेलकुद विज्ञ सुशीलनरसिंह राणा पनि नियमित प्रशिक्षण र फिटनेस कमीका कारण समस्या देखिएको बताउँछन्। ‘घाइते हुनुको मुख्य कारण फिटनेस हो। नवौं राष्ट्रिय खेलकुदमा सहभागी अधिकांश खेलाडीले प्रशिक्षण नै गर्न पाएनन्। प्रशिक्षण नभएपछि फिटनेस हुँदैन’, राणा भन्छन्, ‘आक्कलझुक्कल प्रतियोगिता खेल्दा यस्तो समस्या आउँछ। यसलाई हामीले नौलो मान्नुपर्दैन।’
खेलविज्ञ राणा राष्ट्रिय प्रतियोगिताजस्तो ठूला प्रतियोगितामा खेलाडीको नियमित प्रशिक्षण हुनुपर्ने बताउँछन्। कम्तीमा ६ महिनाको विशेष प्रशिक्षण हुनुपर्नेमा जोड उनी दिन्छन्। स्वास्थ्य उपसमितिका संयोजक डा. बुलन्द थापा ३६ खेलका ६ हजारभन्दा बढी खेलाडीमध्ये चार जनाको मात्रै शल्यक्रिया हुनुलाई समग्रमा राम्रो मान्छन्। ‘राष्ट्रिय प्रतियोगिता घरेलु खेलकुदको पर्व हो। यो पर्वमा धेरैलाई केही न केही समस्या परेकै हुन्छ’, डा. थापा भन्छन्।
‘माइनर इन्जुरी’ धेरै भएकाले आत्तिन नपर्ने उनको भनाइ छ। प्याराग्लाइडिङ खेलाडी निमिस थापाको मृत्यु भने प्राविधिक त्रुटीका कारण भएको उनी बताउँछन्। ‘संख्याका हिसाबले धेरै जना घाइते भएजस्तो देखिए पनि धेरैलाई लिगामेन्ट इन्जुरी भएको छ। यो माइनर इन्जुरी हो। तत्काल उपचार गरेमा ठीक भइहाल्छ’, डा. थापा भन्छन्, ‘यसलाई ठूलो चिन्ता मान्नुपर्दैन।’
राष्ट्रिय प्रतियोगितामा एमेच्योर खेलाडी बढी हुने भएकाले राम्रो प्रशिक्षण नहुँदानहुँदै जसरी पनि पदक जित्छु भनेर जबरजस्ती खेल्दा घाइते हुने गरेको उनी बताउँछन्। ‘राष्ट्रिय प्रतियोगितामा व्यावसायिक खेलाडी हुँदैनन्। प्रशिक्षण पनि राम्रो हुँदैन। यति हुँदाहुँदै पनि उनीहरूमा जसरी पनि पदक जित्नुपर्छ भन्ने दबाब हुन्छ। त्यसले गर्दा नै धेरैले चोट बोक्न पुग्छन्’, डा. थापा भन्छन्, ‘यसबाहेक खानपान, प्रतियोगिता स्थल, खेल सामग्रीलगायतले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ।’ पोखराको पूर्वाधार विकास हुने क्रममा रहेकाले ती पूर्वाधारमा खेल्दा पनि धेरै खेलाडी घाइते भएको उनको भनाइ छ।