नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट भेटियो
काठमाडौंः नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।
गत २१ साउन देखि १४ असोजसम्म कोभिड –१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ । यो विगतका भेरियन्ट र सब भेरियन्ट भन्दा निकै धेरै संक्रामक रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड–१९ को संक्रमण बढेको देखिएको छ। दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड–१९ तीव्र गतिमा फैलिने संभावना उच्च रहेकोले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको (जस्तै मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने) पालना गर्न गराउन सबैको जानकारीको लागि विनम्र अनुरोध गर्दछौं ।’