मूल्य नपाउँदा अकबरेबाट २५ करोड गुम्दै
फिदिम : १० वर्ष अघिदेखि अकबरे खुर्सानीको खेती थालेका फिदिम— ७ रानीटारका पूर्णबहादुर गुरुङले ९ वर्षसम्म सोचेभन्दा राम्रो आम्दानी लिए। राम्रो कमाइ गरेर हौसिएका उनले सालैपिच्छे अकबरे खेतीलाई विस्तार गरे।
यो वर्ष उनले बारीमा हजार बिरुवा रोपे। नयाँ बिरुवामा राम्रो फल लाग्यो। यो वर्षमात्रै गुरुङले ११ पटक फल भित्र्याइसके। तर, अकबरेले विगतजस्तो मूल्य पाउन छाड्यो। बजार अभावमा उनले उचित मूल्यमा अकबरे बिक्री गर्न सकेका छैनन्।
अघिल्लो वर्षसम्म प्रतिकिलो ४ सय ५० रुपैयाँसम्ममा अकबरेको कारोबार गरेका गुरुङले यो साल यो १ सय ५० रुपैयाँमा पनि बिक्री गर्न सकेका छैनन्। ‘बिक्री नभएपछि अकबरे थन्काएर राखेको छु,’ गुरुङले भने ‘पहिले उत्पादन कम हुँदा माग धान्न मुस्किल पर्यो। अहिले उत्पादन धेरै छ। तर, बजार अभावमा अकबरेले मूल्य पाउनै छाड्यो।’
फिदिम–२ की नन्दकुमारी दुलालको समस्या पनि उस्तै छ। १० वर्षदेखि उनले अकबरे खेती गर्दै छन्। अघिल्ला वर्षसम्म घरैमा बेचेर राम्रो आम्दानी गरिरहेकी उनले यो वर्ष अकबरे बेच्न सकेकी छैनन्। दुःख गरेर उत्पादन गरेको अकबरे बिक्री गर्न नसक्दा उनी चिन्तित छन्। ‘आम्दानीको मुख्य स्रोत नै अकबरे हो,’ दुलालले भनिन् ‘बजार नपाउँदा अकबरे बिक्री हुनै छाड्यो। अकबरे बेच्न नपाउँदा आम्दानीको बाटो नै बन्द भयो।’
पछिल्लो पाँच वर्षयता पाँचथर जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक खेतीमा किसानहरूको राम्रो लगाव छ। व्यावसायिक खेतीबाट किसानले अकबरेको उत्पादनलाई उल्लेख्य मात्रामा वृद्धि गरेका छन्। उत्पादनअनुसार बजार पाउन नसक्दा किसान समस्यामा परेका छन्। बगानमै पुगेर व्यापारीले उठाएको अकबरे यो वर्ष फाट्टफुट्ट मात्र बिक्री भएको छ।
कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांकअनुसार विगत वर्षजस्तो अकबरेले मूल्य नपाउँदा यो वर्ष पाँचथरमा करिब २५ करोड मूल्य गुम्दै छ। तथ्यांकअनुसार जिल्लामा कुल २ सय ८० हेक्टर क्षेत्रबाट १ हजार ७ सय ८६ टन अकबरे उत्पादन हुन्छ।
उत्पादित अकबरे २ सय ५० प्रतिकिलो बिक्दा ४२ करोड आम्दानी हुन्छ। तर, अहिले सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्ममा पनि किसानले बेच्न सकेका छैनन्। उत्पादन राम्रो भए पनि मूल्य नहुँदा किसानले करिब २५ करोड रुपैयाँ गुमाउन बाध्य छन्। ‘अकबरेले राम्रो मूल्य नपाउँदा करोडौं रुपैयाँ गुम्दैछ,’ कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले भने ‘कम मूल्यमा पनि किसानले अकबरे बेच्न सकिरहेका छैनन्।’
कृषिको व्यवसायीकरणका लागि दक्ष जनशक्ति मुख्य विषय हो। जनशक्ति पर्याप्त नभएका कारण कृषि ज्ञान केन्द्रले पनि बजारीकरणमा ध्यान दिन सकेको छैन। कृषि उपजको बजारीकरणमा राज्यको ध्यान नजाँदा बजार अभावमा करोडौं मूल्यबराबरको कृषि उपज खेर गइरहेको छ।