भक्तपुरका चिटिक्क पाटी

भक्तपुरका चिटिक्क पाटी

भक्तपुर : भक्तपुरको नागपोखरी घुम्दै गर्दा थकाई लाग्यो ? चिन्ता नगर्नुहोस्। छेउमै पाटी (फल्चा) छ। जुन, चिटिक्क छ, सफा पनि छ। एकछिन थकाई मारेर  नागपोखरी घुम्न सक्नुहुन्छ।

नागपोखरीबाट दुई पाइला पश्चिम हिँडनुभयो भने अर्को एउटा पाटी पनि आउँछ। त्यहाँबाट दुई–तीन पाइला अघि बढे अर्को पाटी पनि आउँछ। नामपोखरीदेखि महालक्ष्मी मन्दिरसम्मको झन्डै एक सय मिटरको दूरी (अर्थात, दुई मिनेटको हिँडाइ) मा आठ वटा सार्वजनिक पाटीहरू भेटिन्छन्। यी पाटीहरू सार्वजनिक प्रयोजनकै लागि बनाइएका हुन्। केही पाटीहरू फुटपाथमा बस्नेहरूको आ  श्रमस्थल पनि बनेका छन्। फुटपाथमा बस्ने असहायहरू तिनै पाटीमै रात बिताउँंछन्।

अन्नपूर्णकर्मीले रातको समयमा अवलोकन गर्दा दुई चार वटा पाटीमा त्यस्तो देखियो। जस्तो कि च्याम्हासिंहको पाटी। त्यहाँं रातको समयमा दैनिक तीन चार जना नै पाटीमा बास बस्ने गरेका भेटिए। उनीहरू सबै पुरुष थिए। दिनभरी ज्याला मजदुरी गर्ने र रातको समयमा छुट्टाछुट्टै रुपमा उनीहरू एउटै पाटीमा अलगअलग सुत्ने गर्छन्। यस्तै जगातीका पाटीमा भने नजिकैका गाउँबाट आउनेहरू बस्छन्। उनीहरू जगातीको पाटीमा बास बस्ने योजनासाथ आउने गरेको बताउँछन्। गाउँको टपरी, प्लेट बनाउने पातको भारी बोकेर आउँछन् र रात पाटीमा बिताउँछन्। बिहान सवैरै भक्तपुरका बजारमा सामान बेचेर घर फर्किन्छन। कहिलेकाहिँ पाटीमा नअट्दा खुला पेटीमा पनि रात बिताउने गरेको स्थानीयवासी बताउँँछन्।

यसैगरी अन्य एकदुई वटा पाटीहरू रात बिताउने आधुनिक गेस्टहाउस बनेका छन्, विपन्न वर्गका लागि। उनीहरू आफूहरूका लागि यी पाटीहरू पवित्रस्थल भएको बताउँछन्। काभ्रेकी नानीमैयाँं तामाङ एकैदिन टपरीहरू बिक्री गरेर घर जान नभ्याउने भएकाले जगाती पाटीमा रात काटेर घर फर्किने गरेको बताउँछिन। ‘अरु बेला त हामीलाई पेटीमै रात काट्न पनि समस्या छैन। तर, पानी पर्ने सिजनमा भने गाह्रो हुन्छ’, उनले भनिन्। संख्याकै कुरा गर्ने हो भने दुई चार वटा पाटीमा झन्डै एक दर्जनले रात बिताउने गरेका छन्। बाँकी सबै पाटी सार्वजनिक प्रायोजनकै लागि प्रयोगमा छन्।

भक्तपुरको सूर्यमढीमा रहेको पाटी स्थानीय पाका नागरिकको घाम ताप्न प्रख्यात छ। त्यहाँं बुढापाकाहरू जाडो याममा घाम तापेर बस्छन्। त्यो पाटीको आधा भागमा टोलबासीले खोलेको सार्वजनिक प्रगति पुस्तकालय छ भने बाँकी भाग खाली छ। धेरै मानिस त्यो पुस्तकालयमा दैनिक पत्रपत्रिकाहरू हेर्न पनि पुग्छन्। टोलका बुढाबुढीहरू दिनको समयमा घर नजिकका सार्वजनिक पाटीहरूमा पुग्छन् र आफना साथीसँग बसेर दिन बिताउँंछन्। यसले उनीहरूलाई घरमै एक्लै बस्नुपर्ने बाध्यताबाट पनि मुक्ति मिलेको छ।

भक्तपुरको जुनसुकै वडामा प्रसस्तै पाटी छन्। एउटा वडामा एक दर्जनदेखि पाँंच दर्जनको हाराहारीमा सार्वजनिक पाटीहरू छन्। भक्तपुर नगरपालिकाले ती सबै पाटीहरूलाई संरक्षित गरेर चिटिक्क र राम्रा बनाएर राखेको छ। नगरपालिकाले वर्षेनी मर्मतसम्भार र जीर्णाेद्धार गरिँदै आएको छ। पछिल्लो समय सिद्धपोखरीको उत्तरमा रहेको पाटीको पुनर्निर्माण सम्पन्न भएको छ।

हरेक वर्ष विभिन्न कारणले भत्केका÷बिग्रेका पाटीहरूको जीर्णाेद्धार गरिने गरेको छ। यहाँ ससाना पाटीदेखि लामालामा पाटीहरू छन्। सानासाना पाटीहरू जताततै भेटिन्छन् भने लामा पाटीहरू भक्तपुर दरबार क्षेत्रमा छ।
भक्तपुरका वडाहरू पाँच मिनेटको हिँडाइका दूरीमा छन्। देशकै सबैभन्दा बढी जनघनत्व भएको भक्तपुर नगरका वडा पाँच÷दस मिनेटको हिँडाइमै घुम्न सकिन्छ। यहाँका एउटै वडामा पनि ५३ वटासम्म पाटीहरू रहेको तथ्यांक छ। भक्तपुर नगरपालिका–९ मा ५३ वटा पाटीहरू छन्।

वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व भक्तपुरको पाटी यहाँका गौरवका प्रतीक भएको बताउँछन्। त्यसकारण नगरपालिकाले निरन्तर संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको उनले बताए। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले अधिकांश पाटी उपभोक्ता समितिमार्फत बनाइएका हुन्। प्रजापतिले पाटी मात्र नभई अहिलेसम्म भक्तपुर नगरपालिकाले सम्पदाहरू पुनर्निर्माणको काम पनि गरिरहेको जानकारी दिए। उनका अनुसार एक सय २६ भन्दा बढी सम्पदाहरू पुनर्निर्माण भइसकेका छन्।

संस्कृतिविद् ओम धौभडेलले कहिलेदेखि पाटी बनाइएका हुन् भन्ने इतिहास नभएको बताए। आराम गर्न, भजन गर्न र घामपानीबाट बच्न पाटी पौवा बनाइएको धौभडेलले बताए। भक्तपुरमा धेरै जात्राहरू हुने गर्दछन्। सबैको घर बाटोछेउमै हुँदैन। त्यसकारण भित्री गल्ली र अरु ठाउँबाट जात्रा हेर्न आउनेहरूलाई सजिलो होस् भनेर पाटीहरू बनाइएको उनले बताए। त्यही कारण धेरैजसो पाटीहरू दोबाटो तथा चौबाटोमा रहेको उनले बताए। ‘दोबाटो र चौबाटोमा पाटी हुनुको कारण धेरै मान्छेहरू आराम गर्न आउँछन्। जहाँ जात्राहरू हुने गर्दछन् त्यही अनुकुलता अनुसार पाटीपौवा पूर्खाले बनाएको देखिन्छ’, उनले भने, ‘पाटीपौवाहरू वातावरण अनुकुलित गरी बनाइएका छन्।’

बुढापाकाहरूका अनुसार उहिलेउहिले (अहिले जस्तो गेष्ट हाउसहरू नभएको बेला) टाढाटाढाबाट आउनेहरूको रात कटाउने गन्तव्यस्थल नै पाटीहरू हुन्थे। यसकारण साधारणतया प्रत्येक पाटीसँगै त्यहाँ सार्वजनिक ढुंगेधारा भेटिन्छन्।
कमलविनायकमा रहेको मानव कल्याण समाज सेवा घरका अध्यक्ष सुनिता चौलागार्इंले अलपत्र÷असहायहरूको सुत्ने÷बस्ने ठाउँ पाटी भएको बताइन्। ‘सेवा घरमा ल्याइएका असहायहरू भक्तपुरका पाटीबाट नै उद्दार गरेर ल्याएको छु’, उनले भनिन्, ‘प्रसस्त पाटी भएका कारण असहायहरू बाटोमा सुत्नुपर्ने अवस्था छैन। असहायहरूको टाउको छोप्ने ठाउँ नै पाटी भएका छन्’, उनले भनिन्।

भक्तपुरका पाटीपौवा दुई प्रकारका छन्। एकखालेको माथि छानो मात्रै छ। अर्को खालेमा एक तला र छानोे छ। दरवार स्क्वायर सुनढोका (गोल्डेन गेट) अगाडि रहेको पाटी त भाडामा लगाइएको छ। त्यहाँ पाराडाइज रेस्टुरेन्ट सञ्चालन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.