पटाका पड्काउने होसियार ! पक्राउ परिएला
काठमाडौं: तिहार नेपालीको घर दैलोमा भित्रिएको छ । तिहारमा रमाइलो गर्दै तपाईं तास खेल्ने, पटाका पड्काउने सोचमा हुनुहुन्छ ? त्यसो भए सावधान !
यसपल्ट कुनैपनि बहानामा ठूलो धनराशी दाउमा राखेर तास तथा कौडा खेल्न पाइँदैन । रमाइलो गर्नै मात्र भएपनि पटाका पडकाउन सरकारले अनुमति दिएको छैन । जुवातास खेल्नेविरुद्ध सुरक्षा निकाय आक्रामक बनिरहेको छ । तास नखेल्न प्रहरीले आग्रह पनि गरेको छ । आफ्नो गाँउ टोलमा जुवातास खेलिरहेको थाहा पाएमा नजिकको प्रहरीमा खवर गर्न प्रहरीले आग्रह गरेको छ ।
बेलबोट रेष्टुरेन्ट पोखरा ११ मा जुवातास खेलाएको आरोपमा रेष्टुरेन्ट सञ्चालक रमेश गुरुङसहित ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ५१ हजार रकम पनि बरामद गरेको छ ।
यस्तै कन्चनपुर भिमदत्त नगरपालिका-११ बस्ने दानी रानाको घरमा जुवातास खेलीरहेको अवस्थामा १९ जना प्रक्राउ परेका छन् । उनीहरूको साथबाट एक लाख २० हजार नगद बरामद भएको छ ।
यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले यहि असोज १ देखि जुवातास खेलेको अभियोगमा ६२ जनालाई प्रक्राउ गरेको छ।
जुवा तथा कौडाको खालबाट ९ लाख १२ हजार ८० रुपैया नगद बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार जुवा खेलेको आरोपमा ५७ जना र कौडा खेले खेलाएको आरोपमा ५ जना प्रक्राउ परेका छन् । जुवा सम्वन्धी ९ मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
यस्तै दमक ८ बासबारी झापाबाट यहि शुक्रबार प्रहरीले करिव १ लाख ४२ हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको छ । यस्तै कृष्णसरण ६ बाट ४१ हजार बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।
चाडपर्वको बेला गाउँटोल तथा शहर बजारमा जुवातास र कौडा खेल्ने समुह सक्रिय हुने हुदा प्रहरीले विशेष निगरानी गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार अवैध रुपमा जुवातास र कौडा खेले खेलाएमा प्रहरीले प्रक्राउ गर्नेछ ।
जुवा तास खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । उनी भन्छन्, ‘घर परिवारमा रमाइलोको लागी खेल्न पाइयो । तर पैसाको चलखेल हुनेगरी, धेरै मानिस भेला भएर जुवातास खेल्नु खेलाउनु गैरकानुन हो ।'
कुनै किसिमको चल वा अचल सम्पती वा प्रतिफल पाउने वा गुमाउने, हार्ने, जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खे वा प्रक्रियालाई जुवातासको रुपमा बुझिने मैनालीले बताए ।
मैनाली भन्छन्, 'जुवातास खेल्न कानुनले नै बर्जित गरेको छ । समाजमा झैझगडा हुने, ठुलो रकम चलखेल हुने र क्षणभरमै लाखौ रुपया हारजितमा सकिने हुन्छ । यसले समाजको शान्ति सुरक्षामा खलल पुराउछ । पटका पट्काउदा ठुला ठुला दुर्घटना हुनसक्छ । आगलागी हुनसक्छ । मानिसको ज्यानै जोखिममा पर्न सक्छ । मर्यादित तरिकाले चाडपर्व मनाउन सवैलाई अनुरोध छ।'
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनस्याम उपाध्यायले कानुनको पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेका छन् । पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न, नगराउन उनले आग्रह गरेका छन् ।