बागीलाई जिताउन एमालेको उम्मेदवारी निष्क्रिय
रुकुम पूर्व : प्रदेश सभा (क) मा सत्ता गठबन्धन विरुद्ध उम्मेदवारी दिएका सुरुल पुन (अजयशक्ति) लाई सघाँउदै नेकपा एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय गराएको छ।
आज सोमबार पुथाउत्तरगंगा गाउँपालिका-१०, तकसेरामा बसेको बैठकबाट यस्तो निर्णय गरेको नेकपा एमाले रुकुम पूर्व प्रचार विभागले जानकारी दिएको छ।
निर्वाचन क्षेत्र (क) मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) को उम्मेदवारी परेको छ भने नेकपा एमालेका तर्फबाट तेजेन्द्र बुढामगर (तेजिलो) को उम्मेदवारी परेको थियो।
बुढाको उम्मेदवारीलाई नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कैलासकुमार मल्ललाई सघाँउने सहमतिमा उम्मेदवारी निष्क्रिय पारिएको हो।
माओवादीबाट विद्रोह गरी आएका बागी उम्मेदवार सुरुल पुनलाई चुनाव चिह्न चिम-बल्ब मा मत दिई सहयोग गर्नका लागि उम्मेदवारी निष्क्रिय गराएको एमालेका जिल्ला कमिटी अध्यक्ष टोपबहादुर ओलीको हस्ताक्षरित एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रदेश निर्वाचन (क) मा माओवादीका स्थापित नेताहरु समेत बागी उम्मेदवार सुरुल पुनको समर्थनमा लागेका छन। त्यस कारणले पनि रुकुम पूर्वको सत्ता गठबन्धनलाई थप चुनौति देखिएको छ।
यसअघि पनि सत्ता गठबन्धनका उम्मेदवारलाई पुथाउत्तरगंगा गाउँपालिकामा बहिस्कार गर्दै बागी पुनको टिमले अवरोध समेत गरेको थियो।
माओवादीबाट विद्रोह गरी बागी उठेका उम्मेदवार सहितको समर्थन गरेको टिमले पनि पिछडिएको क्षेत्र पुथाउत्तरगंगाको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आएका छन।
मुख्य निर्वाचन कार्यालय रुकुम पूर्वका अनुसार कुनै पनि दल वा व्यक्तिले आफ्नो उम्मेदवारी निष्क्रिय गराए पनि सोही उम्मेदवारी कायमै रहेकाले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाँप लगाउँदा मत सदर हुने बताएको छ।