बागी उम्मेदवारलाई सहिद परिवारको स्वागत
रुकुम पूर्व : रुकुम पूर्व प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (ख) का बागी उम्मेदवार केशव रावललाइ सहिद परिवार समाजले सिस्ने गाउँपालिका-८ स्यालापाखामा स्वागत गरेको छ।
हिजो काठमाडौंबाट जिल्लामा चुनावी अभियान सुरु गर्नका लागि गृह वडामा पुगेका रावलाई समाजले शुभकामना कार्यक्रम राखेर स्थानीय र निवर्तमान जनप्रतिनिधि र माओवादी केन्द्रका जिम्मेवार नेता कार्यकर्ताको समर्थनमा गाजाबाजा सहित सहिद स्मृति भवनमा स्वागत गरेको हो।
यहि स्यालापाखाको अभियानबाटै रावल चुनावी प्रचारप्रसार र घरदैलो अभियान सुरु हुने रावल पक्ष स्रोतले जनाएको छ।
भुरुङ्गा टोलदेखि स्यालापाखामा अभियान चल्ने छ। तालिका अनुसार निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्ने बताइएको छ। केशव रावल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष समेत हुन्।
उनले जिल्लामा भएको सत्ता गठबन्धनका नाममा गलत व्यक्तिको उम्मेदवारी परेकाले आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन्।
रावलले रुकुमको विकास र समृद्धिका लागि उम्मेदवारी दिनुपरेको बताएका हुन। रावलले थपे, 'गठबन्धन जोगाउन कांग्रेसलाई टिकट दिए पनि जसले कांग्रेस जोगाउन लागेका थिए ती मान्छे नभई कहिल्यै राजनीतिमा स्कुलिङ नभएको व्यक्तिले प्रवेश पाएको छ।'
जनयुद्ध जनआन्दोलन र उपलब्धी रक्षाको विपरीत भएकाले आफूले जनताको मर्म अनुसार बाध्य भएर उम्मेदवारी दिनुपरेको रावल बताउँछन्। उनि मसिंर ४ गतेको निर्वाचनमा जीप चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन्।