को हुन् भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्री बन्ने ऋषि सुनक?

को हुन् भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्री बन्ने ऋषि सुनक?

लण्डन : भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्दै छन् । उनी भारतीय मूलका पहिलो बेलायती प्रधानमन्त्री हुनेछन्। 

सेप्टेम्बर ५ मा भएको चुनावमा लिज ट्रस पार्टी नेताको दौडमा सुनकलाई हराएर बेलायतको प्रधानमन्त्री बनेकी थिइन्। त्यसको करिब ५० दिनपछि सुनक कन्जरभेटिभ पार्टीको संसदीय दलका नेता र प्रधानमन्त्री बन्न लागेका छन् । ऋषि भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिका ज्वाइँ हुन्।

सोमबार कन्जरभेटिभ पार्टीको संसदीय दलले सुनकलाई नेतामा चयन गरेको हो । उनको प्रतिद्वन्द्वी पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री हुने पक्का भएको हो। यसअघि पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पनि आफ्नो नाम फिर्ता लिएका थिए । सुनकलाई करिब २ सय सांसदको समर्थन छ । पेनीलाई २६ जनाको मात्र समर्थन थियो।

रिपोर्टका अनुसार, राजा चार्ल्स  स्यान्ड्रिघमबाट लन्डन फर्कंदैछन्। लिज ट्रसले राजीनामा बुझाएपछि राजा चार्ल्सले सुनकलाई प्रधानमन्त्रीको नियुक्ति पत्र हस्तान्तरण गर्नेछन् । अक्टोबर २८ मा सुनकले प्रधानमन्त्रीको सपथ लिनेछन् । त्यसपछि अक्टोबर २९ मा मन्त्रिपरिषद् घोषणा हुनेछ ।
 
सुनकको जितको ठूलो कारण उनको अर्थमन्त्री हुँदाको सफलतालाई मानिन्छ।  ट्रस प्रधानमन्त्रीमा असफल हुनुको सबैभन्दा ठूलो कारण आर्थिक मोर्चामा असफलता थियो। बेलायतमा महंगी चुनावको मुख्य मुद्दा थियो।  आर्थिक अस्थिरता भएपछि जोन्सन सरकारमा अर्थमन्त्री भएका सुनकले आर्थिक बेलआउट योजना ल्याएका थिए। त्यसलाई मध्यमवर्गले निकै मन परायो र जनतामा उनको लोकप्रियता बढ्यो ।

भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा निकै छिटो उदाएका व्यक्ति हुन्। उनले ३५ वर्षको उमेरमा सन् २०१५ मा पहिलो पटक संसदको निर्वाचन जितेका थिए । त्यसको सात वर्षपछि नै उनी बेलायतको प्रधानमन्त्री बन्न लागेका छन् । उनी बेलायतको पहिलो भारतीय मूलका र अश्वेत जातिको प्रधानमन्त्री हुनेछन्।

इतिहास बने 

ऋषि प्रधानमन्त्री बन्नु ऐतिहासिक क्षण भएको धेरै विज्ञहरू बताउँछन् । ऋषि सुनकभन्दा अगाडि पनि दक्षिण एसियाली मूलका नेताहरू ठूलो पदमा पुगिसकेका छन् । प्रिति पटेल गृहमन्त्री र सादिक खान लन्डनका मेयर बनेका थिए। 

हालसम्म एसियाली मुलका कोही पनि प्रधानमन्त्री बनेका छैनन् । राजनीतिक विश्लेषकहरूका अनुसार ऋषिको उदय एशियाली समुदायहरूको सफलतासँग जोडिएको छ। ऋषिजस्ता नेताको उदयका कारण बेलायती समाजमा विविधता आएको उनीहरु बताउँछन्।

ऋषि भारतीय मूलका तेस्रो पुस्ता हुन्। उनका हजुरबा-हजुरआमा भारत विभाजनअघि नै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका गएका थिए। धेरै वर्ष पछि उनीहरु इङ्गल्याण्डको साउथह्याम्पटन सहरमा बस्न थाले। त्यहीं ऋषि सुनकको जन्म सन् १९८० मा भएको थियो। उनी यही सहरमा हुर्केका थिए ।

बेलायतका  २५० धनीमध्ये एक 

बेलायतमा ऋषि सुनक निकै धनी मानिन्छन्। भर्खरै गरिएको सर्वेक्षण अनुसार उनी बेलायतका २५० धनीमा पर्छन्।  

वैदिक सोसाइटी टेम्पल साउथह्याम्प्टनको एउटा ठूलो हिन्दू सामुदायिक मन्दिर हो। जसका संस्थापकमा ऋषि सुनकका परिवारका सदस्य पनि समावेश छन्। उनको बाल्यकाल यही मन्दिरमा बित्यो। त्यहाँ उनले हिन्दू धर्मको शिक्षा त्यहींबाट पाएका मानिन्छ। ७५ वर्षीय नरेश सोनचातलाले ऋषि सुनकलाई बाल्यकालदेखि नै चिन्थे । उनी भन्छन्, ‘सुनक सानैदेखि मन्दिरमा आमाबुवा र हजुरबा हजुरआमासँगै आउने गर्थे ।'
 
उनका बुबा यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनकले हालसम्म कस्मेटिक पसल चलाउँछिन्। 

उनी अहिले पनि सोही सहरमा बस्छन् । उनी सरल जीवनशैली भएका मानिस मानिन्छन्। उनको परिवारमा पढाइ र करियरमा बढी जोड दिइन्थ्यो। त्यसैले बुबाले उनलाई निजी विद्यालयमा पढाएका थिए।

आफ्नो वेभ साइडमा लेख्दै सुनक भन्छन्, 'मेरा आमाबाबुले म राम्रो स्कूलमा पढन् सकूँ भनेर धेरै त्याग गर्नुभयो। विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्ने अवसर पाएकोले आफूलाई भाग्यशाली सम्झन्छु।'

ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए । अहिले उनीहरुका दुई सन्तान छन् । उनको ७३० मिलियन पाउन्ड सम्पत्तिमध्ये धेरैको मालिक श्रीमती हुन्। 

उनी आफूले सफल व्यवसायिक करियरको आनन्द लिएको बताउँछन्। उनी भन्छन्, 'मैले सिलिकन भ्यालीदेखि बैंगलोरसम्मका कम्पनीहरूसँग मिलेर एउटा ठूलो लगानी फर्मको सह-स्थापना गरें। त्यसमै काम गरिरहेको छु।'

अर्थमन्त्रीमा सफलतापछि प्रधानमन्त्री

कोरोना महामारी अघि नै ऋषि सुनक देशको अर्थमन्त्री बनेका थिए । यो उनको लागि ठूलो उपलब्धि थियो किनभने अर्थमन्त्रीको पदलाई बेलायतमा प्रधानमन्त्री पदपछि दोस्रो उच्च पद मानिन्छ। उनले यो पदमा निकै राम्रो काम गरे, जसका कारण धेरैले उनलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका थिए।

उनी अर्थमन्त्रीको हैसियतमा बेलायतकै दोस्रो उच्च पदमा रहिसकेका व्यक्ति हुन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.