शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर : भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। 

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ। पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो।” 

कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उाले बताए। तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ। जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उनले बताए। पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन्।

चितवनमा यो पेसा गरेको पाख्रिनले पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए। यसका लागि उनले शिक्षण पेसासमेत छोडे। बीस वर्ष अगाडि उनले काठमाडौँको लगनखेल स्थित बालविद्या गृहमा इतिहास र भूगोल विषय पढाउने गर्थे। मानविकी सङ्कायमा स्नातक गरेका पाख्रिनले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउथे तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन। 

उनले भने, “फूलसँग रमाउने मेरो रुची हो। सानैदेखि फूल प्रति मेरो मोह नै छ। मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ। जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ।”

यसपछि पनि पाख्रिनले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएनन्। उनले छ वर्ष क्रिष्टल इन्स्टिच्युट कमलपोखरी काठमाडौँमा फोटो सम्बन्धि पढाए। यसले पनि उनको तिर्खा मेट्न सकेन। अन्ततः दुईवटा काम छोडेपछि पाख्रिनले आफूलाई चाहेको गन्तव्य पहिल्याएका हुन्। पुष्प किसान बन्ने निधो गरे। त्यसयता उनी फूलसँग नाता गासेर रमाइरहेका छन्। यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ। उनीहरुका दुई छोरी र दुई छोरा छन्। 

फूलको माग पुर्‍याउन धौधौ

पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन्। “फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन। १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ। चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन”, उनले भने।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ। फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ।  

रोजगारीको राम्रो अवसर 

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन्। जो अहिले व्यावसायिकरुपमा फूलखेती गरिरहेका छन्। पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन्। मौसमी रोजगारी धेरैले पाउने गरेको कामदार बताउँछन्। जसले खाली समय उपयोगसँगै आर्थिकरुपमा सबल बनाउन सहयोग पुगेको भीममाया रानामगर बताउँछिन्। 

“विगत तीन वर्षदेखि फूल गोडमेल, फूल टिप्ने, माला उन्ने, औषधि राख्नेलगायतको काम गर्दै आएका छौँ। घर खर्च, छोराछोरीको टिफिन खर्च आफैँले पुर्‍याउन सक्दा खुसी लाग्छ”, उनले भनिन्। भीममायासँगै सन्तमाया थापामगर, विसरा थापामगर, फूलमाया रानामगर, सीता सुवेदी, सुमित्रा भण्डारीलगायत पाख्रिनको फूलबारीमा काम गर्दै आएका छन्। उनीहरुलाई घरपरिवारको रोकटोक छैन। 

स्थानीय सीता सुवेदी भने उद्योग व्यवसाय धेरै भए मौसमी बेरोजगार बन्नुनपर्ने बताउछन्। तीन महिनादेखि पाख्रिनको फूलबारीमा काम गर्दै आएकी सुवेदीले अन्यबेला खाली बस्नुपर्ने गुनासो गरिन्। “आफ्नै लगानी गरेर केही गरुँ भने रकम छैन। केही व्यवसाय छन् तर बाह्रै महिना काम दिन सक्दैनन्। काम नपाएको समयमा खाली बस्नु पर्छ”, उनले भनिन्। 

फ्लोरी कल्चर एशोसिएशन चितवनका अनुसार जिल्लामा अहिले ३५ देखि ४० बिघामा सयपत्री फूलको खेती गरिएको छ। यसले जिल्लाको ८० प्रतिशत माग पूरा गर्ने फ्लोरी कल्चर एशोसिएशनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए। मखमली फूल भने कमै लगाइएको छ। जिल्लामा १२ जना व्यावसायिकरुपमा फूल खेती गर्दै आएका छन्। तिहार लक्षित पुष्पखेती गर्ने किसान गरी एक सय बढी रहेको श्रेष्ठको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.