आरजुले छाडेको क्षेत्रमा त्रिपक्षीय भिडन्त

आरजुले छाडेको क्षेत्रमा त्रिपक्षीय भिडन्त

धनगढी : प्रधानमन्त्री पत्नी आरजु देउवाले छाडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ त्रिपक्षीय भिडन्त हुने भएको छ। 

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनी राना र स्वतन्त्र उमेदवार पुस्कर नाथ ओझाका बीच त्रिपक्षीय भिडन्त हुने भएको हो।

कैलाली निर्वाचन क्षेत्र ५, सुदूरपश्चिमको राजधानी भएको क्षेत्र हो। धनगढी उपमहानगरपालिकाका पुरै (१९ वडा) र कैलारी गाउपालिकाका वडा नम्बर ६ र ९ गरी २ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन झण्डै दोब्बर मतले बलियो छ। 

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो। 

नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ। कांग्रेसले प्रधानमन्त्री पत्नी आरजु देउवालाई यसक्षेत्रबाट लडाउने प्रयास गरेपनि, कांग्रेस भित्रकै किचलोका कारण आरजुले समानुपातिक रोजेकी थिइन्। २०७४ सालको निर्वाचनमा आरजुले आफ्नै पार्टीको अन्तरघातका कारण पराजित हुनु परेको थियो। 

कैलाली ५ मा आरजुको उम्मेदवारी पछि असन्तुष्टि बढेको थियो। २०७० सालमा शेरबहादुर देउवाले जितेको स्थान पनि कैलाली ५ हो। 

देउवाले त्यतिबेला डडेल्धुरा र कैलाली ६ बाट चुनाव लडेका थिए। देउवाले दुबै निर्वाचन क्षेत्रबाट जितेपछि उनले कैलाली ६ छाडेका थिए। 

त्यतिबेला कैलालीमा ६ वटा निर्वाचन क्षेत्र थियो। २०७२ सालको संविधानले १६५ निर्वाचन क्षेत्र बनाएपछि कैलालीमा एक घटेर ५ निर्वाचन क्षेत्र भएका हुन्। 

२०७४ सालमा कांग्रेसले टिकट दिएका पुस्करनाथ ओझाले त्यो क्षेत्रमा उपचुनाव जितेका थिए। तर त्यसपछि आरजुले कैलाली ५ लाई आफ्नो चुनावका लागि सुरक्षित ठानिन्। 

२०७४ सालको निर्वाचनमा आरजु कैलाली ५ बाट चुनाव लडेर पराजित भइन्। आरजुलाई नेकपा एमाले नारदमुनी रानाले ४ हजार ८८० मतले पराजित गरे। 

रानाले २७ हजार २०२ मत ल्याउँदा आरजुले २२ हजार ३२२ मत पाइन्। कैलाली ५ कांग्रेसका बढी मतदाता भएको क्षेत्र हो। 
२०७४ सालको निर्वाचनमा आरजु पराजित भएपछि अन्तरघात गरेको भन्दै कारवाहीमा परेका पुस्करनाथ ओझ यसपाली स्वतन्त्र चुनाव लडेका छन्। 

ओझालाई २०७४ सालको निर्वाचन लगत्तै कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको थियो। ओझासँगै कारवाही गरिएका अरू धेरै नेता कार्यकर्ताको स्थानीय निर्वाचन २०७९ अघि नै कारवाही फुकुवा भएपनि ओझाको भने भएन। 

'मेरो उम्मेदवारी धनगढीको 'डिग्नीटी' का लागि हो। धनगढी बनाउनुपर्छ भनेर हो, कसैले मनपरी गर्न नपाओस भनेर हो,' ओझाले भने।

आरजुले गरेको विश्लेषणमा उनले यसपाली पनि धनगढी ५ सुरक्षित ठानिनन्। उनले समानुपातिक रोजेकी छिन्। 

तर उनले, आफ्नो क्षेत्रमा आफ्ना विश्वासपात्र डिल्लीराज पन्तलाई उठाएकी छिन्। पन्त, यसअघि कैलाली ५ (ख) बाट प्रदेश सभास सदस्य हुन्। सालिन स्वभावका पन्त भन्छन्, 'आफ्नो बुवाको कांग्रेसी विरासत र आफ्नो कांग्रेसमा गरिउको लगानी नै जित्ने आधार हो।'

पन्त मात्रै होइन आरजुले पन्तलाई प्रतिनिधि सभामा उठाएर, पन्तले २०७४ सालमा लडेको कैलाली ५ प्रदेश सभा ख सिटमा आफ्नै स्वकीय सचिव तथा भतिजा प्रकाश देउवालाई लडाएकी छिन्। 

जुन कुरा कांग्रेसीहरूलाई अझै मन परेको छैन। 'आरजु आफू नलडेपनि अहिलेका दुवै उमेदवार आरजुका प्रतिमूर्ति हुन् भनेर बुझेका छौं,' एकजना कांग्रेसी नेताले भने। 

२०७४ सालको निर्वाचनताका आरजुलाई कांग्रेसबाटै टुरिस्ट उमेदवारको आरोप लाग्यो। त्यसपछि उनले अढाई करोडमा धनगढीमा घर किनिन्। 

त्यसपछि उनको, यस क्षेत्रका सामाजिक काममा निरन्तरता रह्यो। गौरा पर्व मनाउनेदेखि अरू चाडबाडमा पनि आरजुले धनगढीलाई समय दिइन्। 

मनोनयनको केही महिनाअघि उनले आफू कैलाली ५ बाट चुनाव लडने घोषणा पनि गरिन्। तर अन्तमा आएर उनी 'ब्याक' भएकी हुन्। आरजुका कारण आफू विस्थापित हुने भयले कांग्रेसको एक तप्का अहिले पनि असन्तुष्ट छ।

२०७४ सालको निर्वाचनमा हराएको आरोप लागेर कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका पुस्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारी कांग्रेसका लागि नै घातक हुने अनुमान गरिन थालिएको छ। 

ओझा कैलाली ५ मा कांग्रेसका स्थापित नेता हुन्। २०७० सालको उपनिर्वाचनमा ओझा यस क्षेत्रबाट चुनाव जितेका थिए। डडेल्धुरा र त्यतिबेलाको कैलाली ६ बाट जितेका शेरबहादुर देउवाले यो क्षेत्र छोडेपछि ओझाले चुनाव जितेका हुन्। 

२०७४ सालमा प्रतिनिधि सभाका लागि प्रवल दाबेदार रहेका उनलाई, देउवा इतरको समूहमा रहेको भन्दै टिकटबाट बञ्चित गराइयो। पुस्करनाथको क्षेत्रमा आरजु आफैं टिकट ल्याएर चुनाव लडिन्। त्यतिबेलादेखि नै कांग्रेसमा आन्तरिक किचलो सुरु भएको हो। 

सत्ता गठबन्धनका पन्त र असन्तुष्ट कांग्रेसको बलमा उम्मेदवारी दिएका ओझा बीचको लडाइँको फाइदा एमालेका नारदमुनी रानालाई हुने देखिएको छ। 

२०७४ सालको निर्वाचनमा रानाले आरजु देउवालाई चार हजार ८८० मतले पराजित गरेका थिए। राना नेकपा एमालेका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज समेत हुन्। 

'कञ्चनपुरमा सुख्खा बन्दरगाह, कञ्चनपुरमै विषेश औद्योगिक क्षेत्र, कैलालीको गौरीफन्टा नाका, धनगढी-खुटीया सडक, हुलाकी राजमार्गजस्ता विकास निर्माणका काममा खटिएको जनताले देखेका छन्, मेरो जित्ने आधार त्यही हो,' रानाले भने। 

उनले राना थारू समुदायलाई आदवासीमा सूचीकृत गराउन पनि आफूले भूमिका खेलेको बताए। करिब ३५ हजारभन्दा माथि रहेको राना थारूको मतका कारण राना यसअघि पनि जितेका हुन्। 

पार्टीको मतका आधारमा यस क्षेत्रमा नेकपा एमाले दोस्रो स्थानमा रहेपनि उनलाई सामुदायिक भोट आउने गरेको छ। 'सत्ता गठबन्धन र स्वतन्त्रका बीचको लडाइँले रानालाई भरपुर फाइदा हुन्सक्छ,' एकजना विश्लेषक भन्छन्। 'ओझालाई मिलाउन नसक्नु कांग्रेसका लागि घातक हुन्सक्छ।'

हुन् त धनगढीको मतदाताको रुझान हरेक निर्वाचनमा फरक फरक देखिन्छ। धनगढी उपमहानगरपालिकामा भएका यसअघिका चुनावमा यहाँका मतादाताले एक पटक कांग्रेस, एक पटक एमालेका उम्मेदवार जिताउँदै आएका छन्। 

यसपटक भने स्वतन्त्र उमेदवार गोपाल हमाललाई भण्डै दोब्बर मतान्तरले जिताएका छन्। स्थानीय चुनावमा 'सिटिङ मेयर' कांग्रेसका नृपबहादुर ओडले १४ हजार ८१७ मत पाउँदा हमालले २६ हजार ५६५ मत मत पाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.