प्रदेशको सत्तामा पुरानैको नजर

प्रदेशको सत्तामा पुरानैको नजर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरको प्रदेशसभा ‘क’ मा उम्मेदवार छन्। सत्ता गठबन्धनबीचको सहमतिअनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रका सुदन किराँती उम्मेदवार बने। मुख्यमन्त्री राईको चाहना प्रदेश नै बन्यो। ‘भावी मुख्यमन्त्री’ भन्दै उनी निर्वाचन क्षेत्रमा भोट माग्न व्यस्त छन्। पार्टीले राजेन्द्रलाई भावी मुख्यमन्त्रीकै रूपमा उम्मेदवार बनाएको उनका राजनीतिक सल्लाहकार जीवन राई बताउँछन्।

पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की पनि प्रदेशसभामा दोहोरिन उम्मेदवार बनेका छन्। झापा–५ ‘ख’ का उम्मेदवार बनेका उनी पनि भावी मुख्यमन्त्रीका दाबेदार हुन्। शेरधन राई नेतृत्वको सरकारमा मन्त्री बनेका कार्की एमाले स्थायी समिति सदस्य हुन्। पूर्वसामाजिक विकासमन्त्री एवं एमाले केन्द्रीय सदस्य जीवन घिमिरे मोरङको–४ ‘ख’ मा उम्मेदवार छन्। एमाले–जसपा गठबन्धनका कारण उक्त क्षेत्रको प्रतिनिधिसभाको सिट जसपाको भागमा पर्‍यो। घिमिरे अन्तिम समयमा प्रदेशसभाकै लागि चुनावी मैदानमा उत्रिए।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीका दाबेदार हुन्। माओवादी केन्द्रका उनी पाँचथरको प्रदेशसभा ‘ख’ मा उम्मेदवार छन्। मुख्यमन्त्री बन्ने चाहना राख्दै इन्द्र प्रदेशसभामा दोहोरिएको नेताहरू बताउँछन्। माओवादीबाट इन्द्र नै मुख्यमन्त्रीको स्वाभाविक दाबेदार रहेको पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए।

कांग्रेसबाट भने मुख्यमन्त्रीका चार जना आकांक्षी छन्। निवर्तमान संसदीय दलका नेता राजीव कोइराला सुनसरी–२ ‘ख’ मा उम्मेदवार बनेका छन्। प्रतिनिधिसभामा सीताराम मेहताले टिकट पाएपछि कोइराला प्रदेशसभामै दोहोरिएका हुन्। प्रदेशसभाको पहिलो कार्यकालमै उनी मुख्यमन्त्रीको दाबेदार थिए। ‘माथि’ बाटै मुख्यमन्त्रीको आश्वासन पाएपछि भने यसपटक उनी प्रदेशसभामै दोहोरिएको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्। ‘पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने मुख्यमन्त्रीको दाबेदार म नै हुँ,’ उनी भन्छन्, ‘त्यसैकारण चुनाव जित्ने हिसाबले अघि बढिरहेको छु।’

कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल मोरङ – ५ ‘ख’ मा प्रदेशसभा उम्मेदवार छन्। पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्रीको आश्वासन दिएपछि अर्याल प्रदेशसभामा उम्मेदवार बनेको कांग्रेसका एक नेताले बताए। विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली मोरङ– ४ मा प्रतिनिधिसभा सदस्यमा उठ्न चाहन्थे। त्यो क्षेत्र पनि माओवादीको भाग पर्‍यो। पराजुलीले ४ ‘ख’ को टिकट पाए। मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा उम्मेदवार बनेको भन्दै उनले भोट मागिरहेका छन्। कांग्रेस नेता गुरुराज घिमिरे पनि क्षेत्र नम्बर ४ मा उम्मेदवार बन्न चाहन्थे। केन्द्रको टिकट नपाएपछि ४ ‘क’ मा उम्मेदवार बने। कांग्रेसबाट उनी पनि मुख्यमन्त्रीको दाबेदार रहेको नेताहरू बताउँछन्।

कांग्रेसभित्र अमृत संस्थापन अर्थात् देउवा पक्षधर हुन्। राजीव र गुरु संस्थापनइतर अर्थात् डा. शेखर कोइराला र भीम कृष्णप्रसाद सिटौला पक्षधर हुन्। कांग्रेसबाट ४, एमालेबाट २, एकीकृत समाजवादी र माओवादीबाट १–१ जना मुख्यमन्त्रीका आकांक्षी छन्।

कांग्रेसबाट यादव, जसपाबाट राउत र साह

२०७४ को निर्वाचनबाट मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) सबैभन्दा ठूलो दल बन्यो। अरू प्रदेशभन्दा भिन्न शक्ति समीकरणले मधेसमा पहिलो कार्यकाल जसपाले नै सत्ता चलायो। सरकारको नेतृत्व मोहम्मद लालबाबु राउत गद्दीले गरे। यसबीचमा अरू प्रदेशहरूमा मुख्यमन्त्री फेरबदल भइरहे। तर, मधेस प्रदेशमा भने सत्ता समीकरण मिलाएर राउत मुख्यमन्त्रीमा टिकिरहे।

मंसिर ४ को निर्वाचनका लागि मधेसमा दुईटा गठबन्धन आमने–सामने छन्। जसपा र नेकपा एमालेको गठबन्धन छ। जसमा जसपाकै प्रभाव देखिन्छ। कांग्रेसको नेतृत्वमा नेकपा माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धन छ। जसमा कांग्रेसको अवस्था बलियो हुने तय छ। तर, हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट कांग्रेसले मधेस प्रदेशमा राम्रो स्थान पाएको थियो।

कांग्रेसका तर्फबाट मधेस प्रदेश कमिटीका अध्यक्ष कृष्ण यादव मुख्यमन्त्री पदका प्रमुख दाबेदार छन्। यादव रौतहट– १ को (ख) मा उम्मेदवार छन्। जसपाका तर्फबाट भने वर्तमान मुख्यमन्त्री लालबाबु राउत मुख्यमन्त्रीका दाबेदार हुन। अर्थमन्त्री शैलेन्द्र साह पनि जसपाका तर्फबाट भावी सरकारको नेतृत्वका दाबेदार मानिन्छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ (१) मा साह प्रदेशसभातर्फ उम्मेदवार छन्।

आधा दर्जन नेता मैदानमा

बागमती प्रदेशमा मुख्यमन्त्रीको आकांक्षासहित आधा दर्जन नेता प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएका छन्। ६६ जना प्रत्यक्ष र ४४ जना समानुपातिक प्रणालीबाट प्रदेशसभामा निर्वाचित हुनेछन्। कांग्रेसबाट इन्द्र बानियाँ मुख्यमन्त्रीका मुख्य आकांक्षी छन्। उनी कांग्रेसको बागमती प्रदेश सभापति हुन। मकवानपुर २ (ख) मा उनी दोस्रो पटक निर्वाचन लड्दैछन्। ‘मुख्यमन्त्रीमा मेरो दाबी स्वाभाविक रहन्छ, उनले भने।
कांग्रेसको संस्थापन पक्षधर उनीसँगै नुवाकोटका बहादुर सिंह लामा पनि मुख्यमन्त्रीका दाबेदार हुन।

एमालेले आधिकारिक रूपमा कसैलाई पनि मुख्यमन्त्रीको रूपमा अघि सारेको छैन। तर बागमती प्रदेशमा सभामुख भइसकेका सानुकुमार श्रेष्ठ र प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलको मुख्यमन्त्रीमा चर्चा छ। काठमाडौं–२ (क) मा उम्मेदवार रहेका श्रेष्ठले पाँच वर्ष नै प्रदेशसभाको सभामुख बने। ‘म सभामुख भइसकेको मान्छे त्योभन्दा तल आउने कुरा भएन’, श्रेष्ठले भने, ‘तर पहिला चुनाव जित्नुपर्‍यो। पार्टीको बहुमत आउनुपर्‍यो। बाँकी कुरा पार्टीको निर्णयअनुसार अघि बढ्छु।’ काठमाडौं–३ (ख) बाट उम्मेदवार बनेका फुयाँलले आफूलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका छन्।

नेकपा माओवादीबाट मुख्यमन्त्रीको एक्ला आकांक्षी हुन्, शालिकराम जम्कट्टेल। ‘प्रदेश संसदीय दलको नेतृत्व गरेको र पार्टीले पनि सोहीअनुसार अघि बढाएको स्थिति छ’, उनले भने, ‘आवश्यक पर्दा म मुख्यमन्त्रीको जिम्मेवारी लिएर अघि बढ्न तयार छु।’ नेकपा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालको मुख्यमन्त्रीमा चर्चा छ।

गण्डकीमा मुख्यमन्त्रीका आकांक्षी

एमाले नेता खगराज अधिकारी यसपटक प्रदेशसभाको चुनाव लड्दैछन्। पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रतिनिधिसभा र अधिकारी प्रदेशसभा सदस्यमा लड्ने पार्टीको निर्णयदेखि नै अधिकारीलाई भावी मुख्यमन्त्रीका रूपमा हेर्न थालिएको छ। गृहमन्त्री, स्वास्थ्यमन्त्रीसमेत भइसकेका अधिकारी पार्टीको स्थायी समिति सदस्य हुन्। अधिकारी कास्की १ (क) मा उम्मेदवार छन्।

कांग्रेसका पाका र पुराना नेता शुक्रराज शर्माले प्रत्यक्ष निर्वाचन जितेका छैनन्। गण्डकी प्रदेशसभा सदस्यका लागि पार्टीको समानुपातिक सूचीको पहिलो नम्बरमा उनको नाम छ। शर्मा र अधिकारी गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभाको निर्वाचनमा होमिएका हुन्।

एमालेका अधिकारीले आफू नै मुख्यमन्त्री भनेर मुख खोलेका छैनन्। उनको पार्टीले मुख्यमन्त्रीको दाबेदार भनेरै चुनाव प्रचार गरेको छ। माओवादीका वरिष्ठ नेता हरिबहादुर चुमान भावी मुख्यमन्त्रीका आकांक्षी हुन्। कांग्रेससँगको गठबन्धनमा सरकार बनाउँदा माओवादीले पनि आलोपालोमा मुख्यमन्त्री चलाउन पाउनुपर्ने माओवादीको भनाइ छ। त्यसो हुँदा माओवादीले मुख्यमन्त्रीमा अघि सार्ने पात्र चुमान नै हुने देखिन्छ।
कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे पनि मुख्यमन्त्रीका दाबेदार हुन्। पाण्डे गोरखा २ (ख) मा चुनावी मैदानमा छन्। कास्कीका शुक्रराज शर्मासँग ५५ वर्ष कांग्रेसको राजनीति गरेको अनुभव छ। अहिले भने उनी केन्द्रीय सदस्य छैनन्। कास्की २ (ख)बाट प्रत्यक्ष उम्मेदवार बिन्दुकुमार थापाले समेत आफूलाई मुख्यमन्त्रीको दाबेदार बताएका छन्। तनहुँका ध्रुव वाग्ले कांग्रेसको समानुपातिक सूचीमा छन्। सभापति शेरबहादुर देउवा निकटस्थ वाग्ले पनि मुख्यमन्त्रीका दाबेदार हुन्।

लुम्बिनीमा आधा दर्जन

लुम्बिनीमा एमाले, कांग्रेस, माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेताहरू मुख्यमन्त्रीको दाबेदार मानिएका छन्। ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी लुम्बिनी प्रदेशसभामा ८७ सदस्य निर्वाचित हुन्छन्। कांग्रेसबाट कपिलवस्तु ३ (ख) बाट उम्मेदवार बनेका वीरेन्द्र कनोडिया भावी मुख्यमन्त्रीको मुख्य दाबेदार हुन्। कांग्रेसको निवर्तमान प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका उनको यसअघि पनि मुख्यमन्त्री बन्ने चर्चा थियो।

केन्द्रले प्रदेश सरकार हेरफेर नगर्ने भनेपछि उनी मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका थिए। कांग्रेसबाटै रूपन्देही–१ (ख) बाट उम्मेदवार बनेका अब्दुल रज्जाकलाई पनि भावी मुख्यमन्त्रीका रूपमा लिइएको छ। कांग्रेसका लुम्बिनी प्रदेश सभापति रहेका नेता अम्मरसिंह पुन पनि अर्का दाबेदार हुन्। उनी रोल्पाको (ख) प्रदेशसभाका उम्मेदवार हुन्। प्रदेशका पर्यटन विकास मन्त्री डिल्ली चौधरी पनि मुख्यमन्त्री बन्ने आकांक्षी देखिएका छन्।

एमालेबाट रूपन्देही क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेका पार्टीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज लीला गिरी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्। उनी यसअघि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए। एमालेबाटै रूपन्देही क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पार्टी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ दाबेदार हुन्।

माओवादी केन्द्रबाट प्रदेशका पूर्वसामाजिक विकास मन्त्रीसमेत भइसकेका सुदर्शन बराल उक्त पार्टीबाट प्रमुख दाबेदार हुन्। बराल गुल्मी–१ (क) बाट उम्मेदवार बनेका छन्। माओवादीबाटै रूपन्देही २ (ख) मा उम्मेदवार बनेका वामदेव क्षेत्री पनि मुख्यमन्त्रीका अर्का दाबेदार हुन्। उनी पूर्वप्रदेश योजना आयोगको उपाध्यक्ष हुन्।

कर्णालीमा ७ आकांक्षी

मुख्यमन्त्रीमा दोहोरिने आकांक्षासहित वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन्। कांग्रेसभित्र शाहीबाहेक मुख्यमन्त्रीका अरू दुई छन् दाबेदार छन्। जुम्ला प्रदेशसभा (क) बाट उम्मेदवार बनेका ललितजंग शाही पनि मुख्यमन्त्रीका आकांक्षी छन्। पार्टीको कर्णाली प्रदेश सभापति भएकाले पनि प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व पाउँदा आफू नै मुख्यमन्त्री बन्ने उनको दाबी छ। यस्तै जाजरकोटको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहलाई पनि भावी मुख्यमन्त्रीको रूपमा चर्चा गरिन्छ।

कर्णालीलाई आफ्नो आधार क्षेत्र दाबी गर्दै आएको माओवादीमा रुकुमपश्चिमको प्रदेशसभा (ख) का उम्मेदवार राजकुमार शर्मा र सुर्खेत क्षेत्र नं २ (ख) का विन्दमान विष्टलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ। माओवादीको कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष रहेका शर्मा माओवादी नेता जनार्दन शर्मा निकट हुन्। यस्तै यसअघि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका विष्ट मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन्। माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत निकट भएकाले पनि विष्ट नै भावी मुख्यमन्त्री बन्ने माओवादी स्रोतको दाबी छ।

यस्तै एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहलाई भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिएको छ।

सुदूरपश्चिममा १० दाबेदार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट ४, नेकपा एमालेबाट ३, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट १ गरी १० जना दाबेदार छन्। कांग्रेसको संसदीय दलका नेता डा. रणबहादुर रावलले यसअघि नै मुख्यमन्त्रीका लागि भरपूर कसरत गरे। तर सुदूरपश्चिमको नेतृत्व माओवादीले नछोडेपछि उनले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा चित्त बुझाए। ‘सुदूरपश्चिम माओवादीले नछोड्ने भनेपछि म ‘ब्याक’ भएको हो’ डा. रावलले भने, ‘तर अझै चुनाव जित्नु छ, मुख्यमन्त्री त्यसपछि सोच्ने कुरा हो।’ कांग्रेसबाटै डडेल्धुराका गोविन्दराज बोहरा पनि मुख्यमन्त्रीका दाबेदार हुन्।

२०७० सालको निर्वाचनमा कञ्चनपुर १ बाट प्रतिनिधिसभामा प्रचण्डकी बुहारी बिना मगरलाई पराजित गरेका दिवानसिंह विष्टलाई यसपालि कांग्रेसले कञ्चनपुर १ (१) बाट चुनाव लडाएको छ। ‘प्रतिनिधिसभा जितिसकेको व्यक्ति प्रदेशमा लडेको छु। पार्टीले मुख्यमन्त्री बन्नुपर्छ भनेकाले प्रदेशमा आएको हुँ’, उनले भने। कांग्रेसबाट कञ्चनपुर २ (ख) बाट प्रदेशसभामा उम्मेदवार बनेका बहादुरसिंह थापा पनि मुख्यमन्त्रीका दाबेदार हुन्।

एमालेबाट प्रदेशसभाको समानुपातिकमा पहिलो नम्बरमा परेका पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइन्चार्ज राजेन्द्रसिंह रावल मुख्यमन्त्रीका दाबेदार छन्। बाजुरा प्रदेशसभा (ख) बाट चुनाव लडेका लालबहादुर थापा भन्छन्, ‘पार्टीले प्रतिनिधिसभाको सांसदलाई प्रदेशमा लडाउनु भनेको मुख्यमन्त्रीको जिम्मेवारी दिनकै लागि हो।’ त्यसैगरी एमालेबाट पठानसिंह बोहरा र लीलाधर भट्टको नाम पनि चर्चामा छ। माओवादी केन्द्रबाट खगराज भट्ट र मानबहादुर धामी मुख्यमन्त्रीका दाबेदार हुन्।

किशोर बुढाथोकी/विराटनगर, मनिका झा /जनकपुरधाम, कृष्ण सारु मगर/हेटौंडा, केशवशरण लामिछाने/पोखरा, केशरराज क्षेत्री/ प्यूठान, ललितबहादुर बुढा/सुर्खेत, शिवराज भट्ट/धनगढी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.