मिथिलाञ्चलमा सांगीतिक पर्व सामा चकेवाको रौनक
महोत्तरी: गीत संगीतमा आधारित सामा चकेवा पर्व मिथिलाञ्चलमा गएरातिदेखि शुरु भएको छ। साँझको समयमा मिथिलानीहरूले समूहगत रुपमा गीत गाँउदै मनाउने यो पर्व छठपर्वको खरना अर्थात बिहीबार रातिदेखि शुरु भएको हो।
दिदीबहिनी एवम दाजुभाइबीचको अमर प्रेमको प्रतीक यो पर्व कातिक शुक्ल पुर्णिमासम्म चौवाटोमा जम्मा भई समूहगत रुपमा खेल्ने एक प्रकारको पर्व रहेको हो।
‘कौन भईया जेताह गंगा रे जमुना
बडका भईया जेता गंगा जमुना,
छोटका भईया लौता चिकनी माईट रे माई।।’
यस्तै भावपूर्ण गीतसंगीतमा झुम्दै दिदीबहिनीहरू रात्रिकालीन समयलाई मनोरञ्जनमय बनाउँदै आएको छ। त्यस्तै ग्रामिण भेगमा साँझदेखि मध्यरातसम्ममा महिलाले गाएका यस्ता लोकगीतले बस्तीमा एक अलगै रौनक छाएको छन्।
सामाचकेवा पर्वमा कुनै भगवानको पूजा नभई यसपर्वमा आफनै हातले कलात्मक ढंगले निर्मित सामा, चकेवा, चुगला लगायतका पात्रहरूलाई डालीमा राखी सामूहिक रुपमा गीत गाएर मनाउने पर्व हो। माटोले बनाएर पूजापाठ गर्ने र सामा नामक पात्र स्त्री र चकेवा नामक पात्र पुरुष रहेको औरहीकी गृहणी आरती कुमारीले बताईन।
मैथिली नारीहरूले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमबाट खिल्ली उडाएर रमाइलो गर्ने गर्दछन।
पान पान पान, भैईया मुहमे पान,
छाउर छाउर छाउर, चुगला मुहमे छाउर।
कात्तिक पूर्णिमासम्म मनाइने सामा चकेवा समूहगत रुपमा खेल्ने परम्परा अहिले महोत्तरीसहित तराई मधेशलगायत मिथिलाञ्चलको घरघरमा खेल्ने पर्व हो। कात्तिक पूर्णिमाको मध्यरातिमा सामापन हुने यो पर्व प्रत्येक दिन साँझदेखि मध्यरातिको समयसम्म घरघरका महिलाहरू चौवटीया (गाँउको खुल्ला स्थान) मा जम्मा भएर प्रत्येकले आआफनो डालामा माटोले निर्मित आर्कषक एवम कलात्मक सामा चकेवाको मुर्ति राखेर विभिन्न किसिमका लोकगीतहरू गाएर यो पर्व मनाईने गरेको गौशालाकी शिक्षिका सुनिता कुमारीको भनाइ छ।
वृदावनमे आईग लगेलै कोई न मिझावै हे,
हमरोके बडका भईया प्रभाकर भईया मिझावै हे।
सामा चकेवा बारेमा एक किवदन्ती छ। द्वापर युगमा भगवान कृष्णकी पुत्रीको नाम सामा थियो। भगवान कृष्णले आफ्नी छोरीलाई 'चरा' बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ। सामाकी नोकरानी डिहुलीले सामा वृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरूसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन्। भगवान कृष्ण आवेशमा आएर सामा र वृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिए ।
सामाको भाइ साम्बले यी विषयहरूमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे। तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरूलाई श्रापबाट मुक्त गरे । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन, उसका दाजुभाइ दीर्घायु हुने वरदान दिएकाले यो पर्व मनाउन थालिएको भविष्यपुराणमा उल्लेख गरिएको छ।
काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई 'सामा' र सोही सामालाई आगोमा पकाएमा त्यसलाई 'चकेवा' भन्ने संज्ञा दिएर बनाएका माटाका मूर्तिहरूको नै विशेष महत्व छ । यो पर्व मनाउन प्रत्येकले आआफना रंगीन डालामा सामा, चकेवाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया, वृन्दावन जङ्गल, झूठो कुरा लगाउने (चुगला)का साथै बनाइएका आकर्षक एवम कलात्मक मूर्तिहरू हुन्छन।
‘कातिके मास हो भईया सामा लेलक अवतार
सामा चकेवा खेलव गे वहिना भईया जीवह हजार’
यता भोजपुरी र मैथिली भाषामा निर्मित यस्ता गीतसंगीतहरूले मिथिलाञ्चल क्षेत्रलाई नै रोमाञ्चक बनाएका छन। अन्य पर्वहरूमा गाईने गीतसंगीतभन्दा पनि यस पर्वमा गाईने गीतसंगीतमा भने निक्कै नै फरक छ। यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीहरूले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशीष दिने खालका सामा गीत गाउने गरिन्छ। सोही क्रममा आफूलाई चाहिएका सरसामानहरू पनि गीतको माध्यमबाट सुनाउने प्रचलन छ।
पछिल्लो समयमा आएर तराई मधेश क्षेत्रमा जारी हिंसात्मक घटनाहरूको कारण त्रसित रहेको यसक्षेत्रका सामाजमा भने खुलेर पर्वतिहारहरू मनाउन नपाएको नेपाल कुशवाहा कल्याण सामाज गौशालाका अध्यक्ष गोपालसिंह कुशवाहाले बताउँछन्।
प्रायः महिलाहरूले मात्र साँझदेखि मध्यरातिसम्म मनाईने यस पर्वमा भने पछिल्लो समयमा आएर केही न केही रुपमा रौनकतामा कमी आएको अध्यक्ष कुशवाहाले महसुस गरेका छन। सामाजिक एवम सांस्कृति महत्व झल्किने यस्ता पर्वहरूको संरक्षण गर्न सबैले आआफनो स्थानबाट सहयोग गर्नुपर्ने उनले बताए ।
पछिल्लो समयमा यस क्षेत्रमा हुदै आएको यौनजन्य घटनाका गतिविधी लगायतका विभिन्न आतंकित घटनाहरूले त्रसित रहेको सामाजलाई परिवर्तन गर्नका लागि सम्बन्धित सरोकार निकायको ध्यान जानु अति नै आवश्यक रहेको गौशाला नगरपालिकाका नागेन्द्र साहले बताए ।
दाजुभाइले सामाचकेवा लगायतका पात्रहरूलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर सामापन गर्ने परम्परा छ। सामा चकेवा पर्व मनाउनका लागि मैथिलानि नारीहरू माइती जाने चलन छ। बाहिर रहेका दाजुभाइहरू समेत सामाचकेवाको पर्वमा घर फर्किने गर्दछन्।
सामा चकेवा पर्वको सामापन कातिक शुक्ल पुर्णिमा तिथीका दिन मध्यरातिमा एकैसाथ ग्रामिणको खुल्लाखेतमा गई सामा चकेवाको आकर्षक मुर्तिलाई विसर्जन गर्दै पर्व सामापन गर्ने गरिन्छ।
कोरोनाको कारण समयाअनुकुल नभएको कारण यो पर्व प्रायः ग्रामिणभेगमा सीमित हुँदै गएको छ।