प्रिय अतीत
अचानक
फूलका वासना जस्तै–
तिमीले चटक्कै बिर्सियौ कि
तर मसँग ताजै छ
हाम्रो आँखाका भाका र हाँसोहरू
देखिन्छ यतै कतै
तिमीले छाडेर हिँडेका पाइतालाका डोब
र हर्दम आइरहन्छ तिम्रो सुगन्धित वासना
मोहित पारिरहन्छ
मौन उदासी रातमा– प्रिय अतीत ।
यत्तिबेला
प्रेमको सागर उर्लिएको छ ममा
पगाल, तिम्रो बरफका मन
गरौंला स्पर्श शब्दका नीरब कोलाहलले
फर्कौंला पहिलेकै समयमा
एकैछिन भए पनि हराउन सकौं
भुलेर सबथोक सुकुमारी– प्रिय अतीत ।