तस्बिरमा हेर्नुहोस मधेशमा छठको तयारी
जनकपुरधाम: अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपुर्ण मुल पर्व छठको तयारी जनकपुरधामसहित तराई मधेशका जिल्लामा शुरु भएको छ ।
तराई मधेशको मुख्य पर्वमध्ये महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा छठको तयारी जनकपुरधामसहित तराई मधेशका जिल्लामा शुरु भएको हो ।
नियम निष्ठाका साथ मनाइने सांस्कृतिक पर्व छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण अहिले व्यस्त छन् । बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्रीलगायत छठ पर्वमा आवश्यक पर्ने नरिवल, सख्खर, उख्खु किनमेल गर्न सर्वसाधारण व्यस्त देखिन्छन् ।
मुख्यतः सन्तान प्राप्ति, रोगनिदान र पारिवारिक कल्याणका लागि मनाईने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरधामको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्नीकुण्ड, रत्नसागर, बाल्मीकि सर लगायतका दर्जनौ पोखरी र सरोवरहरुलाई बिभिन्न संघसंस्था र युवा क्लबले सरसफाई गरी बिजुली, पण्डाललगायतका व्यवस्था मिलाउन थालेको महाबीर युवा समतिका महासचिव राज भगत (प्रदीप) ले बताए ।
चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुनेछ । छठ पर्व व्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल गायतका खाद्यबस्तुहरु अनिर्वाय रुपमा बार्ने चलन रहेको मधेश प्रज्ञा प्रतिष्ठानका उपकूलपति रामभरोष कापडी ‘भ्रमर’ बताउँछन् ।
मधेशी समुदायका बीचमा मनाईदै आएको यो महत्वपूर्ण छठ पर्व केही वर्ष यता पहाडी समुदायमा लोकप्रिय हुँदै गएको छ । प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै नेपाली समुदायका महिलासमेत छठ पर्व मनाउन थालेको बर्दिबासकी रीता लामा बताउँछिन् ।