वारि खेत पारी बजार, आउजाउ गर्न पुलकै अभाव
टीकापुर : अधिकांश टीकापुरवासीको खेत छ, बर्दियाको दौलतपुरमा। खेतीपाती गर्नदेखि अन्नबाली भिœयाउन टीकापुरवासीहरू दौलतपुर पुग्नैपर्छ। दौलतपुरवासी पनि किनमेल गर्न टीकापुर पुग्नैपर्छ। उनीहरूको नजिकको व्यापारस्थल भनेकै टीकापुर हो। दौलतपुर बर्दिया जिल्लामा पर्छ, जुन लुम्बिनी प्रदेशअन्तर्गत छ। टीकापुर सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको सहर हो। दुवैतिरका बासिन्दाबीच घनिष्ट र आत्मीय सम्बन्ध छ। तर साझा समस्या छ, कर्णालीमा पुलको अभाव।
कर्णाली नदीको दौलतपुर घाटमा पक्की पुल नहुँदा टीकापुरवासी र दौलतपुरवासीले वर्षौंदेखि साझा समस्या झेलिरहेका छन। पुल नहुँदा जोखिमपूर्ण डुंगाको यात्रा गर्न बाध्य छन्। ‘हिउँदमा त कर्णाली नदीमा पानी कम हुन्छ, डर लाग्दैन, टीकापुर– ५ का मीना चौधरीले भने, ‘बर्खाको बेला डुंगामा चढ्दा सातो जान्छ। तर के गर्नु ? जन्मेदेखि नै यो समस्या झेलिरहेका छौं।’
टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो। दौलतपुरघाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन्।
‘भात खाने खेत नै राजापुरको दौलतपुरमा छ,’ टीकापुरका खेम धमलाले भने, ‘खेतीपती गर्न, धानबाली भित्र्याउन दिनमै तीन-चार पटकसम्म ओहोरदोहोर गर्नुपर्छ। तर पुल नहुँदा ज्यान जोखिममै राखेर ओहोरदोहोर गर्छौं।’
बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो। टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन्। दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन्।
कर्णाली नदीमा तीव्र बहावका कारण बेलाबेलामा डुंगाहरू दुर्घटनामा पर्ने गर्छन्। ‘दुई वर्षअघि स्टिमरमा समस्या आउँदा मुस्किलले डुंगा पार लगाएको थिएँ,’ ३३ वर्षदेखि डुंगा सञ्चालन गर्दै आएका गौरी चौधरीले भने, ‘कोही बिरामी भयो भने राति टर्चलाइट बालेरै भए पनि नदी तार्नुपर्छ।’
दुवैतिरका स्थानीयवासीहरूले दौलतपुर घाटमा पक्की पुलको माग गरेको वर्षाैं भयो। तर सुनुवाइ भएको छैन। पुल संघर्ष समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकाय धाए पनि काम नभएको भन्दै गुनासो पोखे। ‘सबैले पहल भइरहेको छ भन्छन्, तर काम केही भएको छैन,’ साउदले भने, ‘हाम्रो कुरा कसले सुन्ने ? अब त आशा पनि मरिसक्यो।’