कर छुट गरी उद्योगलाई बाच्ने वातावरण बनाउन माग

कर छुट गरी उद्योगलाई बाच्ने वातावरण बनाउन माग

भक्तपुर : भक्तपुरका इँटा उद्योगीहरूले इँटाभटामा स्थानीय सरकारबाट लगाउने करमा छुट दिन अनुरोध गरेका छन्। 

यो वर्ष व्यवसाय नै बन्द गर्नुपर्ने जस्तो गम्भीर संकट आएकाले कर छुट गरी उद्योगलाई बाच्ने वातावरण बनाउन उनीहरूले नगरपालिकाहरूसँग अनुरोध गरेका हुन्। 

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अनुसार जिल्लाभरिमा गत वर्ष ६२ वटा इँटाभटाहरू सञ्चालित थिए। तर यो वर्ष झण्डै आधाजसो इँटाभटाहरू बन्द हुने अवस्थामा पुगेको जनाइएको छ। 

गत वर्षकै इँटा बिक्री हुन बाँकी रहेकाले पुँजी अभावमा इँटा उद्योग बन्द हुने क्रममा पुगेको उद्योगीहरूले बताएका हुन्। 

'लगानी सबै इँटामा परेको छ, जुन बिक्री नभएर गोदाममै थाँती परेको छ, उनीहरूको सामूहिक भनाइ छ, 'यो वर्ष पनि सञ्चालन गर्न पैसा त चाहियो, त्यही कारण यो वर्ष आधाआधी इँटाभटा चलाउन नसक्ने अवस्था आएको छ।' 

जिल्लामा प्रत्येक वर्ष सबै इँटाभटाहरूबाट गरेर २० करोड इँटाहरू उत्पादन हुने तथ्यांक छ। यसहिसाबले अझै १० करोड इँटाहरू बिक्री हुन बाँकी छन्। 

जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक गरी चारवटा नगरपालिका छन्। 

तीमध्ये इँटाभटा भने चाँगुनारायण र सूर्यविनायक दुई वटा मात्रै नगरपालिकामा छन्। भक्तपुर र मध्यपुर थिमि दुई वटा पुराना नगरपालिकाहरूमा खुला ठाउँको अभावमा त्यहाँ इँटाभटाहरू छैनन्। 

चाँगुनारायण नगरपालिकाले एउटा सिजनमा एउटा इँटाभटाबाट सात लाख रुपैयाँ कर उठाउँदै आएको छ। यसअघि यी दुवै नगरपालिकाहरू नबनी गाविस रहँदा उद्योगीहरूले तत्कालीन जिल्ला विकास समितिलाई एक सिजनमा ५० हजार रुपैयाँ तिर्थे। 

तर २०७४ सालको स्थानीय निकायको निर्वाचनसँगै नगरपालिकाले प्रति इँटाभटा एक सिजनमा ५० हजारबाट बढाएर एकैपटक तीन लाख लिए। यही बीचमा तीन लाखबाट बढाएर पाँच लाख हुँदै पछिल्लो सिजनसम्ममा प्रति इँटाभटा सात लाख लिएका थिए। 

भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले यो वर्ष यति धेरै कर नगरपालिकाहरूलाई तिर्न नसकिने बताए। 

'त्यसै त हामी आधा उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौं, उनले भने, त्यसमाथि यति धेरै कर तिरेर हामी चलाउन सक्ने अवस्थामा छैनौं।' त्यही कारण यो वर्ष विशेष छुट दिन उनले नगरपालिकाहरूसँग अनुरोध गरे। 

उनका अनुसार उपत्यका बाहिरका कति ठाउँमा इँटा उद्योगीहरूसँग कर नै लिएका छैनन् भने लिएका कति ठाउँहरूमा पनि प्रतिइँटा उद्योग एक सिजनमा पाँच दस हजारमै सीमित छ। 

भक्तपुरमा मात्रै नभई देशैभर इँटाभटाको मौसम मंसिरबाट सुरु हुने गर्दछ। इँटाभटा चलाउने कि नचलाउने भने दोधारमा रहेर अहिले इँटाभटाको सिजन सुरु भएको छैन। 

काठमाडौं उपत्यकामा धान काटन सकेसँगै ती खेतहरूका ठाउँठाउँमा धमाधम काँचो इँटा पार्ने काम सुरु भएका हुन्छन्। तर यो वर्ष सुरु हुन सकेको छैन। 

यो वर्ष आधा उद्योगहरूले माघ १ गतेदेखि मात्रै इँटा पोल्न सुरु गर्ने तालिका बनाइएका छन्। साथै इँटा पोल्न बन्द गर्ने समय पनि यो वर्ष छिटै गरेर चैतमै टुंगाउने तालिका बनाइएको छ। 

नभए अरू वर्षहरूमा भए जेठसम्म इँटा पोल्ने काम हुन्छ। यस हिसाबले आधा इँटा उद्योगहरू चल्ने र चलेका उद्योगहरूबाट पनि अन्य वर्षहरूमा भन्दा आधा कम मात्रै इँटा उत्पादन गर्ने योजना संघले राखेको छ।  

काँचो इँटा पुग्ने मात्रामा भएपछि इँटाभटामा आगो लगाई पोल्ने काम सुरु हुन्छ। इँटाको यो मौसम अहिलेदेखि वैशाख महिनासम्म चल्ने गर्दछ। वैशाखपछि भने ती इँटा पार्ने खल (खाल) हरूमा असारमा धान रोपिने गर्दछन्।  

एउटै इँटाभटाका लागि पनि सयौं इँटा पार्ने परिवार संलग्न हुन्छन्। यस हिसाबले अहिले यहाँका इँटाभटामा हजारौं परिवार इँटा पार्ने काममा संलग्न हुन्छन्। 

इँटा पार्न उपत्यका नजिकका काभ्रे, रामेछाप, सिन्धुलीलगायत दाग, रोल्पा, रुकुमलगायतका देशभरबाट मजदुर इँटाभटामा आएका हुन्छन्। 

इँटाभटामा नेपालीका साथै चिम्नीमा बस्न भारतीय नागरिकहरू पनि आउने गर्दछन्। जिल्लाभरिमा झण्डै तीन हजार भारतीय नागरिक आउने गरेको तथ्यांक छ। 

भारतीय मजदुरहरू विशेष गरेर इँटाभट्टामा इँटा पोल्ने, पोलिसकेको इँटा बजारमा पठाउनका लागि इँटाभट्टाबाट बाहिर निकाल्ने र बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन्। 

काममा आउने सबैजना स्थानीयस्तरमै काँचो इँटाबाट अस्थायी टहरा (छाप्रो) बनाइ मौसमी काम गर्ने ठाउँमै बस्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.