काठमाडौं-१ मा कांग्रेस, एमाले र राप्रपाको टक्कर, कम छैनन् खरेल, पुकारलाई बालेनको समर्थन

काठमाडौं-१ मा कांग्रेस, एमाले र राप्रपाको टक्कर, कम छैनन् खरेल, पुकारलाई बालेनको समर्थन

काठमाडौं: आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई चासोका साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा हेबीवेट मानिएका नेपाली कांग्रेसका प्रकाशमान सिंहदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले केन्द्रीय सदस्य किरण पौडेललगायत चुनावी मैदानमा छन् । 

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं-१ मा ३१ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । ३५ वर्षीय सामाजिक अभियन्ता पुकार बमदेखि पूर्वप्रहरी नायव महानिरीक्षक(डीआइजी) रमेश खरेलसम्मले काठमाडौं क्षेत्र नम्बर-१बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगको अद्यावधिक तथ्याकं अनुसार यो पटक ४५ हजार १८ मतदाता काठमाडौं-१ मा छन् । २०७४ सालको निर्वाचनमा ४२ हजार ४३० मतदाता रहेकोमा यो निर्वाचनमा २ हजार ५८८ मतदाता थपिएको आयोगको तथ्यांकमा उल्लेख छ । 

निर्वाचन आयोगको तथ्याकं हेर्दा अधिकांश २० देखि ४० वर्ष उमेर समुहका मतदाता यो निर्वाचन क्षेत्रमा थपिएका छन् । 

सत्ता गठबन्धन तथा बिगतदेखिको बिरासतले यो निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंह बलिया उम्मेदवार मानिन्छन् । सिंह २०६४, २०७० र २०७४ को निर्वाचनमा काठमाडौं-१ बाटै विजयी भएका थिए । सिंह २०४८ र २०५१ सालको आम निर्वाचनमा भने सिंह पराजित भएका थिए ।

२०७४ सालको निर्वाचनमा सिंहले १० हजार ९३६ मत ल्याउँदा तत्कालीन विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार ११८ मत ल्याएका थिए । ८१८ को झिनो मतान्तरले सिंहले मिश्रलाई हराएका थिए । त्यो बेला सत्ता गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा माओवादी केन्द्रका अनीलराज शर्माले ५ हजार ३३६ मत प्राप्त गरेका थिए । चौथो मत पाउने नेकपा मालेका उपेन्द्रराज शर्मा काफ्ले थिए । 

०७४ को निर्वाचनमा काठमाडौं-१ मा ४२ हजार ४३० मतदाता थिए । जसमध्ये २८ हजार २७५ मत खसेको थियो । त्यसबेला २२ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । 

अहिले काठमाडौं-१ मा बलियो उम्मेदवार दरिएका प्रकाशमान नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा हुन् । विक्रम संवत २०१२ मा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका प्रकाशमानले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।

प्रकाशमान कांग्रेसको पारिवारिक विरासतबाट राजनीतिबाट आए पनि उनलाई पार्टीमा दुःख गर्नसक्ने र कार्यकर्ताको भावना बुझ्न सक्ने नेताका रुपमा लिने गरिन्छ । प्रकाशमान कांग्रेसको काठमाडौं जिल्ला सचिव सभापति हुँदै केन्द्रीय सदस्य बनेर उपसभापति भएका हुन् । उनी २०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला सभापति भएका थिए । प्रकाशमान संघीय मामिला तथा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भइसकेका छन् । सांगठनिक भोट धेरै भएको क्षेत्रका कारण पनि सिंहको मत बढी आउने कांग्रेसजनको आँकलन छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडा अध्यक्षले पाएको मतको मात्र आँकलन गर्दा कांग्रेसको मत धेरै छ । कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले पाएको मत ९ हजार ८९५ छ । त्यस्तै एमालेका वडाअध्यक्ष उम्मेदवारले ९ हजार ५४१ मत पाएका छन् । 

यो निर्वाचन क्षेत्र स्वर्गीय मदन भण्डारीले विजयी हासिल गरेको क्षेत्र पनि हो । राष्ट्रपति विद्या भण्डारी, लोकप्रिय मानिएका प्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको निर्वाचन क्षेत्र हो । यसरी चर्चित नेता नेतृले नेतृत्व गरेको क्षेत्र भएकाले पनि काठमाडौं क्षेत्र नम्बर-१ को चुनावी सरगर्मी रोचक हुने विश्लेषण हुने गरेको छ।

कांग्रेसका उपसभापतिसँग भिड्न नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । युवामाझ प्रिय पौडेल एमालेका केन्द्रीय सदस्य हुन् । युवा स‌ंघको पूर्वअध्यक्षसमेत रहेका उनलाई युवापुस्ताको मतले अघि बढाउने एमाले पक्षधरको विश्लेषण छ । नवलपरासी स्थायी घर भएका उनी संगठन परिचालनमा पनि सक्रिय छन् । एमाले अध्यक्ष ओली निकटका पौडेललाई एमालेको सांगठनिक मतले न्याय गर्ने आँकलन गरिएको छ । 

गत निर्वाचनमा कम मतान्तरले पराजित भएका नेता रवीन्द्र मिश्र पनि यसपटक कडा टक्करसहित चुनावी मैदानमा छन् । दैनिक चुनावी सभा तथा कार्यक्रममा व्यस्त उनी विचारभन्दा माथि मेरो देश भन्ने नारासहित मतदातासँग भोट माग्दै छन् । 

लामो समय पत्रकारिता गरेर साझा पार्टी गठन गर्दै राजनीतिमा प्रवेश गरेका मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष बनेर चुनावी मैदानमा होमिएका छन् । भोट नबाँडियोस भन्दै उनी सामाजिक सञ्जाललाई पनि धेरै क्रियाशील बनाएर मत मागिरहेका छन् । 

स्थीर राजनीति गर्न नसकेको आरोप खेप्दै आएका मिश्र नेपालमा पुराना राजनीतिक दलले देशलाई अस्थिरताबाट बाहिर ल्याउन नसक्ने भएकोले वैकल्पिक शक्तिको आवश्यकता भएकाले जनताले नै नयाँ विकल्प खोज्नुपर्ने बताउँछन् । गत निर्वाचनमा पाएको मत के हुने भन्ने यकीन भन्न नसकिए पनि काठमाडौं-१ मा रवीन्द्र मिश्र बलियो उम्मेदवारका रुपमा देखिने गरेका छन् ।

मिश्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले चुनौती थप्ने देखिन्छ । संसदीय चुनाव घोषणा नहुँदै बमले काठमाडौं- १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । शुरुमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । बमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पनि समर्थन छ । 

०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई नि:शुल्क खाना र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीलाई अक्सिजन वितरण अभियानमा बम सक्रिय भएर लागेका थिए।
 
२०६९ माघमा शुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, नेताज्यू खबरदार, जस्ता राजनीतिक अभियानमा पनि उनी सहभागी थिए । बम कोरोना महामारीमा सरकार गम्भीर नबनेको भन्दै १२ दिनसम्म आमरण अनसन बसेका थिए।
 
नेपाल सुशासन पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेका पूर्वडीआइजी रमेश खरेल पनि यहि निर्वाचन क्षेत्रबाटै चुनावी मैदानमा छन् । गत मंसिर २४ मा पार्टी गठन गरेका खरेल भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा छन् । सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक बनाएपछि खरेलले २०७४ चैत २८ मा डीआइजी पदबाट राजीनामा दिएका थिए। प्रहरीमा हुँदा आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको तथा निडर सुरक्षाकर्मीको छवी बनाएका उनलाई जनताले माया गर्ने खरेल निकटका बताउँछन् ।

अहिले दल र उम्मेदवारले घरदैलोसहित चुनावी कार्यक्रमले यो निर्वाचन क्षेत्र निर्वाचनको माहौलमा देखिन्छ । मतदाताले पनि बिगतलाई सम्झिँदै उम्मेदवारको काम र उनीहरूले तयार पारेको चुनावी घोषणापत्र र कार्यान्वयनको प्रतिबद्धतालाई आधार मानेर मतदान गर्ने बताउँदै आएका छन् ।

यस्तो छ अंक गणित
निर्वाचन आयोगको अद्यावधिक तथ्यांक अनुसार काठमाडौं-१ मा आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या ४५ हजार १८ छ ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरु १०, ११, २९ र ३१ पर्दछन् । पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भिमसेनगोला, भोटेबहाललगायतका क्षेत्र यो निर्वाचन क्षेत्रमा छन् । 

गत स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगर वडा नम्बर १० मा कांग्रेसका रामकुमार केसी, ११ मा कांग्रेसकै हीरालाल तण्डुकार, २९ मा कुश ढकाल र ३१ मा एमालेका सरोज ढकाल निर्वाचित भएका थिए । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडा अध्यक्षले पाएको मतको मात्र आँकलन गर्दा कांग्रेसको मत धेरै छ । कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले पाएको मत ९ हजार ८९५ छ । त्यस्तै एमालेका वडाअध्यक्ष उम्मेदवारले ९ हजार ५४१ मत पाएका छन् । माओवादी केन्द्रकाले १ हजार १५९, राप्रपाको १ हजार ३७६, विवकशील साझाको २७३, स्वतन्त्र उम्मेदवारको १०१ र अन्य दलका उम्मेदवारको १०९ मत पाएका थिए।

अहिले दल र उम्मेदवारले घरदैलोसहित चुनावी कार्यक्रमले यो निर्वाचन क्षेत्र निर्वाचनको माहौलमा देखिन्छ । मतदाताले पनि बिगतलाई सम्झिँदै उम्मेदवारको काम र उनीहरूले तयार पारेको चुनावी घोषणापत्र र कार्यान्वयनको प्रतिबद्धतालाई आधार मानेर मतदान गर्ने बताउँदै आएका छन् । 

निर्वाचनमा को विजयी हुन्छ त्यो भने मतपरिणाम नै कुर्नुपर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.