जनकपुरधाममा छठको उल्लास (फोटोफिचर)
जनकपुरधाम : धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ अन्तर्गत आज अस्ताउदो सूर्यलाई अर्घ दिइने भएको छ।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ अन्तर्गत आज 'सझुका अर्घ' दिइने भएको छ।
पछिल्लो समयमा छठ तराई मधेश मात्र नभई देशकै महत्वपुर्ण पर्वका रूपमा परिचित हुँदै राजधानी काठमाडौंमा समेत भव्यतापूर्वक मनाइँदैछ।
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई 'नहाय-खाय' भन्ने गरिन्छ।
खासगरी महिलाहरूले मनाउने यस छठ पर्वमा छठ पर्व प्रारम्भ भएसँगै चोखो चनाखो भएर सम्पुर्ण विधिहरू गर्नुपर्ने मान्यता रही आएको जनकपुर उपमहानगरपालिका-१४ बस्ने सुनिता सिंह महतो बताउँछिन्।
छठ पर्वको दोस्रो दिन 'खरना' विधिको तयारी गरिन्छ। समाजिक सद्भाव एवं उल्लासको पर्व छठको दोस्रो दिन ब्रतालुहरूले रातिमा मिठा (सख्खर) मा बनाइएको खीर खाएको विधिलाई 'खरना' भन्ने गरिन्छ।
भगवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटाको हात्ती, ढकनी, चढाउने परम्परा छ।
छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा छ।
तराई मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात 'सझुका अर्घ' भनिन्छ। पोखरी, इनार, तलाउ, नदी आदि ठाउँमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ।
बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई 'भोरका अर्घ' भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ विधिवत् रूपमा सम्पन्न हुन्छ।
तराई मधेसको जिल्लाहरूमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा रहेको छ। दुवै छठ पर्वको हिन्दू धर्ममा विशेष महत्व रहेको साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल बताउँछन्।
तथापि चैते छठभन्दा कार्तिक छठ मनाउनेको संख्या अत्यधिक मात्रामा हुने गंगासागर पोखरी अभियान एवं सांसद रामअशिष यादवको भनाइ छ।