पाकिस्तानका निर्वाचन आयुक्तविरुद्ध दस अर्ब रुपैयाँको मानहानी मुद्दा हाल्छु : इमरान खान
इस्लामाबाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले निर्वाचन आयुक्तविरुद्ध दस अर्ब रुपैयाँ बराबरको मानहानी मुद्दा हाल्ने बताएका छन्। सोमबार 'आजादी मार्च'लाई सम्बोधन गर्दै उनले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाविरुद्ध मानहानी मुद्दा दायर गर्ने बताए।
'प्रमुख निर्वाचन आयुक्तले मेरो प्रतिष्ठामा आँच पुर्याएका छन्। म उनीविरुद्ध दस अर्ब रुपैयाँको मानहानी मुद्दा अदालतमा दायर गर्नेछु,' उनले भने। उनले उक्त रकम शौकत खानम मेमोरियल क्यान्सर अस्पताललाई दिने बताए। यो अस्पतालले ७५ प्रतिशत बिरामीलाई निशुल्क उपचार गर्दै आएको छ।
'सुल्तान राजाले मेरो प्रतिष्ठाको खराब गरेर कल्याणकारी परियोजनालाई नोक्सान पुर्याउने कोसिस गरेको छ। र, मेरो इमान्दारीप्रति प्रश्न उठाएको छ। त्यसैले म उनलाई अदालतसम्म लैजान चाहन्छु,' उनले भने।
उनले उक्त क्यान्सर अस्पताल काराचीमा पनि स्थापना गरे वाचा गरे। उनले अल-कादिर विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि निशुल्क शिक्षा दिनुपर्ने बताए।
प्रमुख निर्वाचन आयुक्तले गत २१ अक्टुबरमा इमरान खानको संसद सदस्यता खारेज गर्दै पाँच वर्षसम्म निर्वाचन लड्न नपाउने निर्णय गरेको थियो।