नवलपरासीमा डुंगा पल्टिँदा ३ युवाको मृत्यु, २ अचेत
परासी : नवलपरासीको सुस्ताबाट फर्कदै गरेको डुंगा पल्टिदा सोमबार साँझ तीन युवाको मृत्यु भएको छ। दुई जना अचेत छन्।
मृत्यु हुनेमा २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र अर्का १८ वर्षीय रञ्जित गुप्ता रहेको डिएसपी पाण्डेले जानकारी दिए।
सुस्ता गाउँपालिका-४ गोकुल नगरबाट उनीहरू पिकनिक खान गएका थिए। मृत्यु हुने र अचेत अवस्थामा रहेका सबै गोकुल नगरकै हुन्।
पिकनिक खाएर फर्किने क्रममा नारायणी नदीमा अकस्मात डुंगा पल्टिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए।
पिकनिक खान सात जना गएपनि फर्कदा पाँच जना मात्रै फर्केका थिए।
डुंगा डुबेपछि तत्कालै स्थानीय र प्रहरीको टोलीले उद्दार गरेर उनीहरूलाई अस्पताल पुर्याएको थियो। अचेत अवस्थामा रहेका पाँच जनामध्ये तीन जनाको अस्पतालमा पुर्याएको केही समयमै मृत्यु भएको थियो।
अचेत अवस्थामा रहेका २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।
घटना साँझ ७ बजे भएको हो। साँझको समयमा छाल आएर डुंगा पल्टिएको अनुमान प्रहरीको छ। डुंगा कस्ले खियाएर ल्याएको हो भन्नेमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
नारायणी नदीमा पुल नहुँदा सुस्ता जानका लागि जोखिमपूर्ण डुंगाको यात्रा गर्न स्थानीयहरू बाध्य छन्।