प्रचण्ड–बाबुरामको झुटको खेती !
करिब ७ वर्षको सम्बन्धविच्छेदपछि एउटै घरमा आएका पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले फेरि गोरखाबाटै झुटको खेती सुरु गरेका छन्। आफू अन्तिमपटक निर्वाचनमा होमिन लागेको भनेर मत माग्दै हिँड्न थालेका बाबुराम एकाएक निर्वाचनको मैदानबाट भागेर प्रचण्डसँग आरक्षित भएर बस्न पुगे। विगतमा प्रचण्डमाथि विभिन्न आरोप प्रत्यारोप लगाएका बाबुरामले बिनाशरम त्यस्ता आरोप फिर्ता लिएको भनेर आफ्नो बोलीसमेत सच्याइसकेका छन्।
राजनीतिमा लाज, शरम, घृणा भन्ने कुरा हुँदै हुँदैन भन्ने कुरा फेरि यी दुईको आकस्मिक मिलनले देखाएको छ। बाबुरामले प्रचण्डलाई हात समाइसमाइ गोरखा पुर्याएर गोर्खाली जनतामाथि विश्वास घात गरेका छन्। हुन त यो उनको कुनै योजनाबद्ध निर्णय होइन। प्रचण्डको स्वार्थ पूरा गर्न उनको ललिपपमा बाबुराम फसेका हुन्। प्रचण्डलाई राजनीतिक रूपमा सफल बनाउन बाबुरामले धेरै पटक भूमिका खेलिसकेका थिए। बीचमा उनी आफैं प्रचण्डभन्दा अगाडि आउन अनेकौं बाटा प्रयोग गरे।
अन्ततः त्यसमा उनी सफल हुन नसकेपछि बाबुराम हतास भएर आफ्नो सुरक्षित राजनीतिक अवतरण गराउन हिजो प्रचण्डमाथि लगाएका आरोप प्रत्यारोपलाई एकाएक किनारा लगाए। अनि प्रचण्डको पक्षपोषण गर्दै उनकै चुनावी अभियानमा काँधमा काँध मिलाएर गाउँगाउँ पुगेका छन्। प्रचण्ड बाबुरामका बीचमा के के आन्तरिक सहमति भएका छन् ? त्यो बाहिर आएको कुरा होइन। तर बाबुरामलाई प्रचण्डले आगामी राष्ट्रपति या पार्टी एकता र त्यसपछिको अध्यक्षको प्रस्ताव गरेर नै उनको निर्वाचन क्षेत्रमा आफूले कब्जा गरेका हुन् भनेर बुझ्न सकिन्छ।
यता काठमाडौं ७ मा छोरी मानुषीलाई टिकट मिलाउनकै लागि बाबुरामले माओवादीसँग बार्गेनिङ गरेर बरु आफूले आफ्नो निर्वाचन क्षेत्र छोडेका हुन् भन्ने पनि छ। १ सय ६५ निर्वाचन क्षेत्रमा बाबुरामले आफ्नै निर्वाचन क्षेत्र छोड्नै पर्ने बाध्यता पनि नहुन सक्थ्यो। यो प्रचण्डको बाबुराममाथिको आक्रमण नै हो। बाबुराम त शरण पर्न गएका हुन् उनी प्रचण्डले जे भन्यो त्यही मान्न विवश छन्। प्रचण्डले बाबुरामलाई साक्षी राखेर गोर्खाली जनतामा जुन मिठासमा भाषण गर्दै हिँडेका छन् यो सबै यिनको झुटको खेती हो किनकि प्रचण्ड भनेका गोरखाका लागि अतिथि उम्मेदवारमात्र हुन्।
अहिले बाबुरामले समेत गोरखामा आफूले गरेको राम्रा कामको निरन्तरताका लागि प्रचण्डलाई गोरखामा देख्न पाउनुमा गर्व छ भन्दै प्रचण्डलाई फुरुंग पार्दै हो मा हो मिलाइरहेका छन्। बाबुरामको यो नियति देख्दा उनको राजनीतिप्रति निकै दया जागेर आउँछ। उनले प्रचण्डलाई अझै किन चिन्न नसकेका होलान् जस्तो लाग्छ। प्रचण्ड भनेका देश र भेषअनुसार बोल्न सक्ने खुबी भएका नेता हुन्। उनले अहिले गोरखाका घरदैलो कार्यक्रममा पुगेर कसरी बोलेका छन्, त्यसमा वर्तमान अवस्थाको कुनै मेल खाँदैन।
आफूले पढाएको क्षेत्र, जनयुद्ध सुरु गरेको जिल्ला, ऐतिहासिक जिल्ला यस्ता विभिन्न उपमा दिएर गोरखा र गोर्खाली जनतालाई प्रचण्डले मन्त्रमुग्ध बनाएका छन्। यो उनको चुनावी रणनीतिभन्दा माथि अरू केही होइन भनेर गोर्खाली जनताले कहिले बुझ्लान् ? अनि प्रचण्डले निर्वाचन जितेपछि बाबुरामले भनेजस्तो आफूले थालेका कार्यलाई प्रचण्डले निरन्तरता देलान् भन्ने भ्रममा बाबुराम कहिलेसम्म रुमल्लिएलान् ?
राजनीतिका सहयात्री प्रचण्ड र बाबुरामले राजनीतिक जीवनको उत्तराद्र्धमा आएर पुनः एकपटक गोरखाबाटै गोर्खाली जनता र सम्पूर्ण नेपाली जनतामाथि नै झुटो आश्वासन देखाउँदै घरदैलो कार्यक्रम गरिरहेका छन्। यो पूर्णरूपमा जनतालाई ठग्ने र निर्वाचन जित्ने मुख्य लक्ष्यका साथ गरिएको प्रपञ्च हो भनेर सबैले बुझ्न जरुरी छ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा