संसदीय निर्वाचन : सहयोगीको के भर !
दीपरमण अधिकारी दोस्रो संविधानसभा निर्वाचनमा काभ्रेको खरेलथोक मतदान केन्द्रमा सहायक मतदान अधिकृत थिए। मतदानको दिन त्यहाँ दुई वटा अचम्मका घटना भएको थियो। ‘८८ वर्षीय एक वृद्ध आफ्नो हात काम्ने गरेको भन्दै नातिको सहारामा मत हाल्न आए। उनको नामको मतपत्र लिएर नाति भोट हाल्न थाले। तर नातिले उनले भनेको ठाउँमा नभई अर्कै चिह्नमा मतदान गरेका रहेछन्’, अधिकारी भन्छन्, ‘नातिले अर्कै चिह्नमा भोट लगाएपछि वृद्ध कराउन थाले। हामीले सम्झाइबुझाइ पठाएका थियौं।’
यसैगरी ९१ वर्षीय वृद्ध पनि परिवारको साथमा मतदान केन्द्रमा आए। जब भोट लगाउने ठाउँमा पुगे । छोरा, नातिको विश्वास लागेन। ‘मतदान अधिकृतलाई आफूले भनेको चुनाव चिह्नमा छाप लगाइदिन आग्रह गरे। मतदान अधिकृतले उनको मतदान गरिदिए,’ सात पटक सहायक मतदान अधिकृत भएर काम गरिसकेका अधिकारीले भने।
‘अर्काको मत हाल्ने’ कुराले निर्वाचनका क्रममा समस्या आउने गरेको उनको अनुभव छ। रसुवाको गोसाइँकुण्ड–५, स्याफ्रुबेंसीकी प्रतिमा तामाङ दृष्टिविहीन हुन्। उनी आफैं मतदान गर्न सक्दिनन्। सहयोगीमार्फत मतदान केन्द्रसम्म जान्छिन्। सहयोगीले उनको मत हालिदिन्छन्। ‘हाम्रो निर्वाचन प्रणाली नै दृष्टिविहीनमैत्री छैन’, उनले भनिन्, ‘सहयोगी नलगी मत हाल्न सम्भव पनि छैन। अब अरूले मत कहाँ पो हालिदिन्छन्। यसमा ढुक्क हुन सक्ने अवस्था छैन।’
मतदानका लागि विद्युतीय मतदानको व्यवस्था भएमा आफूले चाहेको व्यक्तिलाई भोट हाल्न सकिने तामाङ बताउँछिन्। ‘अहिले त दृष्टिविहीनका लागि पनि इलेक्ट्रोनिक भोटिङ मेसिन बनेको छ’, तामाङले भनिन्, ‘तर यसलाई उपयोगमा नल्याउँदा आफूले चाहेको व्यक्तिलाई आफैंले भोट दिन पाएको छैन।’
रसुवाकै कालिका–१ ग्राङका लाक्पा तामाङले वैशाखको स्थानीय निर्वाचनसमेत पाँच पटक मतदान गरे। उनी दृष्टिविहीन हुन्। मतदान गर्नका लागि विश्वासिलो व्यक्ति लिएर जान्छन्। ‘मैले लैजाने व्यक्तिले सही ठाउँमा नै मत हालेका छन् जस्तो लाग्छ,’ उनी भन्छन्, ‘भोट हाल्नु अगाडि मैले यो व्यक्तिलाई भोट दिने हो। दायाँबायाँ ग¥यौ भने पाप लाग्छ भनिदिन्छु।’
निर्वाचन आयोगले बनाउने निर्वाचन सामग्रीसमेत दृष्टिविहीनका लागि पहुँचयुक्त नभएको उनी बताउँछन्। रसुवामा सयभन्दा बढी दृष्टिविहीन छन्। उनीहरू सबैलाई मतदान गर्न अरूको सहायता चाहिन्छ।
- आफैं मत खसाल्न नसक्नले परिवार वा मतदान अधिकृतमध्ये १ रोज्नुपर्ने
- निर्वाचन सामग्रीसमेत दृष्टिविहीनका लागि पहुँचयुक्त नभएको गुनासो
- आफैंले मतदान गर्न नसक्नेका लागि विद्युतीय भोटिङ मेसिन उपयुक्त
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल सहयोगीमार्फत मतदान गर्न पर्नेका लागि उचित व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्छन्। अहिलेको अवस्थामा एकाघरका परिवार वा मतदान अधिकृतमध्ये कुनै एक विकल्प रोज्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
आफैंले मतदान गर्न नसक्नेका लागि विद्युतीय भोटिङ मेसिन उपयुक्त हुने सहायक प्रवक्ता अर्यालले बताए। ‘दृष्टिविहीनका लागि ब्रेल मतपत्र पनि निर्माण गर्न सकिन्छ। यो अलि खर्चिलो हुन्छ।
यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ’, अर्याल भन्छन्, ‘कुन मतदान केन्द्रमा कति दृष्टिविहीन मतदाता छन् भनेर पहिचान गरेर छाप्न पनि सकिन्छ। तर, विद्युतीय भोटिङ मेसिन भए दृष्टिविहीनसहित अरूलाई पनि सहज हुन्छ।’
यस्तो छ, कानुनी व्यवस्था
मंसिर ४ मा निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ। निर्देशिकाको दफा ५२ मा दृष्टिविहीन, शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने मतदातालाई सहयोगीमार्फत मतदान गर्न सकिने व्यवस्था छ। अशक्त मतदातालाई सहायता गर्ने सम्बन्धमा (१) मा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफंै मत संकेत गर्न नसक्ने भई एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्ता व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्न अनुमति दिनुपर्ने व्यवस्था छ।
निर्देशिकाको (२) उपदफा (१) बमोजिम शारीरिक अशक्तता भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा मतदान अधिकृतले प्रचलित कानुनबमोजिम पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी अनुमति दिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम दृष्टिविहीन मतदाता वा मतपत्रमा मतसंकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहबरमा सम्बन्धित मतदाताले भनेबमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्नेछ। यसैगरी कुनै मतदाताले आफैं मत संकेत गर्न नसक्ने भई मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नु पर्नेछ।
निर्वाचनमा मतदानका लागि एक पटकमा एक जना मात्र जान पाउने व्यवस्था छ। तर, निर्देशिकाको दफा ४१ (छ) अनुसार मतदान केन्द्रमा दृष्टिविहीन वा शारीरिक रूपमा अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य पनि लैजाउन पाउने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले मतदान गर्न नसक्नेका लागि निर्देशिकामार्फत सहयोगीसम्बन्धी व्यवस्था मिलाइदिएको भए पनि यसले मात्रै आफूहरूको अधिकार स्थापित नहुने उनीहरूको गुनासो छ। अरूले भोट हालिदिने भएकाले गोपनीयतासमेत भंग हुने सहयोगीमार्फत मतदान गरेकाहरू बताउँछन्। आयोगले निर्वाचन सामग्री अपांगता मैत्री बनाउनुपर्ने, विद्युतीय भोटिङ मेसिनको प्रयोग हुनुपर्नेलगायत माग उनीहरूको छ।