लघुकथा: घोषणापत्र
चुनाव नजिकिएसँगै धमाधम राजनीतिक दलहरुले आ-आफ्नो घोषणापत्र सार्वजनिक गर्नथाले । दलका जनवर्गीय संगठन, विभाग र विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको भन्ने सुन्नमा आयो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउनेभयो ।
घोषणापत्रको नारामा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि आदि इत्यादी तय गरियो । एकजना देशभक्तले सबै दलहरुको घोषणापत्र थाक लगाएर जतनले घरमा राख्यो । चुनाव भयो । जित्नेले जिते । सरकार
बनाए ।
देशभक्तले खुब चाख दिएर घोषणापत्रले सबै विकास गरिदिन्छ भनेर विश्वास गरि दिनहुँ पढनथाल्यो । खेतीको बेला मल आएन। किन आएन घोषणा पत्रमा पल्टाएर खोज्यो ।
०००
रोजगारीको लागि दिनहुँ युवायुवतीहरु खाडी मुलुक र अन्यत्र मुलुकतिर किन जान बाध्य भए भनेर पत्तालगाउन घोषणापत्र
पल्टाएर खोज्यो ।
बिरामी हुँदा सिटामोल पनि किन किन्न पाइएन भनेर घोषणपत्रको पन्ना धुँइधुँइ पल्टाइरह्यो । घोषणपत्र पढ्दा पढ्दै देशभक्तलाई देशको माया लाग्यो र उसको घोषणापत्र प्रतिको विश्वास र उसले गरेका आशाहरु अब के हुन्छन भन्ने उसलाई चिन्ता लाग्नथाल्यो ।
घोषणापत्र पढ्दापढ्दै उसका आँखाहरु रसाएर आए ।
- राकेश कार्की
हाल
लस एन्जेलस