माधवकुमारले छाडेको काठमाडौं-२ मा चुनावी सरगर्मी कस्तो ?

माधवकुमारले छाडेको काठमाडौं-२ मा चुनावी सरगर्मी कस्तो ?

काठमाडौं: निर्वाचन मिति नजिकिएसँगै चुनावी अभियान तीब्र बनाएका राजनीतिक दलबीच प्रतिस्पर्धा पनि बढेको छ । आफूले जित्ने दाबी गर्दै उम्मेदवार चुनावी अभियानमा जुटे पनि स्थानीय र मतदाताको आँकलन बेग्लाबेग्लै छ । 

विशेष गरी दलको सांगठनिक मतले दलकै उम्मेदवार विजयी हुने आँकलन बढे पनि दल प्रति केही रुष्ट टिक्का टिप्पणी गर्ने मतदाताको संख्या बढ्दा मतपरिणाममा पनि केही फेरबदलको अनुमान हुने गरेको छ । यस्तै चर्चा र परिचर्चाका बीच काठमाडौं क्षेत्र नम्बर-२ मा पनि चुनावी अभियान जारी छ । 

उम्मेदवारहरू आफ्नो प्रतिबद्धतापत्र तथा पार्टीको घोषणापत्रसहित मतदातासँग मत माग्दै घर दैलो अभियानमा जुटेका छन् । विगतजस्तै मत वितरण प्रणाली हुने भएकाले दुई ठूला दलका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा काठमाडौं-२ मा हुने विश्लेषण हुने गरेको छ । 

यो क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी पूर्वसभामुख नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती चुनावी मैदानमा छन् ।  एमालेबाट उम्मेदवार बनेका मणिराम फूयाल छन् । विगतको सांगठनिक मत हेर्दा यी दुई उम्मेदवारबीच कडा टक्कर हुने आँकलन धेरैको छ । 

यो निर्वाचन क्षेत्रमा १० स्वतन्त्रसहित २९ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारले कति जनताको मत जित्न सक्ने हुन् त्यो अड्कल गर्न अहिले गाह्रो छ । एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने भनिएपनि त्यो सम्भव भएन । अनि सत्ता गठबन्धनको योजना अनुसार लोसपासँग पनि चुनावी तालमेल हुन सकेन । 

यसरी अहिले चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी घर्ती, एमालेका फूयालसहित जनता समाजवादी पार्टी (जसपा)का गोपालबहादुर टण्डुकार, राप्रपाकी कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका मधुसुदन पुडासैनीलगायत दलगत उम्मेदवार बनेका छन् । 

२०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए । तेस्रो बनेका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत ल्याएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो । 

त्यस्तै स्वतन्त्रबाट काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खडका, बलराम चौलागाई, कृष्ण अधिकारी, कृष्णराम पुरी चुनावी प्रतस्पर्धामा छन् । 

धेरै स्वतन्त्र उम्मेदवार भएकाले पनि कसले कति मत ल्याउने भन्नेले नतिजामा फरक पार्ने अनुमान गरिएको छ ।

२०७४ सालको निर्वाचनमा तत्कालीन एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए । नेपाली कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए । तेस्रो बनेका विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत ल्याएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा ५३ हजार ४५ मत खसेको थियो । 

२०४८ सालमा यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका तत्कालीन कांग्रेस नेता दमननाथ ढुगांना सभामुख बनेका थिए । २०५१ मा यही निर्वाचन क्षेत्रबाट विजयी बन्दै मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । 

२०५६ मा चुनाव जितेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छन् । २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचन जितेका माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेका छन् । 

यस्तो पृष्ठभूमिको काठमाडौं-२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् । रोल्पा जन्मथलो भएकी उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख बनिन् । २०७४ को निर्वानमा घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी थिइन । उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सदनमा थिइन । 

पहिलो संविधान सभाको कार्यकालमा केही समय उनी खेलकुद मन्त्रीको भूमिकामा रहेकी थिइन् । निर्वाचित भएपछि कोटेश्वरको जाम अन्त्य गर्नेदेखि साखुं जोरपाटी सडकखण्ड निर्माण कार्य सम्पन्न गर्ने घर्तीको प्रतिबद्धता छ । केहीदिन अघिको चुनावी सभामा नेकपा माओवादी अध्यक्ष प्रचण्डले घर्तीलाई भोट माग्दै उनलाई जिताए विकासे मन्त्री बनाएर पठाइदिने बताएका थिए ।

रोल्पाली जनतामाझ प्रिय ओनसरी माओवादी भित्र पनि धेरै अवसर पाउने नेतृका रुपमा चिनिन्छिन् । तर प्रतक्ष्य प्रतिस्पर्धामा उत्रिएकी उनलाई काठमाडौंका जनतासँग भिज्न केही मुस्किल देखिएको मा‌ओवादी भित्रैका नेताहरू बताउँछन् ।
 
एमालेबाट उम्मेदवार बनेका फुयाल शिक्षण पेशाबाट सक्रिय राजनीतिमा होमिएका हुन् । २०४९ सालबाट शिक्षण शुरु गरेका उनी २०६५ सम्म शिक्षण पेशामा थिए । लामो समय नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको  प्रधानाध्यापकको भूमिकामा उनले काम गरे । 

व्यवस्थापनमा स्नातक गरेका फुयाल शिक्षाशास्त्रमा स्नातकोत्तर हुन् । फुयाल ०७४ मा बम गठबन्धनका तर्फबाट काठमाडौं-२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभाको निर्वाचनमा उनलाई लोकप्रिय मत प्राप्त भएको थियो । १६ हजार ५७५ मत फुयालले ल्याउँदा कांग्रेसका मनहरि खड्काले ८ हजार २६८ मत ल्याएका थिए । फुयालले चुनाव जिते आफूले विकास निर्माण र नीतिगत एजेण्डालाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी सोविता गौतम सामाजिक अभियन्ताका रुपमा चिनिन्छिन्। पत्रकारिता गरेकी उनी युवा पुस्तामा लोकप्रिय मानिन्छिन । पछिल्लो पटक थपिएका मतदातामा युवा धेरै रहेकाले ती मत गौतमले पाउने विश्लेषण हुने गरेको छ । 

देश परिवर्तन युवाको काँधमा रहेको बताउने उनले राजनीतिक नेतृत्वमा पनि युवा आउनुपर्ने आवाजसहित चुनावी मैदानमा छन् । राजनीतिलाई फोहोरी खेलको उपनाम हटाएर देश परिवर्तनमा युवा पुस्ता भन्ने छाप बनाउनुपर्ने गौतमको भनाइ छ । 

राप्रपाकी ३५ वर्षीया कुन्तीदेवीले पनि ठूला मानिएका दलको मत काट्ने अनुमान गरिएको छ । एमाले र राप्रपाबीच एकता हुने चर्चा चलेर नहुँदा उनले एमालेकै मत धेरै काट्न सक्ने आँकलन राप्रपा निकटस्तले बताउँछन् । मत माग्दा उनले युवा आवाज र अहिलेको आवश्यकतालाई संसदबाटै सम्बोधन गर्ने वातावरण मिलाउने बताउने गरेकी छन् ।

कोरोना कहरमा राहतमा खटिएकी उनी आफ्नो सामाजिक सक्रियतालाई जनताले माया गर्ने बताउने गरेकी छन् । 

निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार काठमाडौं क्षेत्र नम्बर-२ मा ८१ हजार ७९० मतदाता छन् । २०७४ सालको निर्वाचनमा भन्दा  ७ हजार २१५ मतदाता थपिएका छन् । थपिएका मतदाता अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका छन् । 

तथ्यांकमा काठमाडौं-२

निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार काठमाडौं क्षेत्र नम्बर-२ मा ८१ हजार ७९० मतदाता छन् । 

२०७४ सालको निर्वाचनमा ७४ हजार ७५५ मतदाता रहेको यो क्षेत्रमा २०७९ को निर्वाचन आउँदा  ७ हजार २१५ मतदाता थपिए । थपिएका मतदाता अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका छन् । 

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर ९ र ३२ पर्छ । त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ यही क्षेत्रमा पर्छ । शंखरापुर नगरपालिकाका सबै वडा यही क्षेत्रमा छन् । बढी जनघनत्व भएको गौशाला र कोटेश्वरपनि यही निर्वाचन क्षेत्रमा पर्छन । 

स्थानीय तह निर्वाचनमा काठमाडौं ९ को वडाध्यक्षमा कांग्रेस र ३२ मा एमाले विजयी भएको छ ।  कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको ४ मा एमाले, ५ मा कांग्रेस, ६ मा नेकपा एकीकृत समाजवादी, ७, ८ र ९ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । 

शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस निर्वाचित भएको छ। यस नगरपालिकाको १ नम्बर वडाध्यक्षमा माओवादी केन्द्र, २ मा नेपाली कांग्रेस, ३ मा राप्रपा, ४ मा कांग्रेस, ५ मा एमाले, ६, ७ मा राप्रपा, ८ र ९ मा कांग्रेस विजयी भएका थिए । 

एमालेको मात्रै १७ हजार ३२८ मत छ । कांग्रेसको १४ हजार १२८, नेकपा एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपाको ६ हजार ८१९, माओवादी केन्द्रको ३ हजार ३६, विवेकशील साझा पार्टीको १५४, लोसपाको ८ र स्वतन्त्रको १६ मत छ । 

स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई हेर्दा यो निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनले घर्तीतिर पल्लाभारीको संकेत गरे पनि फूयाल पनि अघिल्लो पटक प्रदेशसभामा लोकप्रिय मत ल्याउने नेता भएकाले उनले ल्याउने मत कम आँकलन गर्न सकिन्न । 

अहिले चुनावी अभियानमा खटिएका उम्मेदवारका एजेण्डालाई जनताले कसरी न्याय गर्लान वा कुन उम्मेदवारलाई धेरै मत दिन्छन् त्यो मत परिणामले देखाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.