बैतडीमा १६८४ जनशक्ति परिचालन गरिने

बैतडीमा १६८४ जनशक्ति परिचालन गरिने

बैतडी : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना तयार पारिएको छ। 

भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले सुरक्षा सतर्कता पनि अपनाइएको छ। निर्वाचन कार्यालयले पनि आन्तरिक तयारी तीव्र पारेको छ। निर्वाचनका लागि आवश्यक सामग्रीहरू आइपुगेका छन् भने निर्वाचनमा खटिने कर्मचारीको विवरण तयार भएको छ। 

मंसिर ४ गतेको निर्वाचनका लागि जिल्लामा १६ सय ८४ जनशक्ती परिचालन गरिने भएको छ। निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयालका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी १६८४ जनशक्ति परिचालन गरिने भएको हो। 

जिल्लामा २१० मतदान केन्द्र रहेका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ। यी केन्द्रमा १६८४ जना जनशक्ती परिचालन गरिने छन्। 

पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी तीन जना स्वयंसेवक र १ जना कार्यालय सहयोगी खटिने छन्। 

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी, चार जना स्वयंसेवक र एक जना कार्यालय सहयोगी खटिने निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयालले जानकारीले दिए। 

जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटिने छन्।  

सिमानामा गस्ती बढाइयो 

भारतसँग सिमाना जोडिएको बैतडीमा सिमानाका गस्ती बढाइएको छ। महत्वपुर्ण प्रतिष्ठान तथा ठाउँमा नेपाली सेनाले सुरक्षा दिने भएको छ। 

जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा रहेका बिओपीबाट गस्ती बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले जानकारी दिए। 

बुधबारदेखि निर्वाचन सकिएको एक हप्तासम्म जिल्लामा रहेका महत्वपुर्ण प्रतिष्ठान तथा ठाउँहरूको सुरक्षा नेपाली सेनाले गर्ने निर्णय भएको पनि उनले बताए। 

केन्द्रीय सुरक्षा नीतिअनुरूप जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

'सबै ठाउँमा सुरक्षाकर्मी परिचालन हुन्छन्, केन्द्रीय नीति निर्देशन अनुसार यहाँ पनि म्यादी प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिन्छ,' उनले भने। बैतडीमा निर्वाचनलाई लक्षित गर्दै ११ सय ९१ म्यादी प्रहरी भर्ना गरिएको छ। 

यसैगरी सशस्त्र प्रहरीले पनि सिमाक्षेत्रमा गस्ती बढाएको छ। भारतसँग सिमाना जोडिएको क्षेत्रमा स्थापना गरिएका बिओपीबाट नियमित गस्ती भइरहेको सशस्त्र प्रहरी बल नपाल गुल्म ५१ नं बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक गंगादत्त पन्तले जानकारी दिए। 

'हामीले मतपेटीका ढुवानी गरिने क्षेत्रको समेत सर्वेक्षण गरिरहेका छौँ, सीमामा गस्ती पनि बढाएका छौँ, सुरक्षा योजना अनुसार अघि बढेका छौँ,' पन्तले भने। 

भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा सशस्त्र प्रहरीको बिओपी रहेका छन्। 

जिल्लाका १० वटै पालिकामा मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिएको छ। स्थानीय तहहरूले नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयालले जानकारी दिए। कक्षा १० उत्तीर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको उनले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.