एलन मस्क बनेर ट्विट गर्ने हिन्दी प्रोफेसर इयान वुलफोर्डको खाता निलम्बित
वासिङटन डिसी : ट्विटरले अस्ट्रेलियाका हिन्दी प्रोफेसर इयान वुलफोर्डको खाता निलम्बन गरेको छ। इयानले शनिबार बिहान आफ्नो ट्विटर अकाउन्टमा केही परिवर्तन गरे। उनले आफ्नो प्रदर्शन नाम इयान वुलफोर्डबाट एलोन मस्क राखे। उनले आफ्नो पुरानो बायो, डीपी र कभर फोटोलाई ठ्याक्कै ट्विटरका नयाँ मालिक बनेका एलोन मस्कको जस्तै बनाए।
एकाउन्टमा यी सबै परिवर्तन गरेपछि इयानले हिन्दी र भोजपुरी भाषामा एकपछि अर्को ट्वीट गर्न थाले । ट्विटर कम्पनीमा कामबाट निकालिएको खबरलाई लिएर इयानले लेखेका छन्, ‘ठूला सहरमा यस्ता साना कुराहरु भइरहन्छन् ।'
यसै क्रममा उनले अर्को ट्विटमा लेखेका छन्, ‘ट्विटर तेरे टुकडे होंगे’ गिरोहले पनि ८ डलर तिर्नुपर्नेछ ।' केही समय नबित्दै यी ट्विटहरू जनताको जिज्ञासाको विषय बने ।
धेरैजसो मानिसहरूले एलोन मस्कले ट्वीटहरू हिन्दीमा गर्दैछन् भन्ने सोचे। केही मानिसहरूले यी ट्विटहरूमा इयानको हात रहेको स्वीकार गरे। कतिपयले एलोन मस्कलाई ट्याग गरेर खातावालालाई कारबाही गर्न माग गरेका छन् ।
अस्ट्रेलियाको मेलबर्नस्थित ला ट्रोब विश्वविद्यालयमा हिन्दी पढाउने प्रोफेसर इयान सामाजिक सञ्जालमा लोकप्रिय छन्। हिन्दीमा गरिएको उनको ट्विटलाई भारतीयहरूले मन पराउँछन् तर शनिबार साँझ ट्विटरले उनको खाता सस्पेन्ड गरेको बताइएको छ ।
यद्यपि यस विषयमा ट्विटर वा एलोन मस्कको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन। बीबीसी