रेशमको साख जोगाउन रञ्जिताको कसरत, कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा

रेशमको साख जोगाउन रञ्जिताको कसरत, कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा

टीकापुर : कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। 

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी, नेकपा एमालेका तर्फबाट टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र रावल र यसै वर्षदेखि अस्तित्वमा आएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। 

कैलाली क्षेत्र नं. १ अन्तर्गतका २३ वडा छन्। टीकापुर नगरपालिकाका ९ वटै वडा, भजनी नगरपालिकाका २ वडा, जानकी गाउँपालिकाका ५ वडा र जोशीपुर गाउँपालिकाका ७ गरी २३ वडा यस क्षेत्रमा पर्छन्। 

स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मत परिणामअनुसार त्यहाँ गठबन्धनको अंकगणित बढी छ। गठबन्धनको पक्षमा २० हजार २ सय ४८ मत छ। 

नेपाली कांग्रेसबाट उम्मेदवार रहेका वडाध्यक्षहरूले प्राप्त गरेको मत १३ हजार ५ सय ३० र नेकपा माओवादीका वडाध्यक्षहरूले प्राप्त गरेको मत ६ हजार ७ सय १८ रहेको छ। यसमा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले प्राप्त गरेको मतसमेत जोडिएको छ।

तर नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षहरूले त्यहाँ १७ हजार १ सय ९३ मत पाएका छन्। तेस्रो स्थानमा रहेको नेकपा एमालेका वडाध्यक्षको मत ९ हजार ८ सय ८२ छ। सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीको मतान्तर ३ हजारको मात्रै छ। 

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्मा श्रेष्ठ भन्छन्, 'क्षेत्र नं. १ मा हामी निकै बलिया छौं, चुनाव जित्नेमा कुनै शंका नै छैन।' विश्वकर्माले मतान्तर बढाउने क्रममा रहेको बताए। 'पार्टी एक ढिक्का भएर चुनावमा होमिएको छ, स्थानीय तहको अन्तर पनि ३ हजार त हो नी, हामी त्यो अन्तर घटाइरहेका छौं।'

रेशमले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए। उनीसँगै चुनावी दौडमा रहेका अन्य ११ जना उम्मेदवार सबैले २६ हजार ३ सय ५० मत पाएका थिए। 

रेशमका प्रतिद्वन्द्वी नेकपा एमालेका मदनकुमारी शाह (गरिमा) को १३ हजार ४ सय ६ मत  र कांग्रेसकी ईश्वरी न्यौपानेको ११ हजार २ सय ३ मत आएको थियो। 

अरू नौ जना उम्मेदवारले हजार मत समेत कटाउन सकेका थिएनन। टीकापुर नगरपालिकामा मेयर मात्रै, जानकी, भजनी र जोशीपुरमा प्रमुख र उपप्रमुख दुवै पद जितेर हौसिएको नागरिक उन्मुक्ति प्रतिनिधिसभा र प्रदेशसभामा पनि जित्ने भन्दै हासिएको छ। 

उसले कुनै पनि दलसँग तालमेल गरेको छैन। स्थानीय तहको निर्वाचनका बेला सत्ता गठबन्धन र नेकपा एमाले दुवैले उन्मुक्तिसँग तालमेलका लागि हात अघि बढाएका थिए तर उसले मानेन। 

'चारवटै पालिका जित्नु भनेको प्रतिनिधिसभा र प्रदेशसभा पनि जिते सरह हो,' नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष चौधरीले भनिन। 

तर रञ्जितालाई चुनाव जितेर रेशमको विरासत जोगाउन त्यती सजिलो भने छैन। त्यहाँ सत्ता गठबन्धनले थारू समुदायमा लोकप्रिय मानिएका पूर्वमन्त्री रामजनम चौधरीलाई लडाएको छ।

चौधरी २०४८ सालको आमनिर्वाचनमा कैलाली-२ बाट २८ वर्षको उमेरमै सांसद भएका थिए। तत्कालीन अवस्थामा कैलाली जिल्लामा ३ निर्वाचन क्षेत्र थिए। त्यसपछि पनि चौधरी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट सांसद बने। 

उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्य मन्त्री समेत भए। राजनीतिमा चतुर खेलाडी मानिएका चौधरीले आफैले यसपाली कैलाली १ रोजेका हुन्। 

उनी विजय गच्छदारसँगै कांग्रेस छोडेर नेपाल लोकतान्त्रिक फोरममा गएका थिए। पछि उनी गच्छदारसँगै पुनः कांग्रेसमै फर्किए। उनी कांग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका नेता हुन्। 

कैलाली १ झण्डै ५५ प्रतिशतभन्दा बढी थारू मतदाता रहेको क्षेत्र हो। नागरिक उन्मुक्ति पार्टीलाई रोक्न कांग्रेसले चौधरीलाई अघि सारेको हो। गठबन्धनको साथ रहेका उनी थारू समुदायमा प्रभाव राख्ने व्यक्ति हुन्। 

उनले जातिवादको पक्षमा लाग्ने बाहेकको थारू समुदाय आफ्नो पक्षमा रहेको दाबी गरे। 'धेरै राम्रो माहौल बन्दै गएको छ' उनले भने, 'थारू र पहाडी समुदायबीचको सद्भाव कायम राख्दै टीकापुर घटनाका राजबन्दीहरूको स-सम्मान रिहाईका लागि म काम गर्नेछु। सबै समुदायले मलाई सहयोग गर्नेछन्।'

गठबन्धनको साथ पाएर उम्मेदवार बनेका चौधरीलाई पराजित गर्न श्रेष्ठलाई चुनौति छ। मंसिर ४ गतेको निर्वाचनका लागि नागरिक उन्मुक्तिले टिकट वितरणमा गरेको निर्णयप्रति असन्तुष्टहरू बढ्दै गएका छन्। 

क्षेत्र नं. १ प्रदेश (१) मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरिया र प्रदेश (२) मा गणेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जसले गर्दा नागरिक उन्मुक्तिमा आन्तरिक किचलो बढ्दै गएको देखिन्छ। 

५५ प्रतिशत थारू मत बाँडिदा त्यसको फाइदा आफूलाई हुने एमालेका तपेन्द्र रावलको दावी छ। उनी भन्छन्, 'थारू मतको विभाजन भए आफ्नो जित हुन्छ।' 

उनले जातीय विभाजन र गठबन्धनको मुद्दालाई अस्विकार गरेर जनताले आफ्ना पक्षमा मतदान गर्ने बताए। उनले टीकापुर नगरपालिकाको मेयरका रूपमा आफूले गरेका कामको समेत जनताले मूल्याङ्कन गर्ने बताए। 'हामीले गरेका कामहरूको समेत जनताले मूल्याकंन गरिरहेका छन्' रावलले भने। 

२०७२ सालको टीकापुर घटनापछि कैलाली १ को राजनीतिमा फरक मोड आएको हो। त्यहाँका थारू समुदायमा राज्य संयन्त्र आफ्नो पक्षमा नरहेको गुनासो छ। 

थारूहरूलाई थिचोमिचो गरिएको र त्यसको उन्मुक्तिका लागि आफूलाई जिताउन पर्छ भन्ने नाराकै कारण रेशम चौधरी २०७४ सालको निर्वाचनमा अत्यधिक मतले विजयी भएका थिए। 

तर उनी कारागार भएपछि, त्यो क्षेत्र जनप्रतिनिधिविहीन झैं रह्यो। चौधरी अहिले केन्द्रीय कारागारमा छन्। उनले आफैं संरक्षक बसेर नागरिक उन्मुक्ति पार्टी यसै वर्ष दर्ता गराएका हुन्। 

गठबन्धनका उम्मेदवार रामजनम चौधरीलाई गठबन्धनभित्रकै मत सुरक्षित गर्नुपर्ने चुनौति छ भने नागरिक उन्मुक्तिका उम्मेदवार श्रेष्ठलाई पार्टी भित्रको असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने चुनौति छ। 

अझ रञ्जिता थारू नभएको कुरा पनि गठबन्धनले उचालि रहेको छ। गठबन्धनले उनी श्रेष्ठको छोरी भएको र थारू नभएको कुरा समुदायमा लगिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.