व्यक्तिगत लाभ होइन मुलुक बनाउने हुटहुटीले संसदमा जान चाहन्छु : रवीन्द्र मिश्र (भिडियो वार्ता)

व्यक्तिगत लाभ होइन मुलुक बनाउने हुटहुटीले संसदमा जान चाहन्छु : रवीन्द्र मिश्र (भिडियो वार्ता)

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेपाली राजनीतिमा यस पटकको निर्वाचनले फरक सन्देश दिने दाबी गर्छन् । काठमाडौं क्षेत्र नम्बर-१बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले देशको स्वरुप परिवर्तन गर्न पनि जनताले सुझबुझसहितको निर्णय लिनुपर्ने बताउँदै आएका छन् । नेपाली राजनीति मोहजालमा परेको भन्दै उनले त्यसबाट मुक्त पार्न आफू संघर्षशील रहेको दाबी गर्छन् । आसन्न निर्वाचन, मिश्रको राजनीतिक विचार र राप्रपाको आगामी कार्यदिशालगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्ण पोस्टले सुरु गरेको 'द न्यूज मेकर' कार्यक्रमका लागि भूपाल लुइटेलले गरेको संवादको सम्पादित अंश :

राजनीतिमा नयाँ परिकार लिएर जानुभएको थियो । तर अधिकांश नेपालीको लत तपाइँले दिएकै बिम्ब म:म: चाउमिन नै रहेछ किन ?

नेपाली समाज राजनीतिक मोहमा परेको भन्ने गरेको छु । मोह जालमा परेपछि तपाइँको सोचाई एक सुरो बन्छ, छेउछाउबाट अरुले राम्रो तर्क गरे पनि तपाइँ सुन्ने पक्षमा हुनुहुन्न । जब मोहजालबाट मुक्त भैइसक्नुहुन्छ त्यो समय ढिलो भैइसकेको हुनसक्छ । नेपाली समाजमा राजनीतिको मोहजाल गाउँगाउँसम्म पुगेको छ । 

सामाजिक संघसंस्थाका व्यक्तिहरू समाजसेवीभन्दा बढी कांग्रेस र कम्युनिष्ट छन् । सरकारी विद्यालयहरू शिक्षकहरूभन्दा बढी कांग्रेस र कम्युनिष्ट छन्। विश्वविद्यालयका प्राध्यापकहरू कांग्रेस र कम्युनिष्ट छन्। अपवाद छाडेर प्रशासनका सचिव, सहसचिव कांग्रेस र कम्युनिष्ट । डाक्टर इन्जिनियर कांग्रेस र कम्युनिष्ट । हुँदा हुँदा प्रहरी पनि  कांग्रेस र कम्युनिष्ठ । अब त अति भएर सर्वोच्चका न्यायाधीश पनि कांग्रेस र कम्युनिष्ट भइसके । उनीहरू सबैले आआफ्नो कनेक्सन हेरिरहेका छन् । कसैको भावनात्मक सम्बन्ध छ भने कसैको स्वार्थ गाँसिएको सम्बन्ध छ।  त्यो सम्बन्ध तोड्न असाध्यै गाह्रो हुँदो रहेछ । यसलाई मैले अर्को बिम्बको रुपमा हेर्ने गरेको छु । आजकाल राजनीति स्टक होम सिन्ड्रोमबाट ग्रस्त छ । 

त्यो भनेको के हो भने स्वीजरल्याडको १९७३ मा केहीँ अपहरणकारीले बैंकमा धावा बोलेर कसैलाई अपहरण गरे । त्यो अपहरणकारीलाई पीडा दिदाँ दिदै अपहरहित र अपहरणकारीबीच भावनात्मक सम्बन्ध विकास भयो । त्यसैगरी नेपाली समाजमा अधिकांश राजनीतिकर्मीले जनतालाई पीडा दिइरहेका छन् । आफ्नो जीवन सानका साथ बिताइराखेछन् । तर त्यो पीडा दिदाँ दिदै आफ्नो भावनात्मक सम्बन्ध आम मतदाताले तोड्नै सकेका छैनन् । हो त्यहीँ कारणले मेन्यु पल्टायो पल्टायो अनि अन्त्यमा मःम: खाएको स्थिति भइराखेको छ ।

भनेपछि लत पसेर होइन बाध्य पारेर रहेछ हो ?

बाध्य पारेको होइन त्यो मोहजालमा पारेको हो । 

नेपालीले तपाइँको नयाँ राजनीतिक स्वाद नरुचाएपछि त्यहीँ पुरानै बिम्बमा फर्किनुभएको भन्ने बुझाइ गलत हो त ?

अवश्य ! किनभने यसरी फर्किने भए त सुरुमै फर्किहाल्थे । अहिले मेरो ५ वर्षको राजनीतिबाट र मेरो २ दशकभन्दा बढीको पत्रकारिताबाट मैले यो समाजलाई, देशलाई, राजनीतिलाई, भूराजनीतिलाई, अर्थराजनीतिलाई , जातीय संरचनालाई, धार्मिक जनसंख्यायिक अवस्थालगायतका यावत विषयलाई मैले जसरी बुझेँ त्यो बुझेपछि मैले मेरो मार्ग परिवर्तन गरेँ । 

नेपालमा अभिभावकीय संवैधानिक राजसंस्था चाहिन्छ किनभने देश तपाइँ र मेरो पुस्ताको मात्रै होइन हामीभन्दा तलको पुस्ताको पनि हो । त्यसैगरी संघीयता यो देशको लागि घातक छ र धार्मिक निरपेक्षता पनि घातक छ भन्ने निष्कर्षमा पुगिपछि एजेण्डा परिवर्तन गरेको हुँ । त्यो एजेण्डालाई विभिन्न प्रतिकूल अवस्थामा पनि बोकेर आएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेपछि मात्रै बलियो भएर जान्छ । र अहिले मैले भनेको एजेण्डा रुपान्तरणको दिशामा जानसक्छ भन्ने मान्यता हो  । 

लोकतन्त्रलाई विश्वास गर्नेले त कर्मसिद्धलाई उत्कृष्ट ठान्छन् न कि जन्मसिद्धलाई हैन ?

ए भनेपछि बेलायतका त्यत्रा झन्डै ७ करोड नागरिकहरू लोकतन्त्रवादी नै होइनन् । किनभने त्यहाँ राजसंस्था नै  छैन, त्यसपछि स्क्यानडिनाभियन त्यत्रा संसार खुसी मापन,  सदाचारीदेखि लिएर मानवविकाससम्म सबै प्रतिवेदनमा उत्कृष्ट स्वीजरल्यान्ड, फिनल्यान्ड  जस्ता देशहरू सबै लोकतन्त्रवादी नै होइनन् जहाँ  राजसंस्था छ । 

लक्जम्वर्ग युरोपको सबैभन्दा सम्पन्न देश त्यो लोकतन्त्रवादी नै होइन जहाँ राजसंस्था छ । हाम्रो देशमा लोकतन्त्रमाथि धावा बोलियो । जसको सर्मथन गर्नुहुँदैन । २०१७ सालमा अझै केस फरक हो किनभने त्यतिबेलाको परिस्थिति फरक थियो । २०६२/६३ मा मैले भन्दै आईरहेको के हो भने त्यसलाई ह्यान्डल गर्ने तरिका फरक हुन सक्थ्यो । 

राजा आफैँ आक्रमक रुपमा प्रस्तुत हुनुपर्दैन थियो भन्ने चाहिँ मेरो धारणा हो । त्यसो हुनाले राजसंस्था हुँदैमा त्यो अलोकतान्त्रिक हुनु र राजसंस्था नहुँदैमा लोकतान्त्रिक हुने भन्ने कुरा होइन ।

'खास कुनै वंशको सन्तानलाई जन्मिनसक्दै शासक किट्ने पुरातन व्यवस्थालाई हटाएर हामीले उन्नत व्यवस्था ल्यायौँ । जहाँ जनताको सन्तान तिनै जनताको सेवक बन्ने अवसर मिलेको छ । के यो गलत हो ?’ भनेर गणतन्त्रवादी नेताहरूले पटक/पटक भाषण गरेको सुन्नुभा छैन ?

ती नेताहरू कुठिण्त हुन् । जसले त्यो परिवारलाई फालेर आफ्नो परिवारका हरेक सदस्यलाई राजा बनाउन खोज्दैछन् । त्यो भनेको कुण्ठाको परिणाम हो । ती राजसंस्थावादीहरू सामन्तवादी हुन् । शोसक हुन् । राजाको लवाइ खुवाईमा टिप्पणी गर्ने अनि त्यो भाष्य फैलाएर अहिले आफू त्यो भन्दा पनि चर्को लवाई खुवाई गरेर बस्ने ? बिहान ननभेज, बेलुका भेज चाहियो रे सुन्नु भएको छ नि ? मान्छे कोरोना भएर मर्दा दाउरामा पकाएको मिठो हुन्छ रे । यस्तो भन्न अफ्ठ्यारो लाग्नु पदैन ? 

यो त मैले एक जनाको कुरा गरेँ । अर्को एक जना प्रधानमन्त्री हुनुहुन्छ जसको छोरा ठुला ठेक्का पट्टा गरेर हिड्नुहुन्छ । ती प्रधानमन्त्री हुदाँ सरकारसगँ २० लाख लिने अनि विराटनगरमा १ जना बिरामी २० हजारको बिल तिर्न नसकेर अस्पतालको ३ तलाबाट हामफामलेर मर्नुपर्ने ?

तपाइँले जन्मसिद्धलाई नै उत्कृष्ट ठान्ने हो ?
कसले भन्यो त्यस्तो ? सुन्नुस्  । राजसंस्था ठूलो कि म ठूलो कि तपाई ठूलो कि यो देश ठुलो ? मेरो दृष्टिकोण सोध्नुहुन्छ भने म कर्मसिद्ध अधिकार हो । म अधिकारमा विश्वास गर्ने मान्छे हुँ । म सम्पुर्ण कुरा पढेर उठेको मान्छे हुँ । यो देश शान्ति, स्थिर र अखण्ड भएन भने भोलि जातीय र धार्मिक सन्तुलन बिग्रयो भने के हुन्छ ? त्यसैले विचारभन्दा माथि देश भनेको हो । 

तपाइँकै प्रतिस्पर्धीले 'मेरा बाबु... तर राजतन्त्रको पक्षमा कलम चोप्ने, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाटै निस्किन्न भन्नेको छोरा,’ भन्दै भोट मागेको बिर्सिनु भो ?
कान फुकेर जितेको होइन । बुवाहरूलाई जोड्नु त्यो कुरा राम्रो होइन् । दोस्रो कुरा उहाँले आफ्नो बुबाबारे सार्वजनिक दावी गरे के बुझ्नु पर्छ भने उहाँको बुबा भयानक स्वाभिमानी हुनुहुन्थ्यो । उहाँका बुबाका समकालीनहरू कृष्णप्रसाद भट्टराई, बीपी कोइराला र गणेशमानले बोकेको ३ खम्बा मध्ये एउटा राजसंस्था थियो । 

त्यो आफू अत्यन्त प्रतिकुल र पीडाजनक स्तिथिमा पर्दा पनि त्यो एजेण्डा पक्डेर बस्नुभयो । त्यो व्यक्तिगत स्वार्थका लागि त होइन होला । दुःख दिने राजाको पनि पीडा सहनुभयो । त्यो देशको हो । अनि उहाँको छोरा राष्ट्र संघमा गएर नेपालमा नाका बन्दी लाग्दा एक शब्द बोल्ल नसक्ने ? 

प्रकाशमानजी अहिले भिडियो बनाएर खोलाको छेउमा ट्राफिक व्यवस्थापन गरेँ बाटो बनाए भनेर भन्नुहुन्छ । तर जनतालाई थाहा छ यहाँका समस्या उहाँहरूकै कारण आएका हुन् । दक्षिण कोरियाको राजधानी सियोलको नदी पुःनस्थापन कसरी भयो बेलायतको राजधानी लण्डनको टेनेसी नदीको पुनर्स्थापना कसरी भयो गुगल गरे मात्र पनि हुने हो ।

तर उहाँले नै तपाइँलाई चुनावमा हराउनुभयो ।
उहाँले नराम्रो कामलाई राम्रो भनेर चुनाव जित्नु भयो । राजनीति मायाजालमा फसेको समाजको म उदाहरण दिन्छु । २०७४ सालमा म बानेश्वरमा चुनावी घरदैलोमा गएँ । बाटोमा धेरै धुलो उडेको थियो । पसल थियो । एउटा कोठामा बुबा, आमा र बालक, अर्कोमा ७५/७६ वर्षको बा आमा बस्थे । धुलो उडिराछ, धुलोले उहाँहरूको अवस्था खराब भएको छ । उहाँहरूको पीडा सुने, उहाँहरूले भन्नुभयो हामीले जमानादेखि रूखमा भोट हालेको तपाईँ राम्रो मान्छे तर, हामीले भोट रूख मै दिनुपर्छ ।

मैले भने, हो यस्तो भए तपाइँ मतदाता गर्नुस् । धुलो पिउनुस् । अस्पताल जानुस । अनि आफ्नो नेतालाई उपचार गर्न सिंगापुर पठाउनुस् । 

अब परिस्थिति फेरिएको हो र ? 
हो नि !

कसरी ? 
मेरो अपेक्षा पूरा देश नै यो समस्याबाट मुक्त हुनुपर्छ भन्ने हो । र यो पटक मन र मत परिवर्तन गरेर हलोमा भोट हाल्नुपर्छ । किनभने, यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी सशक्त रूपमा देशको राष्ट्रियताको लागि अर्थ राजनीतिको रूपान्तरणको लागि मात्र संसदमा आउने होइन यसले एमाले, कांग्रेस र माओवादीको तप्कालाई पनि विस्थापित गर्न सहयोग पुर्याउछ । क्षेत्र नम्बर-१ मा राम्रोसँग धेरै कुराहरू भईरहेको छ । यहाँका मतदातालाई म राम्रो उम्मेदवार हुँ भन्ने छाप छाडेको मेरो दावी हो । 

दोस्रो कुरा १५ वर्ष जो संसद हुनुभयो प्रकाशमान जी । उहाँले जनताको हितमा के गर्नुभयो । कुन कुरामा हस्तक्षेपकारी भुमिका निभाउनुभयो ? यहाँको विकासमा के गर्नुभयो ? राजधानी शहरको संसद भएर शहर व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा के गर्नुभयो ? काठमाडौं शहरको सार्वजनिक जग्गाको अतिक्रमणको बारे के बोल्नुभयो ।  उहाँ नेवा: समुदायबाट,  यो सभ्यता संसारमै विशिष्ट हो । नेवा सभ्यता र संस्कृति सम्बर्धन गर्न के गर्नुभयो ?

क्षेत्रको विकास र देशको निकास गर्न प्रकाशमानलाई भोट उहाँको नारा छ ।

काठमाडौं उपत्यकाको विकास भयो भने हाम्रो क्षेत्रको आफैँ विकास हुदैन ? क्षेत्रको विकास भनको मैले बारम्बार भनिसके संसदसँग विधायकी अधिकार छ । संसदसँग कार्यकारी अधिकार छैन । कार्यकारी अधिकार भएको मेयर हो । कार्यकारी अधिकार भएको वडाहरू हो । 

त्यसो भए तपाइँले प्रकाशमान जीलाई आरोप लगाउनुको त कुनै तुक देखिएन होइन र ?

उहाँ त म गर्दैछु भन्नुहुन्छ । तपाइँ हाम्रो क्षेत्रको विकास हेर्नुस् त्यसको श्रेय मैले वडाअध्यक्षहरूलाई  दिनुपर्छ ।  किनभने उहाँहरूसँग बजेट छ । उहाँहरूले काम गर्नुहुन्छ । 

४१० मत थप आएको भए अघिल्लो पटक तपाइँ विजेता हुनुहुन्थ्यो । तपाइँ उपविजेता यो समयमा तपाइँले के गर्नुभयो त ?
यस विषयमा मैले दुईवटा कुरा भन्ने गरेको छु । यो मैले औचित्य दर्साउन मिल्दैन । मलाई दोश दिने ठाउँ छ । म विवेकशील साझामा हुदाँ यो पार्टी आफैँ जन्माइयो । त्यसको प्रसव पीडालाई हुर्काउन र हुर्काउदैँ गर्दा हामी ५ औँ ठुलो पार्टी थियौ । झण्डै झण्डै राष्ट्रिय पार्टी भएका थियौँ । हुकार्उदै गर्दा हामीले दायाँबायाँ गरेनौँ । पार्टीको आन्तरिक कारणले दुई कुरा गर्न सकिन । मैले मेरो घरकी बुढी आमालाई समय दिन सकिन र अहिले पनि दिएको छैन । मेरो भाइ र बुहारीले धेरै हेर्छन् आमालाई । बेलाबेलामा मेरो श्रीमतीले हेर्छिन् । त्यसैगरी मैले म उपविजेता भएको क्षेत्रलाई पनि समय दिन सकिन । 

त्यतिबेला कहाँ गयो त रवीन्द्र मिश्रभन्दा मलाई पनि कोभिड भएको थियो । तर, पार्टीको नेतृत्वमा हामीले क्षेत्र-१ मा मात्र होइन देशभरिका धेरै ठाउँमा धेरै राहतका धेरै काम गरेका थियौँ । मैले स्वीकानु पर्छ कि मैले जुन तहमा काम गर्नु पर्ने हो त्यसरी नसकेकै हो ।

मतदाताको मन फेरिएको तपाइँको दावी छ । राम्रै छवी बनाएका व्यक्ति चुनावी मैदानमा छन् । तपाइँको मत बाँडिएला नि हैन्?
सुरूवातमा मत बाढिन्छ भन्ने चिन्ता थियो । अहिले मेरो एजेण्डा हेरेर मलाई मन पराएका छन् । यो मेरो घमण्ड होइन । मेरो पढाइको हिसावले, मेरो योग्यताको हिसाबले, मेरो राजनीतिक बुझाइले मैले यो समाजलाई जति गरेको छु उत्तिकै बोलेको हो । मैले मेरो एउटा पेशा हुदाहुदै सामाजिक रूपमा जे जति काम गरेको छु मेरो किताबकै लेखकस्वको कुरा छ, बालाश्रयको कुरा छ, राजनीतिक अर्थ नीतिका हिसाबले सबैभन्दा अव्वल म हुँ भन्ने दावी हो । त्यो मतदाताले निक्यौल गर्छन् । 

अब तपाइँको प्रश्नको जवाफ हो रवीन्द्र मिश्र नै सबैभन्दा बलियो उम्मेदवार हो । हामीले उनलाई भोट दिनुपर्छ । होइन भने फेरि पनि संसदमा उही विकृतिको पोकाले भरिन्छ । त्यसैले भोट बाढिनु हुन्न भन्ने भावना यत्र तत्र सर्वत्र छ ।

कांग्रेस भित्र गहकिलो छाप राखेका प्रकाशमानको विकल्पमा हुनुहुन्छ । अरू पनि धेरै उम्मेदवार यो मत बाढिन्न भन्नेमा तपाइँ ढुक्क !
अलिअलि त जान्छ । जो हाम्रो प्रतिस्पर्धी हुनुहुन्छ प्रकाशमानजीलाई हेर्नुस् । पाँच वर्ष देउवाको आलोचनामा बिताउनुभयो । अन्तिम घडिमा उहाँलाई सपोर्ट गर्नुभयो । जब कि नेपाली कांग्रेसको नेतृत्व नै बदलिन्थ्यो ।
  
तपाइँलाई त्यहिँ त प्रश्न हो । प्रकाशमान र अरू उम्मेदवार छन् भोट काटिदैन त?
अब प्रकाशमान जीलाई जनताले राम्रोसँग विश्वास गर्ने दिन गए जस्तो लाग्छ मलाई  । एक त उहाँले संसद बनेर देशको दीर्घकालीन हित र क्षेत्र-१ को हितमा उल्लेख काम गर्नुभएको छैन । बरू मैले भनेको जस्तो नाकाबन्दीको बेला राष्ट्रसंघमा गएर चुइक्क बोल्नुभएको छैन । त्यसबाहेक उहाँले नेपाली कांग्रेसको उपसभापति महामन्त्री हुदाँ बुबालाई रूवाएर पार्टीबाट निकाल्नेसँगै साँठगाँठ गर्नुभयो । पार्टी फुट्दा अर्को पक्षमा जानुभयो । त्यसो हुनाले अब उहाँ निकटको प्रतिस्पर्धी चाहि हो तर, मत ८ हजारको फरक हुन्छ म भनिराछु । अब भोट केन्द्रित हुन्छ । बाँडिदैन ।

त्यसका लागि तपाइँलाई शुभकामना । परिस्थिति फेरिएको हो र..? 

सुन्नुस् न मैले चुनाव लड्दा त्यो बेलामा हाम्रो क्षेत्र न. १ संगठन थियो । त्यो बेलामा अरुको स्थानीय तहको चुनावको मत कति थियो । त्यो हुनाले तपाइँले स्थानीय तहको मत नै यो संघीय निर्वाचनमा प्रतिबिम्बित हुन्छ भन्दै सोच्दै नसोच्नुस् । दोस्रो कुरा यो संघीय निर्वाचन हो । अहिले काठमाडौँ क्षेत्र न.१ मा मात्रै होइनन् देशका धेरै जनताले के बुझिसकेका छन् भने जसरी हिन्दु धर्ममाथि धर्मनिरपेक्षताहरूले निरन्तर प्रहार गरे जसरी धर्म धर्मान्तरण बढेको छ । जसरी मान्छेको आस्थामाथि चोट पुगेको छ ।

जसरी संघीयता  लादिएर आर्थिक रुपमा राजनीतिक रुपमा भुराजनीतिक रुपमा र अखण्डताको रुपमा देशलाई घाणो बनाएको छ । जसरी एउटा राजा फालेर एउटै परिवारमा कयौ राजा जन्माइएको छ । यसले देशलाई दीर्घकालीन हित गर्दैन । यस्तो  अवस्थामा राप्रपाले उठाएका एजेण्डा यो देशको हितको एजेण्डा होईन देशको रुपान्तरणको अर्थराजनीतिक एजेण्डा हामीले उठाएका हौँ । त्यसमा जनता बढी कन्मिन्स भएको देख्छु । हामीले भनेका छौँ । हामी नष्ट हुन्छौ । भ्रष्ट हुँदैनौ । यो भनाई मात्र होईन । यो गराई पनि हो । अब प्रमाणित गर्ने बेला आएको छ । 

तपाइँले अहिले भन्दै हिडेको एजेण्डा काउन्टर हुनसक्छ भन्ने अर्को कोणको विश्लेषण रैछ । 

पहिलो यो राजतन्त्र गलत रुपमा प्रयोग भइरहेको छ । हामी राजाले गर्ने भनेको तन्त्र यो होइन हामीले राजसंस्था भनेको राजनीतिभन्दा माथि रहोस् ।
 
खास कुरो वंशको प्रतिकूल ?

त्यो राजनीतिभन्दा माथि हुनुपर्छ भन्ने मान्यता हो संसारभरि नै । जसलाई प्रतीकको रुपमा हेरिन्छ । त्यसैले राजतन्त्र होइन राजसंस्था । दोस्रो कुरा विरोधाभासमा बाँचेको भनेर आएको छ । जुन २०७४ मा पार्टी सुरु गर्दा मैले २०६२/६३ मा एउटा निरन्तर धारणा राखेँ । त्यो के भने म कुनै वंश मेरो बाजेले कसैको घिउ खाथे हात सुग्थे भन्ने संस्थाको म  अनुयायी होईन । मैले अघि पनि भने । म मेरो उत्कृष्टतामा बिश्वास गर्छु । तर त्यो माथि त देश छ । राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार नबनाउनु । दिल्ली दरबार बिदेशी हस्ताक्षेपको बिम्बको रुपमा प्रयोग गरेको हु । नबनाउ त्यसले हित गदैन् भनेकै हो । हामीले पार्टी सुरु गर्दा अब जे हुनु भैसक्यो । देश ठिक बाटोमा जान्छ भने ठिकै छु भनेर हिँडैकै हो । तर दुईजना राष्ट्रपति पाउँदा तपाइँले पहिले राष्ट्रपति राजनीतिभन्दा मााथि उठेको देख्नुभयो ? तपाइँको देशका महत्वपूर्ण विभिन्न संस्था राजनिति भन्दा फरक देख्नुभयो । 

देशका बहालवाला, पूर्व प्रधानमन्त्री राजदुतको बिदाई समारोमा गएर टिसिक्क परेर बसेका पनि देख्नुभयो । देशका भुतपूर्व प्रधानमन्त्री, विदेशी परराष्ट्रमन्त्री आउदाँ होटेलमा लाईन लागेको पनि देख्नुभयो । त्यो बीचमा  भारतीय सुरक्षाविद आएर 'नेपाल इज गोइङ टुबी फ्याङ भन्या पनि सुन्नुभयो । यी सबैले के संकेत गर्छ ? त्यसैले मैले यो देशलाई शीरमा राखेर एजेण्डा परिवर्तन गरको हो ।

विचारभन्दा माथि देश भन्ने वितार पनि विरोधाभास भएको आरोप छ, यसलाई कसरी लिनुहुन्छ ? अहिले विचारकै पछि हुनुहुन्छ । विचारभन्दा माथि देश कि पार्टी ?

हैन मैले व्यक्ति, पार्टी र विचारभन्दा देश माथि भनेको हो । पार्टीको विचार हुन्छ । तर एउटा समय कालखण्डमा पार्टीले समाएको विचार अर्को कालखण्डमा उपयुक्त नहुन पनि सक्छ । कांग्रेस त्यत्रो अडान राखेर बस्यो । तर स्वार्थका कारण गिरिजाप्रशाद कोइरालाई ललिपप देखाएर तिम्रो दाइ देशको पहिलो निर्वाचित प्रधानमन्त्री अब तिमी चाहिँ देशका पहिलो राष्ट्रपति भनेर । कांग्रेस प्रचण्डको एजेण्मा फस्यो । उनले देशको बारेमा सोचेको भए बीपी, गणेशमान, कृष्णप्रसादको लाइनबाट पर जान सक्दैनथे । तर स्वार्थले गणतन्त्रमा गइदिए । भोलि ३०/४० वर्षपछि राप्रपा पनि धार परिवर्तन हुनसक्छन । 

अर्को प्रदेश खारेज भन्ने अनि प्रदेशमा संघमा भन्दा धेरै उम्मेदवार उठाउने ?
हामी यो देशको शान्ति, स्थिरता र दीगो विकासका लागि गणतन्त्र ठीक छैन भनिरहेका छौँ । गणतन्त्र ठीक छैन भन्ने गणतन्त्रात्क संविधानमै आधारित भएर किन लड्ने भनेर सोध्या भए पनि हुनथ्यो । त्यो के भने हामीले संविधान मान्दैनौ भनेको छैन । अहिले हामीले जे भनिरहेका छौँ संविधानको दायर भित्र रहेर हो । त्यसकारण प्रदेश खारेजी भने पनि अहिले संविधानले दिएको जित्ने अधिकार भित्र हामी लडेका छौँ ।

तपाइँ हिँडेको मार्गबाट देश ठीक ठाउँमा आउँछ त ?
आउँछ । ल्याउनैपर्छ ।
कसरी ?
मैले अघि पनि भने यो देशको भूराजनीति बदलिएको छ । द्वितीय, तृतीय राष्ट्रिय राजनीति प्रयोगमा आयो भने यो सम्भवत दक्षिण एसियालीकै हकमा आउँछ । त्यसमा पश्चिमा, भारतीय र चीनको चासो छ । त्यस्तो संवेदनशील ठाउँमा भूपरवेष्टित भएर बसेका छौँ । जसका संस्थाहरू एकदम कमजोर छन् । सेना मात्रै अलिकता पर छ । राजनीतिबाट पर र यान्त्रिक रुपमा हेर्नु भो भन देखिन्न । जातीय संवेदनशीलता बढेर गएको छ । 

भोलि यो देशमा इथोयोपिया, सुडान, अफगानस्थान, इरान, लिबिया जस्तो द्वन्द्व भयो भने कसले सम्हालिदिन्छ । त्यसमा लागि एक कुशल संस्था चाहिएको हो । जसले संकटको बेलामा देशलाई आफूभन्दा माथि राखेर हेर्न सकोस् । लम्पसार नपरोस् । 

यो देशमा संघीयताले ठुलो आर्थिक भार थोपरेको छ । कालान्तरमा सातै प्रदेश रहँदैनन् । अरु देशमा पनि भएको छ । हाम्रो देशमा संकटका बेला संवेदनशील विषयलाई एजेण्डाका रुपमा उठाइन्छ । त्यसमा दलहरू बाध्य भएर झुक्नुपर्ने हुन्छ । जसरी धर्म निरपेक्षताले आज जसरी हिन्दुको मनमा चोट पुर्‍याएको छ । जसरी संसारमा धर्मान्तरण भैइरहेको छ । यसले हित गदैन् । यस्ता समस्या हाम्रो एजेण्डाले ल्याउँदैन ।

त्यसका लागि कति सिट चाहिन्छ ? कति ल्याउँनुहुन्छ ?
यो पटक हाम्रो सशक्त उपस्तिथि हुन्छ । तर अघि मैले भन्या जस्तो आम मतदाता राजनीति मोहजालबाट निस्किएर उनीहरूले मन र मत बदले भने हामी नेतृत्वमा पनि पुग्न सक्छौ ।
२०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठुलो पार्टी हुन्छ भनेर कसले आकन गर्या थियो ? हामी अहिले यतिनै भनेर अहिले नभनौँ । तर हाम्रो उपस्थिति बलियो हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.