निर्वाचनका नाना तरंग

लोकतन्त्रको हृदय हो निर्वाचन। जनताका नसानसामा लोकतन्त्ररूपी रक्तसञ्चार नै आवधिक निर्वाचनको सर्वोपरि उपलब्धि हो। स्वतन्त्रता र समानतामा आधारित निर्वाध अभिव्यक्ति र विचार प्रवाहको अवसर हो यो।
एउटा उन्माद, एउटा निर्बन्ध सामाजिक सञ्चार र निर्भय भावतरंग। अनि एउटा राष्ट्रव्यापी न्यानो उन्मेष जसले जनतालाई तातोतातो बनाएर जागा गराइदिन्छ। यस बखतमा ‘ठूलाठूला’ मानिस आफ्नो औकातमा आएर सतहमा देखिन्छन्। केही अहंकार झुक्छन् र केही अभिमानका गाँठा फुक्छन्। अन्य समयमा दौडाहाजस्तो साहेबी पाराले गाउँठाउँमा आउनेहरू दीनहीन याचक बनेर रनवन र पाखापखेरा धाउँछन्। सधैंका दीनदुःखी र अनाथ जनता निर्वाचनको समयमा ‘दीनहीन नेताका दीनानाथ’ बन्न पुग्छन्। जनवाणीमा स्वच्छन्द स्फुरण र स्वामीभाव पैदा हुन्छ। नेताका कानले नागरिकका आवाज सुन्न थाल्छन्। जनतामा सार्वभौमसत्ता सम्पन्न नागरिक भावको चेतना प्रवाहित हुन्छ। अनायास आफू राष्ट्रको भाग्यविधाता भएको सुखद् अनुभूति हुन थाल्छ।
निर्वाचन राजनीतिक नेता र मतदाताबीचको लुकामारी एवं छोपाछोपीको खेलजस्तै हो। यस अवसरमा गाउँदेखि सहरसम्म राजनीतिभित्र साहित्यिक नवरसको नौ तरंग देख्न र सुन्न पाइन्छ। उदेकलाग्दा र अनौठा उम्मेदवारहरूले जनतामाझ अद्भुत रसको कौतुक देखाउन थाल्छन्। निर्वाचन रमाइलो पर्व पनि हो। आज चुनावको सम्मुखमा जनता र देशप्रति राजनीतिको चिन्ता यत्रतत्र पोखिएको देखेर सबै विस्मयमा छन्। अहिले धेरै नेताको मनमा जनताका दुःख देखेर करुणरस पैदा भएको छ। मानौं यो दया, माया, करुणा र ममताको ऋतु हो। कतिपय उम्मेदवारले जनताको बीचमा पुगेर बीभत्स रस उत्सर्जन गर्दैछन्। केही उम्मेदवारका कुहेका र सडेगलेका कुरा सुनेर मतदातालाई दिगमिगी लाग्छ। तैपनि गल्ती गर्ने नै पुरस्कृत हुने संस्कृति निरन्तर छ यहाँ। प्रेम र घृणाको अजब खेल चल्छ निर्वाचनमा।
साहित्यमा डरलाग्दो, चिन्तित र व्याकुल अवस्थाको वर्णनबाट भयानक रस पैदा हुन्छ। आसन्न निर्वाचनमा चुनिएर राष्ट्रिय विधायिकाको सदनभित्र छिर्ने दाउमा रहेका कतिपय उम्मेदवारको व्याकुलता हेर्न लायक छ। ‘मलाई भोट नदिए कसलाई दिने ? यही चुनावमा नदिए कहिले दिने ?’ भन्दै ट्विटर, फुटसल, कफी पसल र मन्दिरमा पुग्ने उम्मेदवारहरूको बेचैनी भयानक छ। चुनावको सिलसिलामा एकले अर्को उम्मेदवारलाई रिसले आँखा रातारात पार्दै मुड्की देखाएर रौद्र रस चुहाइरहेका छन्। आवेग, सेखी र क्रोधका प्रचण्ड प्रहार गर्दै केही वरिष्ठ नेताहरू महारुद्र बनेका छन्। कोही उत्साह, साहस र निडरता प्रदर्शन गर्दै आफूले कठिन र भीषण काम गरेर देखाउने वीर रस पोखिरहेका छन्। जनताले यी वीरहरूको वीरता देखिसकेका छन्। तैपनि सुन्दा रमाइलो लाग्छ। न भन्नेलाई लाजसरम, न त सुन्नेलाई कुनै नोक्सान।
आसन्न चुनावका लागि मैदानमा उत्रेका वीर–वीरांगानाहरूले कोरीबाटी गरेर शरीर सजाउने, शोभा बढाउने र रसिकता जगाउने काम पनि गरिरहेका छन्। मतदातालाई फकाउने, फुस्लाउने, रिझाउने र फसाउने ध्येयले शृंगार रसको प्रयोग पनि निकै भएको छ। कदाचित माछो बल्छीमा परिहाल्यो भने पाँच वर्षलाई जति शृंगार गरे पनि भयो। आफ्नो सबल पक्ष केही पनि नभेट्टाएका एकथरी नेताहरू अर्काको दुर्बल पक्ष छताछुल्ल पार्न मग्न छन्। यिनीहरूले विपक्षीका अनेकौं विकृत आकार, चेष्टा र रूपको वर्णन गरेर हास्य रस उत्पादन गरिरहेका छन्। सबैभन्दा हाँसो लाग्ने घोषणा त के सुनिन्छ भने ‘मबाट गल्ती त होला तर बेइमानी हुने छैन। त्यसैले मै भोटको हकदार छु।’ बानेश्वरतिरका एक वृद्ध मतदाता भन्दै थिए, ‘नयाँ युवक आए, अब केही होला भनेको त झन् हँसाएर पो मारे।’ मन फुकाएर हाँस्नुहोस् महोदय ! हाँस्नु स्वास्थ्यका लागि लाभदायक छ।
निर्वाचनरूपी रंगशालामा माथिका आठ रसहरू निर्वाचन सकिनुपूर्व नै पैदा हुन्छन्। बाँकी एउटा शान्तरस भने निर्वाचन समाप्त भएपछि मात्र उत्सर्जन हुन्छ। यो रस बडो शालीन र भद्र छ। यो रसले निर्वाचनरूपी रापबाट डामिएका सबैलाई अपार शीतलता दिन्छ। घाउहरू विस्तारै निको हुँदै जान्छन्। निर्वाचनीय कलहको निस्सारताको ज्ञान हुँदै जान्छ। पराजित स्वतन्त्र उम्मेदवारहरूमा वैराग्य छाउँछ। कतिलाई आफ्नै चुनावी उन्माद सम्झेर अचम्म लाग्छ। जनतामा अनुपस्थित हुन थालेका विजयी नेताहरूप्रति वैराग्य उत्पन्न हुन्छ। मानिसहरू आआफ्नो इलम धन्दामा तल्लीन हुन थाल्छन्।
यी त भए निर्वाचनीय विकृति र मनोरञ्जनका कुरा। सम्पूर्णरूपमा विकृतिहीन राजनीति असम्भव छ। हामीसँग राजनीतिको विकृत मैदानबाट कम विकृत विकल्प रोज्नेबाहेक अर्को उपाय छैन। लोकतन्त्रमा अनेक तमासा हुन्छन्। झूट बोल्ने काम पनि मजाले हुन्छ। तानाशाहीमा जनतासँग कुनै कबुल गर्नु पर्दैन। त्यहाँ केबल हुकुम फिराउने काम हुन्छ। सर्वसाधारण जनता जिउन पाएबापत प्रसन्न देखिनुपर्छ। त्यहाँ गुनासोको कुनै स्थान हुँदैन। शासकप्रति कृतज्ञ र अविचलरूपमा अनुगृहित हुनु नै जनताको परम कर्तव्य हुन्छ।
निर्वाचन राजनीतिक नेता र मतदाताबीचको लुकामारी एवं छोपाछोपीको खेलजस्तै हो। उदेकलाग्दा र अनौठा उम्मेदवारहरूले जनतामाझ अद्भुत रसको कौतुक देखाउन थाल्छन्। निर्वाचन रमाइलो पर्व पनि हो।
एक दिन श्री ३ मोहनशमशेरले विद्रोही नेता बीपी कोइरालालाई आफ्नो पुर्पुरोतर्फ देखाउँदै भनेका थिए रे, ‘शासन गर्ने इरादा छ ? शासन गर्न त यी यहाँ लेखेर ल्याउनुपर्छ।’ किन्तु केही वर्षभित्रै तिनै बीपीसमेतको प्रयत्नका कारण मोहनशमशेर कुर्सीबाट उत्रन विवश भए। ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिलले भारतीय आन्दोलनकारी र विशेष गरेर महात्मा गान्धीतर्फ संकेत गर्दै भनेका थिए, ‘भारतीयहरू आफ्नो शासन आफैं गर्न सक्षम छैनन्।’ गोराहरू मात्र विश्वको हरेक कुनामा शासन गर्न सक्षम छन् भन्ने ज्वलन्त अभिमान थियो त्यो। परन्तु आज भारतको स्वशासन पल्लवित र पुष्पित भएर आफ्नो उत्कर्षमा पुगेको छ। त्यति मात्र होइन, हिन्दुस्तानी मूलको कालो युवक स्वयं ब्रिटेनका गोरेहरूको प्रधानमन्त्री बन्न सफल भएको छ। तमाम कमजोरीका बाबजुद लोकतन्त्रको उदार ढोका सबैका लागि खुल्ला हुन्छ।
जनताले आफूले चुनेर पठाएको प्रतिनिधिमार्फत सार्वभौमसत्ताको उपयोग गर्छन्। परन्तु के कुनै नागरिकले हमेसा आफूले मन पराएको व्यक्तिलाई नै चुनेर पठाउन पाउँछ ? पाउँदैन। किनकि प्रायः रुचाइएको व्यक्तिले राजनीतिमा रुचि राख्दैन। राजनीतिमा लागेको रुचाइएको पात्रलाई पार्टीले टिकट दिँदैन। त्यसैले मताधिकार कहिल्यै पनि पूर्ण र निरपेक्ष हुन सक्दैन। निर्वाचनको दुरुपयोग हुन्छ। मौका परे धाँधली हुन्छ। मतदाता जानेर या नजानेर वस्तुभाउ झैं किनिन र बेचिन तयार हुन्छन्। लोकतन्त्र परिपक्व भएका देशमा पनि अनेक तमासा हुन्छन्। परिणामलाई यताउता पार्ने या प्राप्त नतिजालाई स्वीकार नगर्नेजस्ता अनेक प्रपञ्च हुन्छन्। अमेरिका जस्तो मुलुकमा पनि डोनाल्ड ट्रम्पलाई चुनावमा धाँधली गरेरै हराइएको थियो भन्ने विश्वासमा रहेका मानिसको संख्या ठूलो छ। लोकतन्त्रमा पनि केही अनियमितता, केही आरोप–प्रत्यारोप र केही उच्छृंखलता त सहनु नै पर्छ।
निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउने काम निर्वाचन आयोगको हो। लोकतन्त्रमा निर्वाध उम्मेदवारी, स्वेच्छिक मतदान एवं निष्पक्ष परिणामका लागि स्वायत्त संस्थाका रूपमा निर्वाचन आयोगको व्यवस्था गरिएको हुन्छ। शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ। लोकतन्त्रको जगमा उभिएका नेताहरू पनि शक्तिको मदमा निर्वाचनलाई भ्रष्ट पार्न उद्यत् हुन बेर लाउँदैनन्। यस्तोमा निर्भय र आँटिलो भएर कार्यसम्पादन गर्ने दायित्व निर्वाचन आयोगको हो। भारतका तत्कालीन प्रमुख निर्वाचन आयुक्त टीएन शेषनले एकपल्ट भनेका थिए, ‘मै नास्तेमे राजनीतिज्ञोको खाता हुँ।’ शेषन प्रमुख निर्वाचन आयुक्त बन्नुअघि अधिकांश भारतीय मतदातालाई देशमा निर्वाचन आयोग भन्ने संस्था छ भन्ने पनि ज्ञान थिएन।
जो आयोग छ भन्ने जान्दथे, तिनीहरूलाई निष्पक्ष चुनाव सम्भव छ भन्नेमा विश्वास थिएन। टीएन शेषनले निर्वाचन आयोग एक स्वतन्त्र संवैधानिक निकाय हो र निष्पक्ष निर्वाचन सम्भव छ भन्ने कुराको सन्देश सर्वसाधारण जनतासम्म पु¥याए। उनको कार्यकालमा भारतमा एक प्रसिद्ध भनाइ थियो, ‘भारतीय राजनीतिक नेताहरू दुई कुरासँग मात्र डराउँछन्, पहिलो ईश्वर र दोस्रो टीएन शेषन।’ प्रतिकूल वातावरण र कठिन परिस्थितिमा पनि आफ्नो पदलाई दाउमा राखेर हस्तक्षेपकारी शक्तिसँग टक्कर लिन सक्ने हिम्मतका जीवन्त प्रतीक हुन् टीएन शेषन। हाम्रो निर्वाचन आयोग पनि सायद ‘शेषन’ बन्न चाहन्छ तर निसाना भने चुकिरहेको छ।
लोकतन्त्रका पनि अत्यन्तै धेरै कमजोरी छन्। किन्तु अहिलेसम्म अपनाइएकामध्येको सर्वोत्तम प्रणाली यही हो। योभन्दा राम्रो प्रणालीको आविष्कार नहुँदासम्म यसैलाई अंगीकार गर्नेबाहेक अर्को उपाय छैन। नेपालमा पनि लोकतन्त्रलाई तमासा बनाइएको छ। दलहरूले निर्वाचनलाई लुटिएको निर्वाचन (स्टोलन इलेक्सन) जस्तै बनाए। मतदाताले रुचाएको निर्वाचन चिह्न मतपत्रबाट गायब पारियो। गठबन्धन र तालमेलका नाममा विचारको विसर्जन भयो। अमेरिकाका पूर्व राष्ट्रपति दिवंगत जोन एफ केनेडीले भनेका थिए, ‘मानिस मरेर जान सक्छ। राष्ट्रहरूको उत्थान र पतन हुन सक्छ। परन्तु विचार सदा जीवन्त रहन्छ।’
आसन्न निर्वाचनमा दलहरूले गठबन्धन र तालमेलका नाममा ‘विचारधाराको लुटपाट’ गर्न लागेका छन्। तर ‘मुटुमाथि ढुंगा राखी’ मतदान गर्ने विवशता छ। दलहरूले समावेशी र समानुपातिक सिद्धान्तको इज्जत जोगाउन सकेनन्। वास्तविक हकदारको अधिकार खोस्ने काम भयो। दशकौंदेखि लगातार राजनीतिमा आकण्ठ डुबिरहेका नेताहरूका कारण एउटा पिँढी लोकतान्त्रिक प्रतिस्पर्धाबाट वञ्चित भयो। आज निर्वाचन ‘नखाऊँ भने दिनभरिको सिकार’ भएको छ। नयाँ पार्टी खोलेर मैदानमा उत्रेका युवकहरू कुराका पोका मात्र भए। उनीहरूले पनि स्थापित दलका किल्ला तोड्न सकेनन्। ‘मजबुरीका नाम, महात्मा गान्धी’ भनेजस्तो भोलिको आशा जीवित राख्दै यो निर्वाचनलाई राष्ट्रिय पर्वको रूपमा लिनुपर्ने परिस्थिति छ।
हिलो, मैलो, पहिरो र बतासका बीच दसैं मनाउनु सुखद थिएन। तर मनायौं र धर्म एवं संस्कृतिको जगेर्ना ग¥यौं। बतासे र बाछिटे नै भए तापनि आसन्न निर्वाचन एक पर्व नै हो। यस निर्वाचनबाट पुनः पुनः आउने सफा, स्निग्ध र समृद्ध निर्वाचनहरूको जगेर्ना गर्नमा मद्दत पुगोस्। लोकतन्त्र पल्लवित र पुष्पित भएर समुन्नत एवं गरिमामय बन्दै जाओस्। आगामी दिनमा नेपाली हुनुमा गर्व गर्दै शिर उँचो राख्न पाइयोस्। सबैमा
आसन्न निर्वाचन र तत्पश्चात् हुने निर्वाचनहरूको सफलताका लागि हार्दिक शुभकामना !
प्रतिक्रिया दिनुहोस !
