काठमाडौं-७ मा मानुषी-रामवीरको चर्चा, गठबन्धनलाई चुनौती दिँदै राजेन्द्र र श्यामकुमार

काठमाडौं-७ मा मानुषी-रामवीरको चर्चा, गठबन्धनलाई चुनौती दिँदै राजेन्द्र र श्यामकुमार

काठमाडौं: राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा खट्दा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-७ चर्चामा छ।  यो क्षेत्रमा अघिल्लो पटक चुनावी तालमेल गरेर सँगै जनतामाझ गएका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

यो क्षेत्रमा एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रबाट अस्मीता सिंह(मानुषी)बीच कडा टक्कर हुने देखिएको छ । 

विगतको मत तथा मतदाताको राय अनुसार एमालेका ६८ वर्षीय घिमिरे र युवा नेतृ मानुषीबीचनै कडा टक्कर हुने अनुमान स्थानीयको छ । यो निर्वाचन क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् ।

 
सत्ता गठबन्धनबीचको चुनावी तालमेल छ । तर पहिलेको समझदारी अनुसार एमाले, जसपा र राप्रपाबीच तालमेल हुन सकेन । 

चुनावी प्रतिस्पर्धामा जुटेका एमालेका घिमिरे, माओवादी केन्द्रकी मानुषी, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर, जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठ, राप्रपाका ध्रुवविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीलगायत जितको दाबीसहित चुनावी प्रतिस्पर्धामा छन् । 

२०७४ सालको निर्वाचनमा एमालेबाट रामवीर मानन्धर निर्वाचित भएका थिए । त्यतिबेला १८ हजार १०२ मत ल्याएर जितेका मानन्धरले अहिले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका छन् । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका विक्रम थापाले १० हजार ७९ मत ल्याएका थिए । तेस्रो बनेको विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत ल्याएकी थिइन् । गत प्रतिनिधि सभा निर्वाचनमा ३८ हजार ६७६ मत खसेको थियो । 

२०७० सालको निर्वाचनमा पनि मानन्धरनै विजयी भएका थिए । यसरी दुई पटक जितेका मानन्धर अन्तिम समयमा आफ्नो पार्टी एमालेले टिकट नदिएपछि जसरी पनि जित्ने दाबीसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

काठमाडौं-७ मा युवा नेतृ मानुषी, एमालेबाट राज्यमन्त्री बनेका तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका रामवीरको चर्चा धेरै छ। चुनावी अभियानमा होमिएका २८ जना उम्मेदवार नै आफू अब्बल दाबी गरिरहेका छन् ।

शहरी विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहँदा गरेका कामले आफूलाई मतदाताले न्याय गर्ने र जित आफ्नो हुने मानन्धरको दावी छ । उनले माओवादी केन्द्रका उम्मेदवार मानुषी र एमालेका श्यामकुमार घिमिरेलाई कडा चुनौती दिने देखिन्छ। 

मानन्धरले दोस्रो संविधानसभाबाट संविधान जारी गर्ने बेला महत्वपुर्ण भूमिका खेल्ने नेताका रुपमा पनि चिनिन्छन् ।  स्थानीय निकायबाट राजनीति शुरु गरेका मानन्धर काठमाडौं महानगरको वडा नम्वर १६ को वडा अध्यक्ष हुँदै सांसद र राज्यमन्त्रीसम्म बने । 

उनी तत्कालीन नेकपा एमाले र माओवादी एकताका शुत्राधार वामदेव गौतमलाई प्रतिनिधिसभामा पुर्‍याउन पद त्यागको घोषणा गरेर राजनीतिक वृत्तमा धेरै चर्चितभएका थिए । चौतर्फी आलोचनापछि वामदेव आफैँले उम्मेदवार नबन्ने घोषणा गरेपछि यो विषय गौण रह्यो । 

२०४९ देखि २०५९ सम्म नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य भएर काम गरेका मानन्धर २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पूर्वमन्त्री हिसिला यमीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी बने र राजनीतिक छवी केही उचो बनाए । 

उनले आफू जनप्रतिनिधि हुँदा र पदमा रहँदा राजधानीका सम्पदा संरक्षणका क्षेत्रमा चासोकासाथ काम गरेकाले धेरैले तारिफ गर्छन् । रानीपोखरी निर्माणमा देखाएको तदारुकता, काठमाडौको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाले निर्वाचनमा उनलाई फाइदा पुग्ने विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ । 

बन्चरे डाडा ल्याण्डफिल साईट निर्माणको कामदेखि फोहोर मैला सुचना केन्द्र निर्माणलगायतका काम पनि मानन्धरकै सक्रियता र पहलमा भएको स्थानीय बताउँछन् । स्थानीय तह निर्वाचनमा एमालेका मेयर उम्मेदवार केशव स्थापित हराउने भूमिका खेलेको भन्दै केही एमाले नेताले असन्तुष्ट प्रकट गरेका थिए । एमाले नेताकै असन्तष्टि बढेपछि टिकट नपाएका उनी अहिले स्वतन्त्र उम्मेदवार बने ।

यो क्षेत्रमा जनता समाजवादी पार्टीले राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०५१ मै सांसद भएका उनी २०५६ र २०७४ मा पनि सांसदको जिम्मेवारीमा रहे । ०६४ अघिका निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधित्व गरेपनि पार्टी परिवर्तनका कारण उनको प्रभाव केही कम भएको आँकलन स्थानीयको छ । उनी आवद्ध पार्टी जसपा यो क्षेत्रमा निकै कमजोर छ । मालेबाट ०५६ को निर्वाचनमा संसद छिरेका श्रेष्ठ ०६४ को संविधान सभा निर्वाचनमा पराजित भएका थिए । त्यसपछि एमाले छोडेर अशोक राईको नेतृत्वमा खुलेको संघीय समाजवादीमा गएका थिए । त्यसबाट उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि थिए ।  पृष्ठभूमिमा उनी अब्बल देखिए पनि अहिले काठमाडौं क्षेत्र नम्बर-७ का मतदाता समक्ष धेरै चर्चामा नरहेको विश्लेषण हुने गरेको छ । 

त्यस्तै एमालेबाट उम्मेदवार बनेका घिमिरेसँग शैक्षिक र प्रशासनिक अनुभव धेरै छ । शिक्षणमा १० दश वर्ष बिताएका उनले प्रशासनिक क्षेत्रमा २२ वर्षको अनुभव संगालेका छन् । विद्यार्थीकालमा अनेरास्ववीयुमा आवद्ध भएका उनी जिफन्टमा रहेर काम पनि गरे । यो क्षेत्रमा एमालेका अन्य धेरै नेता उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिम समयमा घिमिरेले बाजी मारेका थिए । सांगठनिक मत जे जस्तो भए पनि उनलाई आफ्नै संगठनबाट उठेका उम्मेदवार कडा चुनौती बन्ने देखिन्छन् । 

राप्रपाबाट उम्मेदवार बनेका ध्रुवविक्रम मल्ल खेल क्षेत्रका हुन् । धादिङका मल्ल माओवादी केन्द्र हुँदै राप्रपामा प्रवेश गरेका हुन् । माओवादी केन्द्र निकट गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष एवम् बालाजु डो प्रतिष्ठानका अध्यक्ष मल्ल २०७८ कार्तिकमा राप्रपा प्रवेश गरेका थिए । द्वन्दकालदेखि नै माओवादी केन्द्रमा आवद्ध मल्लले माओवादी निकट जनमुक्ति सेनाको पीएलए स्पोर्टस क्लबमा थिए । उनी करातेका प्रशिक्षक समेत हुन् । खेल क्षेत्रमा नाम कमाएका उनी राजनीतिक वृत्तमा जनतासँग कति निकट हुने हुन् त्यो मतदाताको मतमा निर्भर हुनेछ ।

यो क्षेत्रमा अहिले धेरैको चुनौती बनेकी उम्मेदवार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी पुत्री मानुषी हुन् । विद्यार्थी राजनीनिबाटै संगठित भएर काम गरेकी उनी युवामाझ प्रिय छिन । मानुषीले २०६५ मा त्रिभुवन विश्वविद्यालयको स्ववीयू सचिव भएर काम गरेकी थिइन । 

काठमाडौं महानगरपालिका वडा नम्बर १८, भुरुखेलमा जन्मेकी उनी अहिले नेपाल समाजवादी पार्टीको बागमती प्रदेश सचिव छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी उनी महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउँदै आएकी छन् । नेपाल समाजवादी पार्टीकी नेतृ तर नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसहित उम्मेदवार बन्दा मतदाताले उनलाई कसरी बुझ्छन् त्यो हेर्न बाँकी छ।

काठमाडौं क्षेत्र नम्बर-७ मा ६१ हजार २९१ मतदाता छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार महिला मतदाता ३१ हजार ६६४ र पुरुष मतदाता २९ हजार ६२७ छन् । 

तथ्यांकमा काठमाडौं-७
काठमाडौं क्षेत्र नम्बर-७ मा ६१ हजार २९१ मतदाता छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार महिला मतदाता ३१ हजार ६६४ र पुरुष मतदाता २९ हजार ६२७ छन् । २०७४ सालको निर्वाचनमा ५७ हजार ५५८ मतदाता थिए । अहिले ३ हजार ७३३ मतदाता थपिएका छन् । थपिएका मतदाता अधिकांश २५ देखि ४५ वर्ष उमेर समूहका छन् ।
 
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको १६, १७, १८ र २५ नम्बर वडा पर्छन । यस्तै, तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा पर्छन । नागार्जुन नगरपालिकाका १, २ र ३ नम्वर वडा यसै क्षेत्रमा पर्छन् । 

सोह्रखुट्टे, क्षेत्रपाटी, नरदेवीलगायतका बढी जनघन्तव भएको बस्ती यहीँ पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा काठमाडौं महानगरको १६, १७ र २५, नागार्जुन नगरपालिकाको १ र तारकेश्वर नगरपालिकाको ३ र ५ मा कांग्रेस विजयी भएको थियो । यस्तै, काठमाडौं महागरको १८, नागार्जुन नगरपालिकाको २ र ३, तारकेश्वरको ४ मा एमालेले जितेको थियो । 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा यो क्षेत्रको सबैभन्दा ठुलो दल कांग्रेस छ । तर यस पटक यहाँ कांग्रेसबाट उम्मेदवार छैनन् । गठबन्धनमा नेकपा माओवादीलाई परेको यो क्षेत्रमा मानुषी उम्मेदवार छन् । स्थानीय तह निर्वाचनको परिणाम अनुसार  माओवादी केन्द्रको स्थान पाँचौ मात्र हो । 

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १४ हजार १६७ मत ल्याएको थियो । एमालेले १२ हजार २०२, नेकपा एकीकृत समाजवादीले ३ हजार आठ सय २, राप्रपाले ३ हजार २७ मत तथा माओवादी केन्द्रले ५७६ मत ल्याएको थियो ।

समझदारी अनुसार यस क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल नहुँदा एमालेलाई घाटा लाग्ने देखिन्छ । तर, सत्ता गठबन्धनले माओवादी केन्द्रलाई टिकट दिएकाले उसले कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत तान्नुपर्ने देखिन्छ । किनभने यो निर्वाचन क्षेत्रमा वडाध्यक्षको मत नियाल्दा माओवादी केन्द्रले राप्रपा भन्दा पनि थोरै मत ल्याएको छ । 

कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको मत जोड्दा १८ हजार ५४५ मत हुन्छ ।  जुन एमालेको मतभन्दा धेरै हो । यसरी स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन अघि देखिए पनि चुनावी अभियानमा होमिएका उम्मेदवारको प्रतिबद्धता, जनतासँग गरेका सम्झौताको पालना तथा मतदाताको रोजाइले परिणाम भने फरक हुन सक्नेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.