धवलागिरी र मालिकामा नमुना मतदान, न्यून मत बदर

धवलागिरी र मालिकामा नमुना मतदान, न्यून मत बदर

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ। 

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको हो। धारापानीमा ४२ र दरवाङमा ४५ जनाले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए। 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परीक्षणका लागि नमुना मतदान गरिएको उनले बताए। घिमिरेका अनुसार धारापानीमा सातवटा र दरवाङमा दुईवटा मत वदर भएको थियो। 

परिक्षणका लागि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र दिइएको थियो। स्थानीयवासिन्दा, विद्यार्थी, कर्मचारीहरूले नमुना मतदानमा भाग लिएका थिए। मंसिर ४ गते हुने चुनावमा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ।  

मतदानमा सहभागी भएका सर्वसधारणले संघ र प्रदेशको प्रत्यक्षतर्फ मतदान गर्न सहज भएपनि धेरै चुनाव चिह्न भएको समानुपातिकको मतपत्रमा अलमलिएको बताएका थिए। 

निर्वाचन आयोगको देशव्यापी कार्यक्रमअन्तर्गत म्याग्दीमा कात्तिक १८ गतेदेखि ४६१ जना स्वमसेवक परिचालन भएका छन्।

राजनीतिक दल र उमेद्वारहरूले पनि मतदाता शिक्षालाई केन्द्रित गरेर कार्यकर्ता परिचालन गरेको जनाएका छन्। 

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ५४ हजार ६७८ मत खसेकोमा ९२.४३ प्रतिशत मत सदर भएको थियो।

२०७४ सालको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ४७ हजार ४४९ मत खसेकोमा समानुपातिकको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो। 

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४.८१ प्रतिशत र दुई वटै प्रदेशसभामा एक हजार ४८३ ३.१२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको अभिलेख छ।  

प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन्। 

बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन्। 

मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन्।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल, ११९ वटा मतदान केन्द्र र ८६ हजार जना मतदाता छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.