गृहमन्त्रीमाथि देशद्रोहको आरोप लगाउँदै इमरान खानले भने- गोली लागेकै विन्दुबाट र्याली सुरु हुन्छ
इस्लामावाद : पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई)का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन्।
जिओ न्युजसँग कुरा गर्दै उनले भने, ‘इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन्।‘ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक र्यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरे।
लाहोरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, ‘हामीले निर्णय गरेका छौं। हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो। उक्त घटनामा मोअज्जम शहीद भएका थिए।‘
‘इमरान खानको एउटै मात्र माग छ : उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,’ गृहमन्त्रीले भने। खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद् बनाउन चाहेको पनि सनौल्लाले दाबी गरे।