डोटीमा भूकम्पमा परी मृत्यु हुने ६ जनाकै सनाखत
डोटी : डोटीमा भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। आज मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ७ जना घाइतेहरुमध्ये ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।
मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा र उनकी छोरी १४ वर्षीया तुल्सी बोहरा, त्यसै गरी ४० वर्षीया भगवती बोहरा, उनका छोरा ८ वर्षीय हर्क बोहरा र १३ वर्षीया छोरी सीता बोहरा रहेका छन् । मृत्यु हुनेमा १४ वर्षीया धनसरी बोहरा रहेकी छन् ।
घाइते हुनेहरुमा इशरादेवी बोहरा, धौली बोहरा, बिस्ना बोहरा, चनादेवी बोहरा, महाबीर बोहरा, केशबसिं बोहरा र जगुदेवी बोहरा रहेका छन् । उक्त गाउँमा भुकम्पका कारण ८ घर पुर्णरुपमा भत्किएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएको भाटले जानकारी दिएका छन् । भूकम्पबाट त्रसित भएका स्थानीयहरुको व्यवस्थापनको लागि नेपाल रेडक्रसको टिम समेत परिचालित भएको छ । उनीहरुको खान र बस्नको व्यवस्थापन गाउँकै नजिक भइरहेको प्रहरीले जनाएको छ ।
अहिले उद्धार टोलीले भत्किएको तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाँडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौंको संख्यामा पशु चौपायहरु समेत मरेका बताइएको छ ।
शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किनुका साथै चर्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सो क्षेत्र तथा सायल गाउँपालिका क्षेत्रका ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।