कार्तिक माहात्म्यको अन्तर्वस्तु

कार्तिक माहात्म्यको अन्तर्वस्तु

सन्दर्भअनुसार भिन्न अर्थबोधक समयचक्रको एकाइबोधक शब्द कार्तिक समयवाचक शब्द हो। घडी, पला, दिन–रात, साँझ–बिहान, गते, बार, साता, पक्ष, महिना, ऋतु, अयन, वर्ष आदि समयका विविध अवस्था हुन्। सूक्ष्म रूपमा क्षण, लव, मुहूर्त र युगहरू समयकै अवयव हुन्। समयलाई संवत्सर, अयन, ऋतु, मास, पक्ष, तिथि, बार र नक्षत्र गरी आठ भागमा विभाजन पनि गर्ने गरिएको छ। शब्द ब्रह्म भएकाले विषयवस्तु र प्रसंगअनुसार अनेकार्थक हुन्छ। काल शब्दको एउटा अर्थ समय पनि हो जो बेलाबखतको सूचक हो। कार्तिक शब्दले त्यही सिंगो समयचक्रको एउटा खण्डलाई बुझाउँछ।

शास्त्र भन्छन्– सूर्य आकाश मण्डलमा, चन्द्रमा नक्षत्र मण्डलमा र वायु अन्तरिक्ष मण्डलमा विचरण गर्दछन्। अग्नि पृथ्वी स्थानीय हुन्। समयलाई पूर्वीय वाङ्मयका चिन्तकहरूले १२ महिना र ६ ऋतुमा विभाजन गरेका छन्। मधु–माधव (चैत–वैशाख) ‌= वसन्त, शुक्र–शुचि (जेठ–असार) ‌= गीष्म, नभस्–नभस्य (साउन–भदौ) ‌=वर्षा, ईशु–ऊर्ज (असोज–कार्तिक) ‌= शरद, सहस्–सहस्य (मंसिर–पुस) ‌= हेमन्त र तपस्–तपस्य (माघ–फागुन) ‌= शिशिर ऋतुबाट प्रसिद्ध छन्।

धार्मिक–सांस्कृतिक कृत्यमा संकल्प गरिन्छ। कल्पदेखि संवत्, अयन, ऋतु, मास, पक्ष, तिथि, बार, नक्षत्र आदिको सामूहिक उच्चारण गरी सत्कार्य गर्ने प्रतिज्ञावाक्यको नाम संकल्प हो। यस्ता कृत्यमा विशेषगरी चान्द्रमासलाई ध्यान दिइन्छ। वेद अपौरुषेय विशाल ज्ञानराशि हो। वेदको आँखा मानिने ज्योतिषशास्त्र ः कालवाचक र समयको आदेशकर्ता हो। सिद्धान्त, संहिता र होरा तीन भागमा विभाजित ज्योतिषलाई त्रिस्कन्धात्मक शास्त्र भनिन्छ।

चैत्रशुक्ल प्रतिपदा वत्सरारम्भ तथा सृष्टिको प्रारम्भ दिन हो। यस दिनको सूर्योदयदेखि ब्रह्माले सृष्टिको आरम्भ गरेका हुन्। यस दिनलाई कालगणना सुरु भएको दिन मानिन्छ। लोकव्यवहारका वैशाख, जेठ आदि महिना सूर्यसिद्धान्तअनुसारका हुन्। यिनलाई सौरमासको संज्ञा दिइएको छ। तुला राशिमा सूर्य संक्रमणपछि १ गतेबाट सुरु भएको कार्तिक महिना चान्द्रगतिअनुसार आश्विन शुक्ल पूर्णिमापछि सुरु हुन्छ।

वैदिक सनातन हिन्दू धर्म–संस्कृतिले एक वर्षचक्रभित्रका बाह्र महिनाले फरक विशेषता साँचेको उद्घोष गरेको छ। कालवाचक समय भगवान्कै स्वरूप भएकाले सिंगो समयले जीवनमा उत्तिकै महत्त्व राख्ने सार्वजनिन सत्य हो। शास्त्रहरूमा समयका विशेष अवस्थाको पनि उल्लेख पाइन्छ। श्रीमद्भगवद् गीतामा श्रीकृष्णले आफूलाई महिनाहरूमा मंसिर र ऋतुहरूमा वसन्त बताउनु भएको छ। सनत्कुमारसंहिता अन्तर्गतको कार्तिक माहात्म्यले मंसिरलाई पुण्यदायक महिना भनेको छ। मंसिरभन्दा वैशाख नर्मदा तटमा अझ पुण्यप्रद र त्योभन्दा प्रयागमा माघ लाखगुणा पुण्यदायक हुन्छ भनी माघभन्दा कार्तिक स्नानलाई बढी महत्व दिएको छ (कार्तिक माहात्म्य १।४२–४३)।

उक्त माहात्म्यअनुसार ब्रह्माजीले एकातिर सबै किसिमका दान, व्रत, तीर्थ र नियमहरू र अर्को पल्लामा कार्तिक स्नानलाई राखेर तौलिँदा कार्तिक स्नानको पल्ला गह्रौं भएछ। कलियुगमा सन्तति र सम्पत्तिवान् मानिसले पूर्वजन्ममा कार्तिकस्नान गरेको उल्लेख गरी कार्तिकमा स्नान, दीपदान र तुलसीको सेवा गर्नु भन्नुभएको छ। कार्तिकमा भूमिशयन, ब्रह्मचर्यपालन, द्विदलको त्याग, विष्णुको कीर्तन, सत्य सम्भाषण र पुराण श्रवण गर्ने मानिस जीवनमुक्त हुन् भन्नुभएको छ। कार्तिक समान धर्मवान्, धनवान् र इच्छापूर्ति गरी मोक्ष दिने अरू महिना छैनन् भनिएको छ।

युधिष्ठिरले धर्मका लागि, ध्रुवले धनका लागि, श्रीकृष्णले कामका लागि र नारदले मोक्षका निम्ति कार्तिकव्रत गरेकाले श्रीकृष्णको प्रिय कार्तिकव्रत गर्नुपर्ने आदेश कार्तिक माहात्म्यको छ। भगवान् सूर्य र उनका सारथि अरुणबीचको संवादलाई बालखिल्य ऋषिहरूले नैमिषारण्य तीर्थमा साधनारत शौनकादी ऋषिहरूलाई बताएको कथात्मक अभिव्यक्ति कार्तिक माहात्म्यको मूल कथ्य हो। यस माहात्म्यको मूल उद्देश्य कलियुगका प्रभावले बुद्धि नासिएर कुमार्गमा लागेका मनुष्यहरूको कल्याण गर्नु हो। कथाले १७,२८००० सौरवर्ष आयुको सत्ययुगलाई सत्वगुणी, १२,९६००० सौरवर्ष आयुको त्रेतालाई रजोगुणी, ८,६४००० सौरवर्ष आयुको द्वापरलाई तमोगुणी र ४,३२००० सौरवर्ष आयुको कलियुगलाई मदिरासेवी, यौनोत्तेजक र बेथितिरतको संज्ञा दिएको छ।

सूर्य आफैंले पाञ्चायन देवताको रूप धारण गरेकोले पाञ्चायन देवताका भक्तले पापनाशका लागि कार्तिकस्नान गर्ने आदेश माहात्म्यको छ। सूर्यलाई खुसी पार्न भरकार्तिक, शिवलाई प्रसन्न गर्न आश्विन पूर्णिमादेखि कार्तिकपूर्णिमासम्म, देवीलाई प्रसन्न पार्न आश्विनशुक्ल प्रतिपदादेखि महारात्रि (तिहारको चतुर्दशी) सम्म स्नान गर्नुपर्छ। गणेशको प्रसन्नताका लागि पितृपक्षको चौथीदेखि कार्तिककृष्ण चौथीसम्म, विष्णुलाई खुसी पार्न आश्विनशुक्ल एकादशीदेखि कार्तिकशुक्ल एकादशीसम्म स्नान गर्नुपर्ने निर्देशन छ।

कार्तिकजस्तो महिना, काशीजस्तो पुरी, प्रयागजस्तो तीर्थ, विष्णुजस्तो देवता अर्को छैन भनी कार्तिकस्नान गर्नेले यमराजको सास्ती देख्न पर्दैन भनिएको छ। स्नान गर्न नसक्नेले अरूलाई धन दिएर स्नान गर्नेको हात समातेमा वा कार्तिकस्नान गर्ने ब्राह्मणलाई ओढ्ने वस्त्रदान गरेर पनि स्नानबाट प्राप्त हुने फल पाउने उल्लेख छ। कार्तिकमा विशेषगरी राधादामोदर भगवान्को प्रतिमा तुलसीको छाया वा अमलाको फेदमा राखेर पूजाआराधना गर्न र तुलसीवन उपलब्ध नभए अमलाको वृक्षमुनि पूजा गर्नुपर्ने निर्देश छ। कार्तिकमा विधिपूर्वक दीपदान गर्नेे, वेदपाठीलाई बत्ती बाल्न तेल दिने र अरूले बालेको बत्तीको रक्षा गर्नेले पनि पृथ्वीतलमा रत्नभोग गर्न पाउने विधान छ।

कालका पनि काल सूर्य भगवान् मात्र प्रत्यक्ष देवता हुन्। सम्पूर्ण जगत्लाई जागो गराउने जगच्चक्षुरूप सूर्यमण्डलको मुख्यपूजा–आराधना कार्तिकमा गर्नुपर्ने कार्यनिर्देश माहात्म्यले गरेको छ। वैदिक सनातनी लोक–परलोकमा विश्वास राख्छौंं। पशुपक्षी, वनवनस्पति र नदनदीको अस्तित्व स्वीकार गरी तिनको पूजाआराधना गर्छौं। स्नान–ध्यान, जपतप, पाठपूजा–आराधनाप्रति अगाध विश्वास छ। त्यही विश्वासले हरेक वर्षका प्रतिमहिना, तिथि, वार र नक्षत्रपरक धार्मिक सांस्कृतिक चाडपर्व मनाउँदै आएका छौं। त्यही अक्षुष्ण परम्पराको क्रममा २०७९ असोज २४ गतेबाट कार्तिककृष्णपक्ष सुरु भयो।

सारांशमा खगोल–भूगोलमा विद्यमान र व्यवहारमा सम्पादन गरिने सबै विषयवस्तु समयगर्तकै अधीनमा छन्। वैदिक सनातन धर्मावलम्बी पुनर्जन्ममा विश्वास गर्छौं। हाम्रा धार्मिक–सांस्कृतिक चाडपर्वको उद्देश्य ईश्वरको सर्वोत्कृष्ट रचना मनुष्यजीवनलाई सार्थक बनाउनमा केन्द्रित छन्। आर्यावर्त पृथ्वीतलको उत्तम भूखण्ड हो। यस्तो पवित्र स्थलमा मानवचोला पाउनु मनुष्यको अहोभाग्य हो। यस्तो उत्तम जीवनको सार्थकता आत्मज्ञान प्राप्तिबिना असम्भव छ। यही तथ्य चिन्तन–मनन गरेर हाम्रा ऋषिमहर्षिहरूले विभिन्न कालखण्डका माहात्म्य प्रकाशन गरी हामीलाई छोडेका छन्।

सबै कृतिको एकमात्र धेय हाम्रो हित गर्नु हो। ती महात्म्यहरूमा मानवले आफ्नो उद्धारका लागि गर्नुपर्ने समयसापेक्ष कृत्यको उल्लेख उदाहरणसहित गरिएकाले अनुकरणीय छन्। मानवजीवनलाई सफल पार्ने त्यस्तै कृतिमध्येको २६ अध्यायव्यापी १३२८ श्लोकको सफल कृतिको नाम कार्तिक माहात्म्य हो। उत्कृष्ट चोलाको प्राप्ति साधनापूर्ण जीवननिर्वाह गरी उध्र्वगमनका लागि भएको हुन्छ। तसर्थ स्नान मात्रको अल्प परिश्रमबाट पुण्यलाभ हुने विष्णुप्रीतिकर कार्तिकस्नान, दान र इश्वरीय पूजा–उपासना गरी मनुष्यले आत्मउद्धार गर्नुपर्ने निर्देशन कार्तिक माहात्म्यको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.