निर्वाचनको बेलामा मात्र जिल्ला हेर्न आउने उम्मेदवार म होइन : गोकर्ण विष्ट
गुल्मी : प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर २ का एमाले उम्मेदवार एवं नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनको बेलामा मात्र जिल्ला कस्तो रहेछ भनेर हेर्न आउने उम्मेदवारको रुपमा आफू नभएको बताएका छन्।
चुनावी भेटघाटका क्रममा गाउँ-गाउँ पुगेका विष्टले आफू निर्वाचनको बेलामा मात्र नभइ जनताको दुःख, सुखमा जतिबेला पनि सँगै भएको स्पष्ट पारेका छन्। ‘जिल्लामा बाढीपहिरो, कोरोना महामारी, जनताले बत्ती नपाउँदा, पिउने पानी नपाउँदा, बालबालिकाले पढ्न नपाउँदा यी सारा दुःखमा म इमान्दार सिपाही र भरियाको रुपमा काम गरिरहेको छु’,विष्टले भने,‘गुल्मी रुदा मेरो मन रुन्छ। हामी जनताका सारथी हौँ।’
विष्टले गठबन्धनबाट उम्मेदवार बनेकी नेतृ रामकुमारी झाँक्रीलाई पाहुना उम्मेदवारको संज्ञा दिए। क्षेत्र नम्बर २ मा विष्ट र झाँक्रीको प्रतिस्पर्धा छ।