मोरङ क्षेत्र नम्बर ३ ‘क’का लागि नयाँ निर्वाचन तालिका सार्वजनिक गरिंदै
काठमाडौं : मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि आयोगले मंसिर ४ गते निर्वाचन हुने गरि काम अगाडि बढाएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फका लागि आयोगले नयाँ निर्वाचन तालिकाको कार्यक्रम टुंगो लगाउँछ। यसका लागि सम्बन्धित निर्वाचन कार्यालयबाट आयोगमा पत्र आउँछ। त्यस अनुसार सम्बन्धित दलको मात्रै उम्मेदवारी लिएर मंसिर ४ गते नै त्यहाँ पनि निर्वाचन हुन्छ।
नेपाली कांग्रेसका पुराना नेता थापा आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ ‘क’बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारसमेत थिए। उनी कांग्रेसको प्रदेश १ का सदस्य हुन्। १ महिनादेखि उपचाररत थापाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान १०:४० बजेतिर निधन भएको हो। नोबेल अस्पतालको न्यूरो वार्डको ११ नम्बर कोठामा उनको उपचार भइरहेको थियो।
स्वर्गीय कांग्रेस नेता थापाको ५८ वर्षको उमेरमा डेंगी लगेर निधन भएको हो।