मुस्ताङमा निर्वाचन प्रचारको बाधक बन्दै मौसम
जोमसोम: देशभर चुनावी सरगर्मी छ । नेता, उम्मेदवार आफ्नो पक्षमा भोट माग्दै चुनावी मैदानमा छन् । तर मौसमका कारण मुस्ताङमा चुनावी रौनक धेरै छैन ।
मंसिर ४ निर्वाचनको मिति तोकिए पनि मुस्ताङका लागि यो समय निर्वाचनको उपयुक्त थिएन । यो समयमा हिमपात हुने र चिसो बढ्ने भएकाले खासै चुनावी रौनक छैन ।
चुनावी सभा सम्मेलन भएका छैनन् । सँगै स्थानीय नेता कार्यकर्ता पनि भोट माग्दै र्यालीसहित निस्किएका छैनन् ।
निर्वाचनको बेला मुस्ताङको राजनीतिक चहलपहल अलि ढिलो देखिन्छ । तर नतिजा भने छिट्टै आउँछ । जनसंख्या थोरै भएकाले यहाँको नतिजा चाँडै आउने गर्छ।
प्रतिनिधि र प्रदेशसभाका लागि यसपटकको निर्वाचनमा मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधि सभातर्फ ४ जना र प्रदेश सभामा ५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचन मिति सम्मुखमा आईपुग्दा आईतबारदेखि मुस्ताङका राजनीतिक दल र तीनका उम्मेदवार घरदैलो कार्यक्रममा जुट्न थालेका छन् । थासाङको नाउरिकोट, कोवाङखन्ती, लार्जुङ, सौरु र लेतेमा घरदैलो कार्यक्रम भएको छ ।
अहिले मुस्ताङमा चिसो बढेको छ । तल्लो मुस्ताङमा पनि बिहान र बेलुका चिसो बढ्न थालेको छ । उम्मेदवार चिसो थेग्दै, मतदातासँग मत माग्न थालेका हुन् ।
मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९५७ जना मतदाता छन् । प्रदेश १ मा १६ र प्रदेश २ मा २३ वटा मतदान केन्द्र तोकिएको छ ।