नुवाकोटमा चुनावी मैदानमा छैनन् पूर्वमन्त्री र सांसद
नुवाकोट: आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नुवाकोटमा धेरै पूर्वमन्त्री तथा पूर्वसांसद उम्मेदवार छैनन् ।
नेकपा एमालेका पूर्वसांसदहरु महेन्द्रबहादुर पाण्डे, विष्णु रिमाल, विन्दा पाण्डे तथा कांग्रेसका डा. रामशरण महत यस पटक प्रत्यक्षतर्फको उम्मेदवार बनेनन् ।
पाण्डे एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वराजदुतसमेत हुन् । रिमाल एमालेका उपमहासचिवका साथै नेपाल ट्रेड युनियन महासंघ जिफण्टका पूर्व अध्यक्ष तथा केपी ओली प्रधानमन्त्री हुँदा ओलीका प्रमुख राजनीतिक सल्लाहकार हुन्।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, राप्रपाका डा. प्रकाशचन्द्र लोहनी र समाजवादीका गोविन्द नेपाली यस पटक समानुपातिकतर्फ उम्मेदवार छन् । एमालेका महेन्द्रबहादुर पाण्डे र समाजवादीका राजेन्द्रप्रकाश लोहनी गत २०५६ सालको आम निर्वाचनमा क्रमशः नुवाकोट क्षेत्र नं. ३ र १ का विजेता हुन् भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा विष्णु रिमाल, विन्दा पाण्डे र गोविन्द नेपाली संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
विन्दा पाण्डे २०७४ मा पनि एमालेवाट समानुपातिकतर्फको सांसद थिइन् । कहिले पनि प्रत्यक्षतर्फ चुनाव नलडेका समाजवादीका गोविन्द नेपालीलाई उनको दलले यस पटक समानुपातिकको सूचीमा राखेको छ ।
राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोटबाट पटक/पटक चुनाव जितेर मन्त्रीसमेत भइसकेका नेता हुन् भने डा. लोहनीले परराष्ट्र, कृषि तथा अर्थमन्त्रीसमेत भएर काम गरिसकेका छन् । यद्यपी, डा. लोहनी पहिलो संविधान सभामा समानुपातिकतर्फ सभासद भएका थिए ।
यस पटक पनि राप्रपाले उनलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । उनी मत माग्दै आफ्ना पुराना मतदातामाझ पुगिरहेका छन् ।
एमालेका महेन्द्रबहादुर पाण्डे यस पटक प्रत्यक्ष तथा समानुपातिक दुवैमा अटेनन् । कांग्रेसमा पनि यस पटक पूर्वमन्त्रीद्वय डा. रामशरण महत र प्रवक्ता डा. प्रकाशरण महत पनि गृह जिल्ला नुवाकोटमा प्रत्यक्षतर्फको उम्मेदवार बनेनन् ।
पटक/पटक मन्त्री भइसकेका डा. महतद्वय मध्ये यस निर्वाचनमा डा. प्रकाशशरण महत भने समानुपातिक सूचीमा छन् । सात पटक मन्त्री भइसकेका डा. रामशरण महतले संसदीय यात्रा विश्राम गरेका छन् ।
डा. रामशरणले नुवाकोट २ बाट २०५१, २०५६, २०६४, २०७० को निर्वाचन जितेका हुन् । उनी एकपटक पराराष्ट्र र ६ पटक अर्थमन्त्री भइसकेका छन् ।
२०७४ को निर्वाचनमा माओवादीका हितबहादुर तामाङले डा. महतलाई पराजित गरेका थिए । माओवादी केन्द्रका पुर्व सभासदहरु विमला सुवेदी, सन्तुमाया तामाङ र राममाया बोगटी नुवाकोटमा प्रत्यक्षतर्फको उम्मेदवार बनेका छैनन् ।
यद्यपी, विमला सुवेदी भने यस पटक समानुपातिकतर्फको उम्मेदवार रहेकी छन् । समाजवादीका राजेन्द्रप्रकाश लोहनी र माओवादीकी राममाया वोगटीले सत्तारुढ दलहरुबीच सहमतिका आधारमा क्रमश: नुवाकोट २ को क र नुवाकोट २ को ख को प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
यद्यपी, बोगटीको उम्मेदवारी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इमेलमार्फत उम्मेदवारी फिर्ता गराए पनि लोहनीको भने कानून अनुसार उम्मेदवारी कायमै रहेको छ । २०७४ मा नुवाकोट २ को ख का प्रदेश सभा सदस्य विजयी हीरानाथ खतिवडा यस पटक चुनावी मैदानबाट बाहिरिएका छन् ।
नुवाकोटमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा पूर्वमन्त्रीहरु अर्जुननरसिंह केसी, हितबहादुर तामाङ, राधिका तामाङ तथा प्रत्यक्षतर्फ प्रदेश सभामा पुर्वमन्त्रीहरु केशवराज पाण्डे र बद्री मैनाली चुनावी मैदानमा छन् । केसी र तामाङद्वय सत्तारुढ गठबन्धन तथा पाण्डे र मैनाली एमालेका उम्मेदवार हुन् ।
उता, नुवाकोटसँगै जोडिएको रसुवामा गत २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकमा विजयी नेकपा एमालेका छोवाङतेन्जिङ तामाङ पुनः चुनावी मैदानमा छन् । उनीसँग प्रतिस्पर्धामा २०७४ सालमा विजयी कांग्रेसका मोहन आचार्य दोस्रो पटक सत्ता गठवन्धनवाट चुनावी मैदानमा भिडेका छन् ।
२०७० को संविधान सभामा प्रत्यक्ष विजयी नेकपा एमालेका जनार्दन ढकाल २०७४ सालमा आचार्यसँग पराजित भएपनि यस पटक भने चुनावी मैदानमा अगाडि बढेनन् । २०७४ को निर्वाचनमा रसुवा ख बाट प्रदेश सभा सदस्य तथा २०६४ सालमा तत्कालीन माओवादीबाट संविधान सभा सदस्य जितेका प्रेमबहादुर तामाङ यस पटक उम्मेदवार छैनन् ।