मुस्ताङको ३९ मतदान केन्द्रमा ३९६ कर्मचारी खटाइँदै
जोमसोम: हिमाली जिल्ला मुस्ताङका ३९ मतदान केन्द्रमा ३९६ जना कर्मचारी परिचालन हुने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुस्ताङका ३९ मतदान केन्द्रको लागि ७७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत परिचालन गर्ने जानकारी गराएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको नामावली मंगलबार सार्वजनिक गरेको हो । निर्वाचनका लागि ३९ मतदान केन्द्रमा खटाईने सहायक कर्मचारी १७६ जना, सहयोगी कर्मचारी (कास) ३९ जना र स्वयंसेवक कर्मचारीको व्यवस्थापन गर्ने गृहकार्य भईरहेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए ।
निर्वाचन आयोगले २५० जना मतदाता भएको मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत ,चार जना सहायक कर्मचारी, एक जना कास, र २ जना स्वयंसेवक कर्मचारी गरी ९ जना कर्मचारी खटाउने व्यवस्था गरेको छ ।
२५१ जना मतदाताबाट ५०१ जनासम्म मतदाता रहेको मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी ५ जना, कास १ र स्वयंसेवक कर्मचरी ३ जना गरी ११ जना खटिने छन् । यस्तै, ५ सय देखि माथि रहेको मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी ५ जना ,कास १ र स्वयंसेवक ४ जना गरी १२ जना कर्मचारी खटाईने भएको छ ।