भन्सार छलेको चिनी र मल बरामद
रौतहट : भारतबाट नेपाल भित्र्याई भण्डारण गरिएको अवस्थामा नेपाल प्रहरीले ठूलो परिमाणमा चिनी र डीएपी रासायनिक मल बरामद गरेको छ।
सीमा वारिपारिको कारोबार गर्ने तस्करहरूले भारतीय बजार घोडासहानबाट ल्याएर भण्डारण गरिएको अवस्थामा १ सय ५९ बोरा चिनी र २५ बोरा डीएपी रासायनिक मल बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालयको टोली र प्रहरी चौकी मठियाको संयुक्त टोलीले रौतहटको इशनाथ नगरपालिका-४ लतमरीस्थित सीमावर्ती क्षेत्रबाट अवैधरूपमा नेपाल भित्र्याएको करिब ७ लाख मूल्य बराबरको चिनी र रासायनिक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले बताए।
बरामद गरिएको ६ लाख ९८ हजार मूल्य बराबरको चिनी र डीएपी रासायनिक मल आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।