पक्राउ परेका नेकपा बहुमतका जिल्ला नेता रिहा
बागलुङ : निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै गर्दा बागलुङमा पक्राउ परेका धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा महुमतका तीन जना नेता रिहा भएका छन्।
बागलुङ नगरपालिका-२ ट्राफिक चोकमा मंगलबार साँझ निर्वाचन आचारसंहिता विपरित निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा बहुमतका नेता दलसिंह खत्री, हरि नेपाली र कृष्ण बहादुर कुँवरलाई पक्राउ गरेको थियो।
उनीहरुलाई बुधबार परिवारको जिम्मा लगाएर तारेखमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए। उनीहरु तीनै जना बागलुङको गलकोट नगरपालिका-१ का रहेको प्रहरीले बतायो।
उनीहरुको साथबाट संघीय निर्वाचन बहिस्कार गरौँ लेखिएका पोष्टर र पर्चा बरामद गरिएको थियो। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतसहित विप्लब नेतृत्वको नेकपा, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टी र नेकपा (मशाल)ले बहिस्कार गर्ने निर्णय गरेका छन्।
उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेर निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने, पर्चा बाड्ने काम गरिरहेका छन्।