भूकम्पको उच्च जोखिममा पश्चिम
सुर्खेत/नेपालगन्ज : डोटीमा बुधबार बिहान भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो। ७ जना घाइते भए। खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाएर मध्यराति २ः१२ मिनेटमा गएको ६.६ म्याग्निच्युड भूकम्पको धक्काबाट सुदूरपश्चिममा दर्जनौं घरमा क्षति पुगेको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बुधबार दिउँसो ४ बजेसम्म २ सय ३२ पटक पराकम्प मापन गरिएको थियो। पराकम्प आउने क्रम रोकिएको छैन। भूकम्पको ठूलो धक्का र त्यसपछि लगातारका पराकम्पका कारण नेपाल पश्चिम क्षेत्रमा सर्वसाधारण त्रसित बनेका छन्। ‘२०७२ मा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पछिसम्मै पराकम्पहरू गइरहे’ शर्माले भने, ‘यसपालि डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का पनि ठूलो थियो। त्यसकारण केही दिन त्यसको पराकम्पहरू आउन सक्छन्।’
भू–गर्भ विज्ञहरूले पनि अब कुनै पनि बेला नेपालको कर्णाली र सुदूरपश्चिम क्षेत्रमा भूकम्पको ठूलो धक्का आउन सक्ने जोखिम कायमै रहेको बताएका छन्। मुख्य गरी भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ। त्यसमा पनि लामो समयदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि अब ठूलो धक्का आउने अनुमान गरेका छन्।
‘पश्चिम नेपाल सधैं भूकम्प जान सक्ने क्षेत्र हो। सन् १५०५ देखि सन् २०२२ सम्म यो क्षेत्रमा ठूलो भूकम्प गएको छैन। त्यसैले पनि यो क्षेत्रमा सधैं खतरा नै खतरा छ’, इन्जिनियरिङ भू–गर्भविद् डा.रञ्जनकुमार दाहाल भन्छन्, ‘आजको भूकम्प यो क्षेत्रमा भूकम्पीय जोखिम छ भन्ने संकेत हो। यो क्षेत्र खतरामा छ। भूकम्पीय त्रासदी यस क्षेत्रमा डरलाग्दो छ भनेर सिकाएर गएको छ। अब हामीले विचार पुर्याउनुपर्छ।’
नेपालको पूर्वीक्षेत्र र भारत आसपासमा सन् १९३४ र नेपालको मध्यभागमा सन् २०१५ मा गोरखा केन्द्रबिन्दु भएर भूकम्प गइसकेको छ। ‘नेपालको पूर्वी भाग र मध्यभागमा ठूला भूकम्प गइसके’ प्राविधिक सहायक शर्मा भन्छन्, ‘तर वर्षौंदेखि पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन, यसकारण पनि अब नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्पको धक्का आउने जोखिम छ।’ उनकाअनुसार यसअघि पश्चिम नेपालमा सन् १५०५ मा ठूलो भूकम्प गएको थियो।
त्यसयता ठूला भूकम्पका धक्का पश्चिममा नआएकाले पनि जोखिम धेरै रहेको शर्माको भनाइ छ। ‘पृथ्वीको गर्भमा दुइटा प्लेटबीच टकराव जारी छ। त्यही संघर्षका कारण पृथ्वीको गर्भमा शक्ति सञ्चित भएर बसेको छ’, शर्माले भने, ‘लामो समयसम्म पश्चिम नेपालमा ठूलो भूकम्प नगएका कारण त्यही सञ्चित भएको शक्ति कतिबेला विस्फोट हुन्छ भन्न सकिन्न। त्यही विस्फोटले अब कुनै पनि बेलामा ठूलो भूकम्प जाने सम्भावना छ।’ अब नेपालको गोरखादेखि पश्चिमतर्फ भारतको देहरादुनसम्म जोखिम रहेको उनको भनाइ छ।
- सन् १५०५ मा गएको थियो पश्चिम नेपालमा ठूलो भूकम्प
- ५१७ बर्षयता नेपालको पश्चिममा गएको छैन ठूलो भूकम्प
- भारतीय र तिब्बतीयन दुइटा प्लेटको टकराव जारी
- प्लेटको टकरावले सञ्चित भएको शत्तिाm कुनै पनि बेला बिस्फोट हुनसक्ने
विज्ञका अनुसार पृथ्वीको सतहमा कडा जमिन भएको स्थानभन्दा दबदबे अर्थात् कमजोर माटो भएको स्थानमा भूकम्पको जोखिम धेरै हुन्छ। नेपालको पश्चिम क्षेत्रमा गत असारमा विज्ञहरूले भूकम्पको जोखिमबारे अध्ययन गरेका थिए। यद्यपि त्यसको प्रतिवेदन आउन बाँकी छ। पेरिसका प्रोफेसर तथा भूकम्पविद् फेडरिक पेरियर र खानी तथा भूगर्भ विभागका प्राविधिक सहायक राजेश शर्माको टोली अध्यनका लागि दार्चुलाको तातोपानी क्षेत्रमा पुगेको थियो। प्रारम्भिक अध्ययनको क्रममा पेरियरले नेपालको पश्चिम क्षेत्रमा लामो समयसम्म ठूलो भूकम्प नगएकाले अब कुनै पनि बेलामा ठूलो भूकम्पको धक्का आउनसक्ने बताएका थिए।
अध्ययनमा सहभागी शर्मा भन्छन्, ‘अध्ययनको अन्तिम रिपोर्ट आउन बाँकी छ, तर पश्चिम क्षेत्रमा ठूलो भूकम्पको धक्का आउन सक्ने सम्भावनालाई नकार्न सकिन्न।’ उनका अनुसार उक्त अध्ययनको क्रममा महाकाली किनारको पानीको तापक्रम ६४ डिग्री पाइएको थियो। पानीको तापक्रम घटबढ हुनु, एकाएक बढ्नु र जमिनबाट ग्यास निस्केको खण्डमा भूकम्पको जोखिम बढी भएको अनुमान लगाउन सकिन्छ। भूकम्प मापन केन्द्रका अनुसार पछिल्ला वर्षहरूमा सुदूरपश्चिमका दार्चुला, बझाङ र डोटीलगायतका जिल्लामा केन्द्र भएर भूकम्पका ससाना धक्काहरू आउने गरेकाले पनि पश्चिम क्षेत्रमा भूकम्पको जोखिम कायमै भएकाले सचेत हुनुपर्ने विज्ञहरूले सुझाव छ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन शाखाले प्रदेशका उत्तरी जिल्ला भूकम्पीय बढी जोखिममा रहेको, दैलेख दोस्रो बढी र कालिकोट तेस्रो बढी जोखिममा रहेको जनाएको छ। मन्त्रालयले जारी गरेको एक सूचनामा ८.६ म्याग्निच्युटको विनासकारी भूकम्प बिदाको दिन गएमा ७ हजार ९ सय ८, राति गएमा ११ हजार ५ सय ३० र कार्यालय समयमा गएमा ४ हजार ८ सय ९४ जना मानिसको मृत्यु हुने सूचना जारी गरेको छ।
त्यसैगरी मध्यम खालको भूकम्प (७.८ म्याग्निच्युट)को भूकम्प रुकुम पश्चिमलाई केन्द्रबिन्दु बनाएर जाँदा पनि कर्णाली प्रदेशमा एक सय जनाको ज्यान जाने र चार हजार जना घाइते हुने आंकलन गरेको छ। लुम्बिनी प्रदेशमा १ लाख ४६ हजार ६ सय १३, सुदूरपश्चिम प्रदेशमा ५२ हजार ६ सय ७२ र कर्णाली प्रदेशमा ४२ हजार २ सय ३८ घरमा क्षति हुने मन्त्रालयले जनाएको छ।
विपद् विशेषज्ञ डा. श्रीजनबहादुर मल्ल विश्वका भूकम्पीय जोखिम बढी भएका देशमा नेपाल ११औं नम्बरमा भए पनि भूकम्पबाट जोगिने पूर्वतयारीमा कमजोर रहेको बताउँछन्। पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहे पनि यो क्षेत्रका भूकम्प प्रतिरोधी संरचनाको अभाव रहेको अनुभव सुनाउँछन्। ‘भूकम्पसँग लड्न सकिँदैन। जोखिन त सकिन्छ नि तर हाम्रा संरचना भूकम्प प्रतिरोधी छैनन्। त्यसका लागि भूकम्प प्रतिरोधी मापदण्ड बनाउन ढिलो गर्नुहुँदैन’, उनको सुझाव छ, ‘व्यक्ति अब चनाखो र जागरुक हुन जरुरी छ।’