‘पहाडकी रानी’ तानसेनलाई कसले सिंगार्ने ?
पाल्पा : काठमाडौंको भाइ, नेपालको दार्जिलिङ र पहाडकी रानीको उपमाले चिनिन्छ पाल्पाको तानसेन सहर। तर, यति धेरै उपमा पाएको यो सुन्दर सहरले न त, स्थानीयलाई अड्याउन सकेको छ, न पर्यटकलाई आकर्षित गर्न नै। पछिल्लो समय हुने निर्वाचनमा दल र नेताले यसै समस्यालाई एजेन्डा पनि बनाउँछन्। व्यवस्थित बनाउने र विकास गर्ने प्रतिबद्धता राख्छन्। तर, उनीहरूले भनेजस्तै परिवर्तनको महसुस भने यहाँका नागरिकले अझै गर्न पाएका छैनन्। पुनः आउने निर्वाचनका लागि यो दलको एजेन्डा बनेको छ।
५ सय वर्ष पहिले सेन वंशीय राजा रुद्रसेनले घना जंगल फडानी गरी बस्ती बसाएको तानसेनबाट बाहिरिनेको संख्या बढ्दो छ। कुनै समय शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनेको तानसेनबाट बसाई सर्नेहरूको संख्या बर्सेनि बढ्दै गएको तानसेन नगरपालिकाका मेयर (नगरप्रमुख) सन्तोषलाल श्रेष्ठ बताउँछन्। उनका पाँच दाजुले पाल्पा छोडिसकेका छन्।
कुनै बेला मुलुकको व्यापारिक एवं शैक्षिक हब मानिएको तानसेनलाई पुरानै अवस्थामा फर्काउने चुनौती देखिएको छ। आसन्न निर्वाचनको माहौलले सदरमुकाममा चहलपहल बढाएको छ। तर, मतदाताहरू निराश छन्। ‘पहिले व्यापार राम्रो थियो। अहिले छैन। घर खर्च चलाउनै गाह्रो भइसक्यो,’ तानसेन ३ भगवती टोलमा जुत्ता सिलाउन बसेका (जुत्ता व्यवसायी) नेत्र गैरे भन्छन्, ‘नेताहरू चुनावको बेला मुख देखाउन आउँछन्। विकास गर्छु भन्छन्। चुनाव जिते पछि केही गर्दैनन्।’
लुम्बिनी प्रदेशको ऐतिहासिक एवं धार्मिक सहर तानसेनले १०९.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। स्थानीयदेखि प्रदेश एवं संघीय सरकारले ध्यान नदिँदा ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय सम्पदा छरिएको तानसेन बिरानो बन्दै गएको स्थानीय बासिन्दाको दुःखेसो छ।
तनावमा तानसेन
२००७ सालमा स्थापना भएको तानसेन काठमाडौं र भक्तपुर पछिको तेस्रो पुरानो सहर हो। गुल्मी, अर्घाखाँची, स्याङजा, बागलुङ, लमजुङ, कास्की, पर्वत, प्युठान र म्याग्दी जिल्लावासीहरू नुन, तेलका लागि त्यहाँ पुग्थे। पुरानो पदमार्गका रूपमा तानसेन परिचित थियो। बुटवल झर्ने मुख्य नाका नै तानसेन थियो। अहिले गाउँबाट तानसेन र तानसेनबाट बुटवल, पोखरा, नारायणघाट, काठमाडौं पलायन हुने क्रम बढ्दो छ।
प्रजातन्त्रको पुनस्र्थापना भएसँगै तानसेनबाट बसाई सर्नेहरू बढ्दै गएको स्थानीय बताउँछन्। तानसेनमा खानेपानी (पिउने पानी) को अभाव छ। साँघुरा सडक र अव्यवस्थित बस्तीले सौन्दर्यमा क्षति पु¥याएको छ। तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यका अनुसार, २०७६ वैशाखदेखि २०७९ असोज मसान्तसम्म १२ सय ५ जना तानसेनमा बसाइँ सरेर आएका छन्। तानसेनबाट २ हजार ६२ जना बसाइँ सरेर अन्य जिल्लामा गएका छन्।
२०५८ सालमा पाल्पाको जनसंख्या २ लाख ६८ हजार ५ सय ५८ थियो। १० वर्षपछि २०६८ सालमा जनसंख्यामा ७ हजारले घट्यो। २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार, जनसंख्या २ लाख ६१ हजार १ सय ८० छ। एक दशकको अवधिमा जनसंख्या वृद्धि ऋणात्मक हुन पुगेको छ। २०७८ सालको प्रारम्भिक तथ्यांकअनुसार, जिल्लाको जनसंख्या २ लाख ४२ हजार ४ सय २३ रहेको छ। बसाइँ सरेर अन्यत्र जाने जिल्लाको सूचीमा पाल्पा छैटौं स्थानमा छ।
शैक्षिक स्तर खस्किँदो, स्वास्थ्यमा सबल
जिल्लाको एकमात्र सरकारी त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी भर्ना हुने क्रम बर्सेनि घट्दो छ। तानसेन ५ कैलाशनगरका जगत आलेले दैनिक ३०-४० जना विद्यार्थीलाई दिनहुँ भात खुवाउँथे। तर, अहिले रेस्टुराँ व्यवसाय बन्द गरी तरकारी बिक्री गर्न थालेका छन्। किन त ? ४९ वर्षीय आले भन्छन्, ‘विद्यार्थीहरू सदरमुकाममा पढ्न आउनै छोडे। विद्यार्थी पढ्न नआएपछि मेरो
व्यवसाय पनि चलेन।’
पाल्पामा १९८३ सालमा पुस्तक पढ्ने दलानका धवल पुस्तकालय स्थापना भएको थियो। २००४ सालमै पद्मशमशेरले तानसेनमा पद्म पब्लिक माध्यमिक विद्यालय स्थापना गरेका थिए। नारी शिक्षालाई उच्च प्राथमिकता दिँदै २००७ सालमा मोहनकन्या विद्यालयका स्थापना भएको थियो। राणा, सेनहरूका छोराछोरीहरू मात्र पढ्न जान थालेपछि जनताका छोराछोरीले पढ्न पाउनुपर्ने आवाज उठ्यो। तत्कालीन कम्युनिस्ट नेताहरू जगतबहादुर जोशी, चिनियाँलाल बज्राचार्यलगायतले २००८ सालमा जनता विद्यालयको स्थापना गरे। २००६ सालमा सिल पाठशालाको स्थापना भयो। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मोहनमान सैंजुले सिल पाठशालामा पढेका थिए।
विगतमा एसएलसी परीक्षामा बोर्ड दशौंसम्मको स्थान ल्याउने पाल्पाको शैक्षिक गुणस्तर खस्किएको छ। २०७८ सालको एसर्ईई परीक्षामा पाल्पाबाट कुनै पनि विद्यार्थीले ४ जीपीए पनि ल्याउन सकेनन्। अहिले जिल्लामा तानसेन बहमुखी क्याम्पस, पाल्पा बहुमुखी क्याम्पस, श्रीनगर कलेज, न्यू मिलेनियम कलेजले उच्च शिक्षा प्रवाह गरेका छन्।
कसरी फर्काउने साख ?
क्याम्पसका उपप्राध्यापक डा. शंकरप्रसाद गैरेका अनुसार, अभिभावकहरूमा सन्तानको उच्च शिक्षा अध्ययनका लागि बुटवल र काठमाडौं नै ताक्ने प्रवृत्ति छ।
‘शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना हुने क्रम घट्दो छ,’ डा. गैरेले भने, ‘शिक्षासँगै रोजगारीको व्यवस्था भएमा पुनः तानसेनमा चहलपहल बढाउन सकिन्छ।’ शिक्षाविद् बुद्धिप्रसाद शर्माका अनुसार, तानसेनलाई पुरानै अवस्थामा फर्काउन शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र रोजगारमा केन्द्रित रहेर कार्य गर्नुपर्नेमा जोड दिन्छन्। शर्मा भन्छन, ‘व्यावसायिक ढंगले पर्यटनको विकास गर्न आवश्यक छ।’
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनका अनुसार, पाल्पामा प्रशस्त सम्भावना छ। ‘पाल्पालीहरू एकजुट भएर लाग्ने हो भने पहाडकी रानीको उपमा पाएको तानसेनलाई, महारानी बनाउन सकिन्छ। यो बाहिरी मान्छेले मन्त्रीले, सरकारले गरिदिने होइन, हामी स्थानीयवासीले नै गर्ने हो,’ अध्यक्ष महर्जनले भने, ‘जनप्रतिनिधिहरूले जति प्राथमिकता दिनुपर्ने हो, त्यति दिन सकेका छैनन्।’
अध्यक्ष महर्जनका अनुसार पर्यटकीय प्याकेज बनाएर पर्यटकहरूको बसाई अवधि लम्ब्याउनु पर्ने आवश्यता छ। ‘पर्यटकीय भनिएको छ। तर, नगरपालिकाले पर्यटकीय सूचना केन्द्रसमेत सञ्चालन गरेको छैन,’ उनले भने। कृषि उद्यमी केशवबहादुर कार्की पाल्पा (तानसेन)को विकास हुनेमा निकै आशावादी छन्। च्याउ उत्पादनमा सक्रिय ५२ वर्षीय कार्की भन्छन्, ‘पाल्पाका उत्पादनलाई बुटवल वा काठमाडौं पु¥याउनुपर्छ। पाल्पालाई उत्पादनको हब बनाउनुपर्छ। पाल्पाबाट बसाई सरेर होइन उद्यमशीलताबाट उन्नति गर्नुपर्छ।’
तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठका अनुसार, पाल्पाको विकासको मुख्य आधार कृषि र पर्यटन हो। मेयर श्रेष्ठ भन्छन्, ‘पर्यटकीय पूर्वाधार विकास गर्दै नगरलाई व्यवस्थित गराउने कार्यलाई प्राथमिकता दिएका छौं। उद्योगमैत्री वातावरण बनाउन कुन्सरेमा औद्योगिक ग्राम निर्माण सुरु गरेका छौं। नगरक्षेत्रमा चक्रपथ निर्माणको योजना बनाएका छौं।’
६८ वर्षदेखि मिसन अस्पतालले स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ। २०११ सालमा युनाइटेड मिसन अस्पताल सञ्चालनमा आएको थियो। अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने योजना रहेको जनाइएको छ। २०६३ साल भदौ २५ गतेदेखि सञ्चालित लुम्बिनी मेडिकल कलेजले चौबिसै घण्टा आकस्मिक उपचार सेवा प्रवाह गरिरहेको छ। एमबीबीएस, बीएस्सी नर्सिङ र पोस्ट ग्राजुएट तहको अध्यापन भइरहेको छ। तानसेन स्कुल अफ हेल्थ साइन्समा पिसिएल नर्सिङ, ल्याब टेक्निसियनको अध्यापन हुने गरेको छ।
स्रोत छ, उपयोग छैन
२५ वर्ष राज्य सञ्चालन गरेका तत्कालीन सेनवंशीय राजा रुद्रसेनले पाल्पा राज्यलाई सुव्यवस्थित गराउन योगदान गरेका थिए। उनले नै यस ठाउँमा रहेको घना जँगललाई फडानी गरी तानसेनको बस्ती बसाएका थिए।
संस्कृतिविद् निर्मल श्रेष्ठका अनुसार, तानसेनको नामाकरणको सन्दर्भ मगर भाषासँग गाँसिएको छ। मगरभाषामा सल्लाको एक प्रजातिलाई टानसिङ भनिन्छ। यो प्रजातिको सल्ला तान बनाउन प्रयोग हुन्छ। टानसी प्रजातिको सल्ला प्रशस्त पाइने भएकाले यस ठाउँको नाम टानसिग रह्यो। त्यसपछि यसको उच्चारण हुने क्रमममा टानसिङ हुँदै तानसिङ भनियो। कालान्तरमा तानसेनको रूपमा परिचित हुन पुग्यो।
रानी महल, पाल्पा दरबार, रणउजेश्वरी भगवती, श्रीनगरडाँडा, प्रभाष ताल, अमरनारायण मन्दिर, भैरवस्थान, रुरुक्षेत्र आदिको कारणले तानसेन पर्यटकीय हबको विकास हुने सम्भावना छ। गर्मी समयमा यहाँको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्छ। जाडो समयमा न्यूनतम तापक्रम शून्य डिग्रीसम्म हुन्छ। औसत २४ डिग्री सेल्सियस तापक्रम हुने भएकाले यहाँ न त धेरै गर्मी न त जाडो हुन्छ। जाडो समयमा बिहानै पारिलो घाम लाग्छ। समुद्री सतहदेखि १ हजार ३ सय ७२ मिटरको उचाइमा तानसेन छ।
तानसेन नगरपालिका भित्र पर्ने १४ वटै वडामा ऐतिहासिक सम्पदाहरू छन्। १ मा ध्रुवघाट धारा, भीमसेन मन्दिर गोर्खेकोट, चण्डीस्थान गैरागाउँ छन्। २ मा अमरनारायण मन्दिर, मन्दिर परिसरको फूलबारी छ। अमरेश्वर महादेव, दुनधारा, हनुमान मन्दिर, विष्णु पादुका, प्रतापशमशेर खानेपानी धारा, कुलेश्वर महादेव मन्दिर छन्। त्यस्तै ३ मा रणउजेश्वरी भगवती मन्दिर, ढुंगे बद्रेश्वर शिवालय मन्दिर, तहविल गणेश मन्दिर, सरस्वती मन्दिर, टक्सारको गणेश मन्दिर, महाकाल भैरव मन्दिर टक्सार, श्रीनगर गणेश, शीतलपाटी प्रतापशमशेर धारा, शिवालय धाम, लक्ष्मीनारायण मन्दिर, भीमसेन मन्दिर, निशानधारा लगायतका सम्पादाहरू छन्।
४ मा लुम्बिनी प्रदेशकै एक मात्र पाल्पा दरबार संग्रहालय छ। मखनटोलमा स्वेताम्बर गणेश मन्दिर छ। ५ मा कैलाशनगर भीमसेन मन्दिर, जर्नेल धारा, नमेश्वर शिवालय, दक्षिणकालिका मन्दिर, सुत्केरी ढुंगा, र सेतोपोखरी छ। ६ मा बटुक भैरव मन्दिर, बर्तुअर्चले शिवालय मन्दिर, भीमसेन मन्दिर छ। भीमसेन टोलको झिंगटीले छाएको परम्परागत घर तथा काष्ठकलाहरू, टुँडिखेलमा रहेको ऐतिहासिक शिलालेख भएको राणाकालीन ढुंगा छ। प्रतापशमशेरले निर्माण गरेका नारायणस्थान, टँुडिखेल, तीनधारा, अमरसिंह पौवा, खड्क महाकाली मन्दिर, सरस्वती मन्दिर, आनन्द विहारलगायतका ऐतिहासिक सम्पदाहरू छन्।
७ मा प्रभाश क्षेत्रभित्र सूर्य कुण्ड छ। मणिमुकुन्देश्वर शिव मन्दिर, वंश गोपाल मन्दिर तथा शीतलादेवी मन्दिर, प्रभास ताल र बगैंचा छन्। ८ मा कोकलदेवी मन्दिर, कर्णेल उजिर सिंह हतियार निर्माणस्थल छाप, सत्यवती पोखरी छन्। ९ मा माण्डव्य ऋषि आश्रम, अँगारे कुण्ड, सिलाङकोट, जस्तो क्षेत्रहरू छन्। १० मा बालीकन्या देवी मन्दिर, खाणदेवीकोटघर रहेको छ। ११ मा लिपिनदेवी मन्दिर, सामाकोट टक्सार, सेनकालीन जोगिपानी बोलकुवा, प्रताप मल्लको पानीको मूल बाँझा छन्। १२ मा रतन पाँडे देवस्थल, चेचीकोट, प्रतापशमशेरको खानेपानी सुरुङ, चण्डी भञ्ज्याङलगायत छन्। १३ मा रानीमहल दरबार क्षेत्र, हात्ती ढुंगा, बैकुण्ठे झरना, छेरलुङ कुलो छन्। तानसेनबाट उत्तरतर्फ कालीगण्डकी किनारामा खड्ग शमशेरद्वारा रानी तेजकुमारीको सम्झनामा निर्माण गरिएको रानीमहल छ। उक्त मन्दिरमा एसियाकै सबैभन्दा ठूलो पित्तलको त्रिशूल रहेको छ।
१४ मा ऋषिकेशव मन्दिर, कमल पोखरी, और्ब ऋषि, अमरेश्वर महादेव, गायत्री मन्दिर, भीमसेन सत्यश्वर महादेव, पहेली पौवा, लक्ष्मी नारायण मन्दिर, रिडीको झोलुंगे पुल, अर्गली दरबारलगायतका सम्पदाहरू छन्। १५ किलोमीटर पूर्वमा रम्भादेवी मन्दिर छ। तानसेनबाट ३० किलोमिटर दक्षिण कोलडाँडास्थित सत्यवती ताल छ।
तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिंजालीका अनुसार, तानसेन नगरपालिका पुरातात्विक सम्पदा र संस्कृतिले धनी रहेको छ। ‘स्थानीय कला संस्कृतिको प्रबद्र्धन गर्न सकेमा पनि पर्यटकलाई भिœयाउन सकिन्छ, उपप्रमुख सिंजाली भन्छिन,‘विभिन्न जातजातिको संस्कार, संस्कृतिलाई संरक्षण गर्नुपर्छ।’