‘बिन्ती! सानैमा बिहे नगर्नुस्’
सुर्खेत : ‘सानै छँदा बिहे भयो। कलिलैमा आमा बनें। हतारमा बिहे गर्दा स्कुलको पढाइ पनि रोकियो। पारिवारिक समस्यामा जेलिँदा उच्चशिक्षा आर्जन गर्ने रहर अधुरै रह्यो’, दैलेखको गुराँस गाउँपालिका–८ निवासी रुकमाया बुढाले सानैमा बिहे गर्दा भोग्नु परेको आफ्नो पीडा सुनाइन्।
रुकमायाको २० वर्ष नपुग्दै बिहे भयो। स्कुलको पढाइ पूरा नहुँदै आमा बनिन्। विद्यालयमा पढाइ रोकियो। अहिले उनीसँगैका साथीहरू उच्चशिक्षा अध्ययन गर्दैछन्। कति जागिरे भइसके तर उनी पारिवारिक बन्धनमा परिन्। ‘कलिलैमा बिहे गरेर गल्ती भयो। हामीले हतारमा बिहे गरेर भुल गर्यौं। अहिले पछुतो छ’, उनले किशोरीसँग अनुरोध गरिन्, ‘बिन्ती ! अरू कसैले पनि कलिलैमा बिहे नगर्नुस्। हतारमा बच्चा नजन्माउनुस्।’
उनकै गाउँकी दिलमाया खड्काले पनि २० वर्ष नपुग्दै बिहे गरिन्। घर व्यवहारमा अल्झिनुपर्ने बाध्यता आइलाग्यो। उनको पनि पढाइ रोकियो। पढ्ने इच्छा अधुरै भयो। पढाइपछि जागिर खाने योजनामा तुषारापात भयो। रुकमाया र दिलमाया मात्र होइनन्, गाउँका धेरै किशोरीको पीडा उस्तै छ। ग्रामीण क्षेत्रमा अहिले पनि कलिलैमा बिहे गर्ने र हतारमा आमा बन्ने क्रम रोकिएको छैन। यसले धेरै किशोरीहरू शारिरीक तथा मानसिक समस्या भोग्न बाध्य छन् ।
आफूले हतारमा बिहे गर्दा पछुतो मान्दै आएका स्थानीय किशोरीहरू हिजोआज गाउँमा अन्य किशोरकिशोरीहरूलाई कलिलैमा बिहे नगर्न र हतारमा बच्चा नजन्माउन सचेतना फैलाउन थालेका छुन्।
उमेर नपुग्दै विहे गर्दा पढाइ छुट्ने, कलिलैमा आमा बन्दा किशोरीहरूको स्वास्थ्यमा समस्या आउने, आर्थिक अभावका कारण सबन्धमा फाटो आउने र सम्बन्धविच्छेदका घटना बढ्न थालेपछि आफूहरू बालविवाहविरुद्धको अभियानमा जुटेको रुकमाया बताउँछिन्।
हतारमा बिहे गर्दा आफूहरूले समस्या भोगेकै कारण अरुलाई त्यही समस्याबाट मुक्त गर्न गाउँमा अभियान थालेको दिलमायाको भनाइ छ। हिजोआज आफ्नो प्रजनन् स्वास्थ्यको मात्र होइन, स्थानीय किशोरीले गाउँमा रहेका महिलाको प्रजनन् अधिकारबारे पनि जानकारी दिन थालेका छन्। सानैमा बिहे गर्ने र प्रजनन् स्वास्थ्यमा ध्यान नदिँदा समस्याहरू देखिन थालेपछि किशोरीहरूले अभियान नै सञ्चालन गरेको बताउँछन्। अभियानमा सामेल भएर किशोरीहरूले गाउँमा रहेका किशोरी र महिलाहरूलाई प्रजनन् अधिकार र स्वास्थ्यबारे सचेत गराइरहेका छन्।
बालअधिकारको क्षेत्रमा कार्यरत सोसेक नेपालले गाउँमा सचेतना कक्षा नै सञ्चालन गरेर किशोरीहरूलाई प्रजनन् अधिकार र स्वास्थ्यबारे जानकारी दिएपछि किशोरीहरू अभियानमा जुटेका हुन्। उक्त कक्षामा कलिलैमा बिहे गर्न नुहुने, उमेर परिपक्व भएपछि मात्र पहिलो बच्चा जन्माउनुपर्ने, बच्चा जन्माउँदा जन्मान्तर कायम गर्नुपर्ने, गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुनुपर्ने, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र बच्चालाई पोषिलो खानेकुरा खुवाउने विषयमा किशोरीहरूलाई सचेत गराइएको संस्थाका बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताए।
किशोरावस्थामा प्रजनन् स्वास्थ्यको महत्व, महिनावारी, गर्भावस्थामा खतराका संकेतहरू, बच्चा जन्माउनका लागि गर्नुपर्ने तयारी र यौन तथा प्रजनन् अधिकारका विषयमा २० हप्तासम्म छलफल गरिएको स्थानीय सहजकर्ता गोपीसरा वलीले जानकारी दिइन्। किशोरीहरूको अभियानपछि नवविवाहित किशोरीहरूले बच्चा जन्माउने योजना र परिवार नियोजनका साधनको बारेमा सचेत भएका छन् भने अविवाहित किशोरीहरूले २० वर्ष पूरा भएपछि मात्र बिहे गर्ने अठोट गरेका सोसेक नेपालका फिल्ड अधिकृत कमला मल्लले बताइन्।