आपतविपदमा काँधबाटै सेवा प्रवाह गरेका कालीकोटेले पत्याएनन् दलका घोषणापत्र
कालीकोट: सँधै जसो निर्वाचनका बेला राजनीतिक दलका नेता तथा उम्मेद्वार मिठा भाषण र जनताका दु:ख समाधान गर्ने एजेण्डा लिएर गाँउ जान्छन् ।
उनीहरुका घोषणा पत्र हेर्दा सायद जनताले भोगेका समस्या अब दोहोरिँदैन । घोषणा पत्रमा सडक कालोपत्रे हुन्छन् । घर घरमा पानीका धार हुन्छन् । गाँउ गाँउमा सुविधा सम्पन्न अस्पताल हुन्छन् । जातिय छुवाछुत मुक्त समाज, विभेदरहित समाज, सामाजिक न्याय र समृद्धिका सपनालगायत यस्तै यस्तै धेरै ।
कालीकोटको पलाँता क्षेत्र र अन्य विकट क्षेत्रका स्थानीय दशकौँदखि यस्तै उधारो आश्वासनमा पाइरहेका छन् । दल तथा उम्मेदवारका एजेण्डा र घोषणापत्र चुनाव अघिमात्र असरल्ल हुन्छन् । चुनावको भोलिपल्टदेखि गाउँलेका समस्या उस्ताका उस्तै । विकास र समृद्धि गाउँलेको सपना जस्तो मात्रै बनेको छ ।
केही दिन अघिमात्र पलाँता गाँउपालिका वडा नं. १ की छिउकला हमाल भीरबाट लडेर घाईते भईन् । उनलाई अस्पताल पुर्याउन गाँउमा यातायात सेवा थिएन । गाँउबाट आफन्तले स्टेचरमा बोकेर थिर्पु पुर्याए । गम्भीर घाईते हमाललाई थप उपचार गर्न ३ दिन स्टेचरमै बोकेर राकम पुर्याइयो ।
राकमबाट गाडीमा मध्यपहाडी राजमार्गबाट सुर्खेत लगियो । कर्णाली करिडोर पनि बाढी र पहिरोका कारण अबरुद्ध भएकाले आफन्तका काँधमै उनलाई अस्पताल लगियो । जहाँका मानिसहरुले २०६४ सालमै पलाँतामा गाडी गुडाउने र विकासका मुल फुट्ने आस्वासन पाएका थिए ।
२०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पहिलो संविधान सभा सदस्यका उम्मेद्वार खड्गबहादुर विश्वकर्मा प्रकाण्ड चुनावी अभियानमा पलाँता क्षेत्रमा पुगे । उनले एक चुनावी सभामा विभिन्न उदाहरण दिँदै यस क्षेत्रमा चिल्लो सडक र यातायात सेवा नपुग्नु सामान्ति राज्यको विभेद भएको बताए । भारतको सिम्ला क्षेत्रमा चिल्लो सडकमा गाडी गुड्ने, हाम्रो पलाँतामा किन नगुड्ने भन्ने प्रश्न गरे । आफ्नै कार्यकालमा पलाँतालाई यातायात सेवामा जोड्ने प्रतिबद्धता गरे । उनले पलाँतामा गाडी पुगाउनु त कहाँ २०७० सालको दोस्रो संविधान सभा निर्वाचन पहिलेनै पार्टीबाट विभाजित वैद्ये समुहमा लागेर चुनाव बिथोल्ने अभियानको नेतृत्व गरे ।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनका बेला उही माओवादी केन्द्रका तर्फबाट जनमुक्ति सेनाका ७ औँ डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही चुनाव प्रचारमा पलाँता पुगे । उनले पनि आफ्नै कार्यकालमा पलाँतामा यातायात सेवाका साथै अन्य विकासले गति लिने उद्घोष गरे ।
उनको कार्यकालमा पनि पलाँता यातायात सेवासँग जोडिएन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पलाँता माओवादी केन्द्रले नै जित्यो । संघीयता पछिको पहिलो प्रदेश तथा प्रतिनिधि सभा निर्वाचमा संघीय सांसद दुर्गबहादुर रावत, प्रदेश सांसद महेन्द्रबहादुर शाही पुन: पलाँता पुगे । प्रदेशमा महेन्द्रबहादुर शाहीले जिते कर्णाली प्रदेशको मुख्यमन्त्री हुने र साधन स्रोतमा सहज पहुँच पुग्ने भएकाले पलाँतालाई यातायात सेवासँग जोड्ने आस्वासन दिए । पलाँता गाँउपालिकाले थिर्पुदेखि राडुनेटासम्म सामान्य ट्याक खोलेर पुल नहुँदा नहुँदै कर्णाली नदीमा ड्म लगाएर दुई वटा जीपहरु तारेर केही महिना यातायात चलायो । तर पछि त्यही बनेको सडक पनि भत्किएर नदी तारेका गाडीहरु पनि बिग्रिएर थन्किए । पलाँता यातायात सेवाबाट बन्चित नै बन्यो ।
आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनका साझा उम्मेद्वार बनेका महेन्द्रबहादुर शाही र प्रदेश सांसदका उम्मेद्वार हिक्मतबहादुर बिष्ट पुन: चुनाव प्रचारमा पलाँता जाँदा हिडेरै जानु पर्यो । अहिले पनि विगतकै आस्वासन दिएर फर्किए ।
स्थानीय नन्दलाल न्यौपानेले भने, 'हरेक निर्वाचनका बेला नेताहरुबाट विकास र समृद्धिका सुन्दर नारासहित आस्वासनका पोका पाँउछौँ । तर हाम्रो दु:ख ६० सालकै जस्ता छन् । मुलुकमा लामो समय द्वन्द्व भयो । जनआन्दोलन भयो । व्यवस्था बदलियो । संघीयता आयो । तर हाम्रो अवस्थामा खासै सुधार आएको छैन। हामीले सुख सुविधा अनुभुति गर्न पाएका छैनौँ । अहिले पनि गाँउमा खानेपानीको समस्या छ। अस्पताल जाने यातायात सेवा छैन। थाप्लोको भारी बोक्नुपर्ने बाध्यता टरेको छैन ।'
स्थानीय धर्म न्यौपानेले भने, 'पलाँताको राडुनेटामा सत्ता गठबन्धनका उम्मेद्वारका साथै नेकपा एमालेका उम्मेद्वार नगिन्द्र शाही नेशनल र बिरेन्द्र बोगटी पनि आए । सबै उम्मेद्वारहरुले भरपुर आस्वासन दिए । पलाँतावासीलाई गाँउमा यातायात सेवा, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, प्रयाप्त स्वच्छ खानेपानी लगायतका धेरै मिठा सपनाहरु बाँडे । अब त हामीलाई विस्वास लाग्न पनि छाडिसक्यो । यी कोही कसैले पनि केही गर्दैनन् । खाली आस्वासन दिनेमात्र नेताको काम जस्तो लाग्न थालेको छ । हामीलाई कुराभन्दा बढी काम गरेर देखाउने नेतृत्व चाईएको छ । समृद्धिका सपना बाँड्नेभन्दा पनि समृद्धि गाँउमा भएको अनुभुति गराउने नेतृत्व आवश्यक छ ।'
जिल्लाको कान्छो पलाँताका रुपमा चिनिने नरहरिनाथ गाँउपालिकाका रुप्सा, माल्कोट लगायतका विकट बस्तीहरुको अवस्था पनि उस्तै छ । महाँवै, शुभकालीका गाँउपालिकाका अधिकांश बस्तिको अवस्था पनि उस्तै छ । जहाँ यातायात सेवा छैन । अन्य भौतिक पुर्वाधार पनि छैन । मानिसहरु बिरामी पर्दा अस्पताल आउन यातायात सेवा नहुँदा काँध सेवा नै गर्नुपर्छ ।
नागरिक समाजका अगुवा अधिवक्त दमनराज बमले भने, 'संघीयता पनि प्राय: स्थानीय तहका केन्द्रसम्म यातायात सेवा पुगाउन सडकका ड्याकहरु खोल्ने प्रयास भयो । तर ती सडक पनि न्यूनतम मापदण्डहरु पुरा नगरी निर्माण गर्दा यातायत सेवा संचालन हुन सकेका छैनन् । कतिपय बनेका सडकहरु पनि गाडी गुडाउन सकिने अवस्थाका छैनन् । गाँउका नागरिकहरुको पहुँचमा यातायात सेवा पुगेन् । यसले नागरिकलाई परिवर्तनको अभास हुन सकिरहेको अवस्था छैन।'
दलका घोषणा पत्रमा विकासै विकास
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा दलका उम्मेद्वारहरुले सार्वजनिक गरेका घोषण पत्रमा विकासै विकास छ । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रबहादुर शाही, प्रदेश सभा क का उम्मेद्वार दुर्गबहादुर रावत, प्रदेश सभा ख का उम्मेद्वार हिक्मतबहादुर बिष्टले बाम लोकतान्त्रिक गठबन्धन संघीयता कार्यन्वयनको आधार, समृद्ध कालीकोट र सुखी कालीकोटवासी हाम्रो सरोकार भन्ने मुख्य नारासहित ५ वर्षमा कालीकोटको मार्गचित्र नामक साझा प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
उनीहरुले सार्वजनिक गरेका प्रतिबद्धताहरुमा जिल्ला सदरमुकामबाट सबै पालिकाका केन्द्र हुँदै वडासम्म सडक, लालु लफु हुलाकी राजमार्ग निर्माण, जारकोट, थिर्पु, धौलागोह, खीन हुँम्दै जुम्मासम्मको सडक, शेरी पान्तडी सडक, दुल्लु, ब्याउल्योदेखि हाउडीसम्म सडक निर्माण लगायतका २० वटा सडकहरु निर्माण गर्ने उल्लेख गरेका छन् ।
पान्तडी तिला नदी, जारकोट कर्णाली नदी, फुगाड खोला लगायत झण्डै १६ वटा मोटरेवल पुन निर्माण गर्ने उल्लेख छ । पलाँता भतेरा, चुली पिठारा, रुप्सा कुमालगाउ लगायतका १५ वटा सिँचाई आयोजनाहरु निर्माण गर्ने उल्लेख छ । विगतमा संचालन भएका सिचाई आयोजनाहरुको ममर्त गर्ने उल्लेख छ ।
जिल्ला भरी नै एक घर एक खानेपानी धारा निर्माण, स्वास्थ्य बीमा र सबैका लागि आधारभुत स्वास्थ्य सेवा नि:शुल्क व्यवस्था गर्ने, आयुर्वेदिक स्वास्थ्य सेवामा पनि जोड, प्रत्यक पालिकामा १५ शैय्या अस्पताल, प्रत्यक वडामा प्रसुतिगृहसहित प्राथमिक स्वास्थ्य केन्द्र, रास्कोट नगरपालिकामा ५० शैय्या अस्पताल संचालन गर्ने उल्लेख छ ।
यस्तै पहिलो वर्षमै ३७ वर्षदेखि निर्माणाधिन सुनथराली विमानस्थल संचालन गर्ने, सबै स्थानीय तहमा विद्युतीकरण गर्ने, विकट क्षेत्रमा समेत फाईबर ईन्टरनेट सुविधा पुगाउनेलगायतका संकल्प गरेका छन् ।
त्यस्तै नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार नगिन्द्र शाही नेशनल, प्रदेश क का उम्मेद्वार कुर्मराज शाही र प्रदेश ख का उम्मेद्वार बिरेन्द्रबहादुर बोगटीले पनि सुन्दर र समृद्ध कालीकोटको आधार भनेर आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । उनीहरुका प्रतिबद्धतामा विपदका कारण समस्यामा रहेका नागरिकको पुनर्वासको व्यवस्था, मृतक परिवारलाई राहत प्याकेज, जिल्लाका सबै पालिकामा बहुआयामिक प्रशासकीय भवन, सबै वडा कार्यालयका सुविधा सम्पन्न भवन, सबै पालिकादेखि वडातहसम्म सडक निर्माण, सडक निर्माणमा डोजर प्रयोगलाई रोक लगाउने, युवाहरुलाई गाँउमै रोजगारी सिर्जना गर्ने उल्लेख छ ।
यस्तै जिल्लाका दलित, सिमान्तकृत समुदाय तथा विपन्न परिवारलाई घर, सडक पुगेका जिल्लाका सबै खोला तथा नदीमा पक्की पुल, सबै बिदालयका सुरक्षित भवन, प्रयाप्त खानेपानी, शौचालय, खेल मैदान, मान्मदेखि नरहरिनाथ बिमानस्थल जोड्ने केबलकार, खप्तड, रामारोशन, रारा कनकासुन्दरी, डोल्पा सेफोक्सोण्डो ताल हुँदे पोखरा जोड्ने उच्च पहाडी लोकमार्ग निर्माण, हिल्सा सडकलाई धार्मिक लोक मार्गका रुपमा विकास गर्ने, लालु, माल्कोट, रुप्सा हुँदै बढिमालिका जोड्ने सडक निर्माण गर्ने उल्लेख छ ।
सुनथराली विमानस्थल संचालन, कालीकोटलाई हाईड्रोको हव, जिल्लामा सुविधा सम्पन्न अस्पताल, एक पालिका एक सुविधा सम्पन्न अस्पताल, एक घर एक धारा, एक गाँउ एक सहकारी लगायतका लोकप्रिय योजनाहरु अगाडी सारेका छन् । हरेक घरमा एक रोजगारी, एक घर सय फलफुलका बिरुवा रोपप्न लगाएर फलफुल खेती, वन तथा वातावरण संरक्षण र दिगो विकासका लागि मुख्य रुपमा पहल लिने उल्लेख छ ।
जिल्लामा मुख्य दलका प्रतिबद्धता पत्रहरु हेर्दा आगामी ५ वर्षमा जिल्लाको विकास निर्माणले निकै प्रगति हुनेछ । नागरिकहरुले धेरै सुविधाहरु पाउने छन् । नागरिक समाजका अगुवा भरतराज बिष्टले भने, दलका घोषणा पत्र कहिलै कार्यन्वयन हुँदैनन् । मत बटुल्न बनाईएका प्रतिबद्धता पत्रहरु चुनावी सकिएसँगै बाकसमा थन्किन्छन् । कन्ट्यानरमा जान्छन् । विगतमा पनि दलका उम्मेद्वारहरुले जनताका सामु कैयौँ सपनाहरु बाँडे । तर अर्को निर्वाचन आउँदासम्म पनि घोषणा पत्रमा उल्लेख भएका एक काम पनि भएन । अहिलेका पनि पुरा होलान भन्ने विस्वास लाग्ने अवस्था छैन् । जनता झुक्याउने हतियार हुन् । मत बटुल्ने कोसेली हुन् ।
उनले थपे, 'वर्षौँ भयो, कर्णाली करिडोर दुई लेनको बनाउने भनेको अझै भएको छैन । कर्णालीमा हवाईजहाज सेवा नभएको एक मात्र जिल्ला कालीकोट छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरको पनि हालत उस्तै छ । वर्षौँदेखि यी अनुहारहरु दोहोरिँदै आएका छन् । जनताले कसरी पत्याउने की अव विकास हुन्छ भनेर ।
प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेद्वार महेन्द्रबहादुर शाहीले अब विकासले गति लिने दाबी गरे । पूर्वउर्जा मन्त्री तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत रहेको शाहीले भने, 'विगतमा कालीकोटले राष्ट्रिय स्तरमा स्थापित नेतृत्व विकास गर्न सकेको थिएन् । यो पटक जितेर गएपछि चुनाव पछिको पहिलो सरकारमै कालीकोटको प्रतिनिधित्व हुन्छ । गठबन्धन दलका शीर्ष नेताहरुले बजेटलाई पनि कर्णाली केन्द्रित बनाउने उद्घोष गरिसक्नु भएको छ । हामीले जनताका सामु गरेका बाचा ५ वर्षभित्र सबै पुरा गर्ने लक्ष्य लिएका छौँ । जनताले अनुभुति गर्ने गरी काम गर्छु । मेरो अभियान भनेकै अब विकास र समृद्धिको अभियान हुनेछ । चुनाव जित्न पनि समस्या छैन । जनताले फेरि पनि मलाई नै अवसर दिनेका म ढुक्क छु ।'