सुनाखरी सपना
घना जंगलको सुनाखरीले आफ्नो प्रशंसा गर्ने कोही नभए पनि वरपर सुगन्ध फैलाइरहन्छ। चिनियाँ दार्शनिक कन्फिसियसको यस भनाइझैं हिजो जंगलमा सुगन्ध फैलाउने सुनाखरीले आज घरको शोभा बढाउन थालेको छ। विश्वमै अति लोकप्रिय यस वनस्पतिको सुगन्ध घरघरमा फैलाउने अभियानमा जुटेकी छन्, प्रा.डा. विजया पन्त।
वैध चोरी निकासीले नेपालका वनजंगलबाट सुनाखरी रित्तिँदै गएका छन्। विश्वमै लोपोन्मुख यस बिरुवा मा हुने औषधीय गुणका कारण चोरेर बोराका बोरा बेच्ने प्रवृत्ति बढेको छ। यही गतिमा विनाश बढेमा अबको पाँच वर्षभित्र सुनाखरी नेपाली वनजंगलबाट लोप हुने पन्तको अनुमान छ। यस्तो लोपोन्मुख वनस्पतिलाई जोगाएर जंगल, व्यक्तिका घर र सहर सुन्दर पार्न उनले सुनाखरीका बिरुवा उमार्न थालेको एक दशक बितिसक्यो।
बबरमहलस्थित अन्नपूर्ण अनुसन्धान केन्द्रको प्रयोगशालामा ‘टिस्यु कल्चर टेक्निक’ तन्तु संवद्र्धन प्रविधिबाट ठूलो संख्यामा सुनाखरीको बिरुवा उमारिँदै आएको छ। केन्द्रकी अनुसन्धान निर्देशक उनले यसको नेतृत्व गरेकी छन्। उनकै नेतृत्वमा त्यहाँका अनुसन्धानकर्ताहरू पनि सुनाखरीको बेर्ना उत्पादनदेखि संरक्षणसम्मका काममा लागिपरेका छन्। यसरी उमारिएका बेर्नालाई कृषक वा अन्य व्यक्तिले व्यावसायिक खेती गर्न सके, राष्ट्रिय अर्थतन्त्रमै ठूलो योगदान पुग्ने उनको धारणा छ।
सुनाखरीको एउटा बोटले लाखौं बिउ उत्पादन गरे पनि त्यसमध्ये एक प्रतिशत मात्र उम्रन्छ। यसको वृद्धि निकै सुस्त गतिमा हुने भएकाले बिरुवा हुर्कन समय लाग्छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागमा लामो समयदेखि प्राध्यापनरत उनी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानकी प्राज्ञसमेत हुन्। कुनै पनि बिउ अंकुरण भएर माटो नभेटिन्जेल यसले इन्डोसपर्ममार्फत खाना प्राप्त गर्छ। तर सुनाखरीमा इन्डोसपर्म नहुँदा यसका बिउ माटोमा झरेपछि त्यसै मर्छन्। सुनाखरी सबैभन्दा धेरै बिउ उत्पादन गर्ने बिरुवा मा पर्छ। तर ती निक्कै साना हुने र माटोमा झरे पनि बाँच्न नसक्ने हुँदा प्रकृतिमा यो वनस्पति हराउँदैछ। यद्यपि, संयोगबस केही बिउ उछिट्टिएर एक प्रकारको ढुसी (फंगी)सँग भेटे, त्यसले इन्डोसपर्मले बिउलाई कार्बोहाइड्रेट दिन्छ।
त्यसैले सुनाखरीको एउटा बोटले लाखौं बिउ उत्पादन गरे पनि त्यसमध्ये एक प्रतिशत मात्र उम्रन्छ। यसको वृद्धि निकै सुस्त गतिमा हुने भएकाले बिरुवा हुर्कन समय लाग्छ। त्यसमा पनि बिरुवा नहुर्कंदै चोरी हुने प्रवृत्तिले जंगलबाट यो मासिँदै गएको उनको बुझाइ छ। प्राकृतिक रूपमा न्यून संख्यामा मात्र उम्रने बिउलाई उनी र उनको अनुसन्धान टोलीले प्रयोगशालामा सकेसम्म शतप्रतिशत उमार्दै आएका छन्।
यसरी उमारिन्छ बेर्ना
प्रयोगशालामा तयार पारिएको बिरुवाको पोषणयुक्त खाना अर्थात् ‘न्युट्रियन्ट मिडिया’लाई एउटा सिसाको बोतलमा हालिन्छ। त्यहाँ बिउ राखेको निश्चित समयमा उम्रन्छ। बिरुवाको प्रजातिअनुसार न्युट्रियन्ट मिडिया फरक हुन्छ। एउटा सिसाको भाँडोमा धेरै बिरुवा उम्रिएपछि त्यहाँबाट निकालेर केहीलाई अर्कै भाँडोमा सारिन्छ। टिस्यु कल्चर प्रविधिबाट यसरी बेर्ना उत्पादन गर्दा बिरुवाको एउटा सानो तन्तुबाट नै धेरै बेर्ना उमार्न सकिन्छ।
बढ्दै जाने क्रममा बिरुवामा धेरै जरा आएपछि नर्सरीमा सार्न योग्य हुन्छन्। तर नर्सरीमा पुर्याउनु अगाडि करिब ६ महिनासम्म यसलाई ग्रिन हाउसमा राखेर बाहिरी तापक्रममा जुध्न सक्ने बनाइन्छ। एउटा बिरुवालाई प्रयोगशालामा उमारेर ग्रिन हाउससम्म ल्याउन कम्तीमा पनि डेढ वर्ष लाग्छ। हाल यस प्रविधिमार्फत उनले सुनाखरी, जापानिज चेरी, जटामसी, पेपरमिन्टलगायत बुकेमा प्रयोग गरिने फुलका बेर्ना उत्पादन गर्दै आएकी छन्।
विश्वमा २८ हजार प्रजातिका सुनाखरी पाइन्छन्। विश्व फूल बजारमा सुनाखरी उत्कृष्ट १० फूलभित्र पर्छ। अहिले विश्वभरका मानिसमा सुनाखरीप्रतिको लगाव र चेतना बढ्दै गएका छन्।
लोप हुन लागेका केही प्रजातिलाई समुदायसम्म पुर्याउने सोचका साथ उनले प्रयोगशालामा बिरुवा उमार्न थालेकी हुन्। यसका लागि वनस्पतिमा उनको २०औं वर्षको अध्ययन अनुसन्धानले सघायो। सबैभन्दा पहिले काठमाडौं र काठमाडौं बाहिरको हावापानीमा कुन प्रजातिका सुनाखरी बाँच्छन् भनेर परीक्षण गरियो। सहकर्मीले सिंगापुरका बाटैभरि सिम्बिडियम प्रजातिको सुनाखरी लगाएको उनले देखेकी थिइन्। यो प्रजाति मौसममैत्री भएकाले यो काठमाडौं, काठमाडौं बाहिरका ठाउँ र तराईका क्षेत्रमा पनि हुर्कन सक्ने पाइयो।
हेर्दा पनि आकर्षक र औषधीय गुण पनि उत्तिकै भएकाले अन्य ४/५ वटा प्रजातिबाट प्रयोगशालामा बेर्ना उमार्न सुरु गरियो। हाल वन्यजन्तु र वनस्पतिका लोपोन्मुख प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस)मा भएका ३५ वटा प्रजातिका बेर्ना प्रयोगशालामा उमारिँदै आएको छ।
क्यान्सर उपचारमा कोशेढुंगो
क्यान्सर उपचारको अन्त्यमा पुगेका बिरामीलाई चिकित्सकले पनि केही गर्न सक्दैनन्। बिरामीको अन्तिम आशा भनेकै प्राकृतिक चिकित्सा हुन्छ। यस्तोमा औषधीय गुणयुक्त केही बिरुवाले काम गर्छन्। यसमा प्रयोग गरेर हेरौं न भनेर अन्नपूर्ण न्युरो अस्पतालले केन्द्र स्थापनामा सहयोग पुर्याएको उनले बताइन्।
‘रिसर्चरहरूले हेल्दी इन्भाइरोमेन्टमा रिसर्च गर्न सकुन् र यहाँ गरिएका रिसर्चले समाजलाई फाइदा पुर्याउने उत्पादन ल्याओस् भन्ने हो’ अनुसन्धान केन्द्र स्थापनाको उद्देश्य यस्तो छ। आजसम्म आइपुग्ने क्रममा श्रीमान् वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको साथ र सहयोगले महत्त्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ। डा. पन्तका अनुसार प्रयोगशालमा उमारिएका सुनाखरीमध्ये करिब १० वटा प्रजातिमा क्यान्सरसँग लड्ने गुण ‘एन्टिक्यान्सर प्रोपर्टी’ छ। क्यान्सर विरोधी यौगिकका लागि अब बिरुवा चाहिन्न। ‘जुन कम्पाउन्ड बिरुवामा हुन्छ, त्यही ल्याबमा उमारिएका टिस्युमा पनि हुन्छ’, उनी प्रस्ट्याउँछिन्।
वैज्ञानिक अनुसन्धानले यसलाई पुष्टि गरिसकेको र उक्त तथ्यांकलाई समेटेर पेपर पनि तयार पारिसकेको उनले बताइन्। प्रयोगशालामा सबै खालका क्यान्सर कोषिकामा यसको परीक्षण भइसकेको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उनका दुई विद्यार्थीले सुनाखरीको ‘एन्टिक्यान्सर प्रोपर्टी’ विषयमा विद्यावारिधि गरेका छन्। एक विद्यार्थीले गरिरहेका छन्। यी बिरुवामा भएका औषधीय गुणले स्तन क्यान्सर, ब्रेन ट्युमर, पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर र हाडको तन्तुको क्यान्सरमा राम्रो नतिजा दिएको छ। धेरै औषधीय गुण भएका अन्य बिरुवासँग दाँज्दा पनि सुनाखरीले जितेको अनुसन्धानमा पाइयो।
केन्द्रले सुनाखरीलाई क्यान्सर उपचारमा प्रयोग गर्ने प्रक्रिया अगाडि बढाएको छ। ‘मेडिकल क्याप्सुल बनाउन लामो प्रक्रिया छ। त्यसैले अहिले फुड सप्लिमेन्टको रूपमा मात्र निकाल्ने योजनामा छौं’, उनी भन्छिन्। लुम्बिनीमा लहराउँदै गत साउनमा लुम्बिनी विकास कोष र डब्लुडब्लूएफ नेपालसँगको सहकार्यमा सुनाखरीका बिरुवा हस्तान्तरण तथा वृक्षरोपण गरियो। मायादेवी मन्दिर परिसरमा रहेका पीपलको बोटलगायतमा सुनाखरीका बिरुवा रोपिए। त्यहाँ सिम्बिडियम अलोइफोलियम, फक्सटेल अर्किड, भान्डा प्रजातिको अर्किड र एरिड्स ओडोराटा गरी चार प्रजातिका सात सय बिरुवा लगिएको थियो। हजारवटा बिरुवा रोप्ने सहमतिअनुसार बाँकी बिरुवा लाने योेजना छ। रोपिएका सुनाखरी राम्ररी हुर्किए, लुम्बिनी आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेमा उनी ढुक्क छन्।
सुनाखरी रूखमा रोपिसकेपछि त्यसलाई बचाउन अत्यन्तै गाह्रो हुन्छ। तर कोषका कुलपति पनि सुनाखरीप्रेमी नै भएका र त्यहाँका महिलालाई पनि आफ्नो समूहले तालिम दिएकाले ती बिरुवा हुर्कने क्रममा छन्। रूखमा बिरुवालाई मज्जाले बाँधिदिएपछि यसमा विस्तारै जरा पलाउँछ। जराले एक दुई महिनाभित्रै रूखलाई ट्याप्पै समात्छ। जराले हावाबाटै खाना प्राप्त गर्ने हुनाले अरू केही हाल्नु पर्दैन। लुम्बिनीमा बिरुवा लैजानुअघि पन्तले आफ्नै बगैंचाका एभोकाडो, नासपातीलगायत रूखहरूमा बिरुवा टाँसेर बाँच्छ कि बाँच्दैन भनी परीक्षण गरेकी थिइन्। बिरुवा बाँचेपछि मात्र लुम्बिनी लगेको बताउँदै उनले भनिन्, ‘तराईका प्रजातिलाई त्यो ठाउँमा प्रमोट गरौं भन्ने उद्देश्य हो।’
उपमहानगरमा सुनाखरी
सहरमा सुनाखरी फुलाउने सपना पन्तले देखिन्। त्यसलाई साकार पार्न सकारात्मक देखिए ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन। छलफलपछि डा. पन्त र उनको समूहले उपमहानगरपालिका परिसरका रूखमा सुनाखरी रोपे। सहकार्य अगाडि बढ्दै थियो। स्थानीय चुनावले झ्याप्पै छोपिहाल्यो।
चुनाव र त्यसपछिका कार्य व्यस्तताले मेयर महर्जनले आफू सकारात्मक हुँदाहुँदै पनि यसप्रति ध्यान दिन भ्याएनन्। उपमहानगरमा रूखैरूख र तालले भरिएको एउटा ग्रिन एन्ड ब्लु पार्क बनाउने मेयर महर्जनको सोच छ। त्यहाँ उनको इच्छाअनुसार सुनाखरीका बिरुवा लगाइनेमा डा. पन्त पनि आशावादी छिन्। उपयुक्त समयमा उपमहानगरका मेयरसँग छलफल गरेर त्यसलाई अगाडि बढाउने प्रक्रियामा उनको समूह लागेको छ।
प्रयोगशालामा बिरुवा उत्पादन निकै खर्चिलो छ। एउटैको कम्तीमा ३ सय ५० रुपैयाँ पर्न आउँछ। यसमा पनि उपमहानगरले ध्यान पुर्याइदिए उत्पादन सहज हुने उनको भनाइ छ। तर एकैपटक हजारौं बिरुवाको माग आए उत्पादन लागत घट्छ। बिरुवा जे पाए त्यहीमा उम्रँदैन। यसलाई बढ्न धेरै समय लाग्छ। त्यसैले पनि यसको लागत खर्च बढी भएको हो। तर एकपटक बाँचेपछि यो बिरुवा सय वर्षसम्मका लागि ढुक्क हुने उनको दाबी छ।
विश्वका ‘अर्किड लभर्स’
विश्वमा २८ हजार प्रजातिका सुनाखरी पाइन्छन्। विश्व फूल बजारमा सुनाखरी उत्कृष्ट १० फूलभित्र पर्छ। ईकोपर्यटनमा यसले महत्त्वपूर्ण योगदान गर्छ। विश्वमा सुनाखरीप्रेमीहरूका एक समूह छ। विश्वको जुनसुकै कुनामा यो फुलेको छ भन्ने पत्तो पाउनासाथ उनीहरू घुम्न निस्कने उनले बताइन्। एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा पन्तले प्रस्तुतिका क्रममा नेपालमा पाइने लोपोन्मुख प्रजातिहरू देखाइन्। त्यहाँ उपस्थित एक विज्ञले उनले देखाएकामध्ये एक सुनाखरी आफूलाई नेपाल लगेर देखाइदिन अनुरोध गरे। नेपालमा पनि सुनाखरी मन पराउनेको समूह छ। उनीहरू फेसबुक पेजमार्फत जोडिएका छन्। अहिले विश्वभरका मानिसमा सुनाखरीप्रतिको लगाव र चेतना बढ्दै गएका छन्।
छैन सरकारी चासो
एक चिनियाँ विद्यार्थी उनकोे प्रयोगशाला हेर्न आएका थिए। त्यहाँ उमारिएका सुनाखरीका बिरुवा देखेर चकित हुँदै उनले भनेका थिए, ‘तपाईं साँच्चै क्रेजी हुनुहुँदो रहेछ। हाम्रो देशमा यस्तो काम कसैले गरेको थियो भने चिनियाँ सरकारले अर्बौं खनाउँथ्यो।’ सुनाखरीका बारेमा मानिसले चासो दिन थाले पनि सरकारको प्राथमिकतामा यो अझै पर्न नसकेको उनको गुनासो छ। ‘म त खै कोसँग कुरा गर्नु र ? थाकिन्छ नि। त्यसैले भैगो चलेकै छ भनेर यतिकै गरिरहेको छु’, उनी सुनाउँछिन्। लोपोन्मुख यस बिरुवाको उत्पादनका सन्दर्भमा छलफल गरेर यसलाई कसरी सामूहिक रूपमा अगाडि बढाउन सकिन्छ भन्नेमा सरकारले चासो दिनुपर्ने उनको धारणा छ।
यी बिरुवामा भएका औषधीय गुणले स्तन क्यान्सर, ब्रेन ट्युमर, पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर र हाडको तन्तुको क्यान्सरमा राम्रो नतिजा दिएको छ। धेरै औषधीय गुण भएका अन्य बिरुवासँग दाँज्दा पनि सुनाखरीले जितेको अनुसन्धानमा पाइयो।
‘सरकारले पहल गरेर ल है यो क्षेत्रलाई हामीले संरक्षण क्षेत्र बनाउँ भने बिरुवा हामी उत्पादन गरिदिन्छौं’, उनी भन्छिन्, ‘ती बिरुवालाई स्थानीयले हेरविचार गरेर हुर्काउन्। बिरुवा हुर्काउन सामुदायिक वन उत्कृष्ट ठाउँ हो।’ त्यो हुर्केपछि अत्यन्तै सुन्दर फूल फल्छ। फूलको रस खान मौरीदेखि अन्य कीराहरू झुम्मिन्छन्। यिनले परागसेचनमा सहयोग गर्छन्।
त्यसैले सुनाखरी मौलाउनु भनेको विश्वबाट लोप हुँदै गएको मौरीको जनसंख्या बढ्नु पनि हो। वनजंगलबाट सुनाखरी उखेल्न पाइन्न भन्ने नियम भए पनि कार्यान्वयन छैन । उनी भन्छिन्, ‘हुन्न भन्ने नियम सरकारको छ तर खै पालना गरेको ? औषधि भनेर बोराका बोरा बेचिराख्दा पनि खै रोक्न सकेको ? यसरी कहिलेसम्म रहन्छ जंगलमा ? अनि रूख बिरुवाको संरक्षण गरेर वातावरण जोगाउँछु भन्ने सरकारले उत्पादन प्रक्रियालाई खै महत्त्व दिएको ?’
नेपालमा सुनाखरीका हटस्पट
नेपालमा सुनाखरी पाइने ठाउँ धेरै छन्। पञ्चासे, इलामको माइपोखरी, अरुण भ्याली, दोलखालगायत ठाउँ यसको हटस्पट मानिन्छन्। मकवानपुरको दामन पहिले सुनाखरीका लागि निकै चर्चित थियो। तर अहिले चोरी निकासी बढेसँगै यो लोप हुने अवस्थामा पुगिसकेको छ। अझै नेपालको पश्चिम क्षेत्रका सुनाखरीको खोजी गर्न बाँकी रहेको उनको भनाइ छ। यी भेगमा जमिनमा फुल्ने सुनाखरी धेरै पाइन्छ। तर आद्र्रता र वर्षा धेरै हुने ठाउँमा रूखमा हुने इपिफाइटिक सुनाखरी बढी हुन्छन्। उनका अनुसार नेपालमा पाँच सयभन्दा बढी प्रजातिका सुनाखरी पाइन्छ। ‘यी सबै प्रजातिलाई संरक्षण गर्नुपर्छ भन्ने पनि छैन। कतिपय त धेरै पाइने पनि छन्। तर लोप हुन लागि सकेका प्रजातिका संरक्षणमा भने अब ढिला गर्नु हुन्न’, उनी भन्छिन्। सुनाखरी संरक्षणमा आफू पनि निरन्तर लागि पर्ने उनको प्रतिवद्धता छ।
अनुसन्धानलाई उद्योगसँग जोड्ने सपना विद्यार्थीले सुनाखरीका विषयमा शोध गरिसके। काम सकिएपछि आफूले उमारेका बिरुवा त्यत्तिकै छाडेर जान्छन्। अर्कोले पनि त्यसै गर्छ। यसरी उत्पादन भएका चिजलाई बाहिर कसरी लाने भन्ने ठोस नीति नहुँदा बिरुवा सर्वसाधारणसम्म पुग्न नसकेको उनको बुझाइ छ।
विकसित मुलुकमा कुनै एक विद्यार्थीले स्नातकोत्तरको शोध कम्पनीले चाहेको विषयमा गर्छन्। कम्पनीलाई समस्या परेको विषयमा कसैले शोध गरेर त्यसलाई समाधान गरिदिएपछि त्यही कम्पनीमा जागिर सुनिश्चित हुन्छ। जापानमा विद्यावारिधि गर्ने क्रममा उनले यस्तो प्रवृत्ति देखेकी थिइन्। सुनाखरीप्रतिको उनको लगाव पनि त्यतिबेला देखिकै हो। त्यसैले नेपालमा पनि अनुसन्धानलाई उद्योगसँग जोड्ने उनको ठूलो सपना छ। कुनै पनि अनुसन्धानलाई व्यवसायीकरण गर्न सके यसले राष्ट्रको समग्र अर्थतन्त्रमा टेवा पुर्याउनेमा उनी विश्वस्त छन्।